आजदेखि वीरेन्द्रनगरमा देशव्यापी ब्याडमिन्टन प्रतियोगिता सुरु हुँदै

सुर्खेत– मध्यपश्चिम नापी पेशाकर्मी समाजको १६ औँ वार्षिक उत्सवको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा देशव्यापी ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । देशभरका नापी पेशाकर्मीहरूबीचको एकता, भाइचारा र साझा हितलाई थप मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।


प्रतियोगिता आज दिउँसो १ बजेदेखि सुरु हुनेछ । वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल प्रमुख आतिथ्यतामा सुरु हुने प्रतियोगिता सुर्खेतस्थित जिल्ला ब्याडमिन्टन संघको कर्भड हलमा सञ्चालन हुनेछ । प्रतियोगिता तीन दिनसम्म चल्नेछ । मध्यपश्चिम नापी पेशाकर्मी समाजका अध्यक्ष लोकप्रसाद धमलाका अनुसार प्रतियोगिताका लागि ५५ वटा टिम सहभागी हुनेछन् ।

प्रतियोगिता भेट्रान, जुनियर र सिनियर गरी तीन विधामा हुनेछ । भेट्रान समूह (बढी उमेर समूह) का विजेताहरूलाई प्रथम पुरस्कार ३० हजार, द्वितीय २० हजार र तृतीय १० हजार रुपैयाँ नगद दिइनेछ । जुनियर समूहका लागि प्रथम पुरस्कार ४० हजार, द्वितीय ३० हजार र तृतीय २० हजार रुपैयाँ राखिएको छ । सिनियर समूहलाई पनि जुनियरकै समकक्ष पुरस्कार राशी तथा ट्रफी प्रदान गरिने जनाइएको छ ।

त्यस्तै, तीनै विधामा उत्कृष्ट खेलाडीलाई सम्मानपत्र, नगद २/२ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ । ३ सयभन्दा बढी खेलाडीहरु वीरेन्द्रनगरमा सहभागी हुने आयोजकले जनाएको छ । मध्यपश्चिम नापी पेशाकर्मी समाजको स्थापना २०६६ सालमा भएको हो । संस्थाले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा विविध कार्यक्रम गर्दै आएको छ।