कर्णाली प्रदेशसभाको चालू अधिवेशन अन्त्य

सुर्खेत– कर्णाली प्रदेशसभाको चालू अधिवेशन आइतबार राती १२ बजेदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भिमराज थानीले जानकारी दिनुभयो । प्रदेशसभाको दोस्रो कार्यकालको चालू अधिवेशन अन्तर्गत १५ वटा बैठक बसेका थिए । प्रदेशसभाको यो कार्यकालको प्रारम्भमा सभामुख÷उपसभामुख निर्वाचन, मुख्यमन्त्रीले तीन पटक विश्वासको मत लिनुका साथै संसदीय समिति गठन भएका छन् । यद्यपि समितिको नेतृत्व भने चयन हुन बाँकी छ ।