सुर्खेत– ‘कर्णाली उत्सव, कुडा कर्णाली’को पाँचौं संस्करण शनिबारदेखि शुरु हुने भएको छ । वीरेन्द्रनगरको बुलबुले उद्यानमा बिहान १० बजेदेखि शुरु हुने उत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था ऋति फाउण्डेसनले जनाएको छ ।
उत्सवका संयोजक कमल लम्सालले तीन दिन चल्ने बहस कार्यक्रममा १३ वटा सेसन, ३ वटा पैकेलोको प्रस्तुती, ३ वटै विद्धत प्रवचन र हरेक दिन सांगीतिक÷साहित्यिक साँझ रहने जानकारी दिए । उनका अनुसार डा. सुधा शर्माको विद्धत प्रवचन, इतिहासकार प्रा.डा राजाराम सुवेदीको कर्णाली धरोहर र मनोहर, समाजसेवी म्यागी डोयनको अ जर्नी फ्रम जर्नी टु कर्णालीको विद्धत प्रवचन रहेको छ । ‘यो उत्सवलाई कर्णालीलाई चिन्ने र चिनाउने बहस तथा विमर्शको रुपमा लिएका छौं, यसले कर्णाली केलाउँछ, समृद्ध कर्णाली निर्माणका लागि नीति, निर्मातालाई सुझाव दिनुका साथै सार्वजनिक पदाधिकारीलाई उत्तरदायी बनाउने प्रयास गर्छ,’ संयोजक लम्सालले भने, यो वर्ष विपद्को सवाललाई प्राथमिकता दिइएको छ ।’
शनिबार उद्घाटन समारोहसंगै भूकम्पपछिको राहत उद्धार केन्द्रित ‘इपिसेन्टर’, ‘संकट र सेवा’, जोखिम र ‘जुद्न्या जुक्ति’ नामक सेसन छन् । दोस्रो दिन ‘कर्णालीः धरोहर–मनोहर’, ‘कर्णाली दृष्टि’, ‘कर्णाली क्याराभान’, ‘अपाङ्गताः पहुँच र पौरख’, ‘हाम्मो काली,हाम्मै कर्नाली’, ‘अन्तरजातीय विवाहः रहर र कहर’, र तेस्रो दिनमा ‘लोकतन्त्रः दलभित्र, देशभित्र’, ‘देश जान्या’, ‘समाज र संघर्ष’, ‘खस कुडा–खास कुडाः सौराई जिन्नगीको’, र अन्तिम सेसन ‘विकास अन्र्या, विकास खान्या’ लगायतका सत्रहरु सञ्चालन हुनेछन् ।
समापन समारोहपछि अन्तिममा गजल महाफिल हुनेछ । कर्णाली उत्सवको सेतोपाटी अनलाइन र सीआईएन रेडियोबाट प्रत्यक्ष प्रशारण हुनेछ ।


कर्णाली समय । ४ फाल्गुन २०८०, शुक्रबार २०:३५