सुर्खेत– सानोबाबु सुनुवार रामेछापमा जन्मे–हुर्के । बाल्यकालमै गाउँ नजिकको सुनकोशी नदीमा ¥याफ्टिङ गर्न आउने विदेशी पर्यटकको भरिया भएर काम गरिसकेका थिए । भरिया बने बापत त्यतिबेला उनी दैनिक ५० रुपैयाँ ज्याला पाउँथे । पर्यटकको संगतले उनी ¥याफ्टिङप्रति आर्कषित भइसकेका थिए ।
२०५५ सालमा एसएलसी दिएपछि सानोबाबु काठमाडांै हानिए । काठमाडौंमा पढ्न उनलाई रुची जागेन । किनकी गाउँमै छँदा पर्यटकको संगतले उनी लोभिसकेका थिए । पोखरामा बढी संख्यामा विदेशी पर्यटक जान्छन् भन्ने सुनेका उनी पढाइ छाडेर त्यतै लागे । ‘काठमाडौंबाट २० रुपैयाँ बोकेर पोखरा आएँ, टे«किङ जाने काम मिल्यो, ट्रेकिङ थालेको केही समयपछि ¥याफ्टिङ कम्पनीमा काम थालेँ,’ उनी भन्छन्, ‘¥याफ्टिङ गर्दागर्दै कायकिङ प्रतिस्पर्धामा सहभागी बन्ने मौका पाएँँ, त्यसपछि मेरो साहसिक गतिविधिमा झन् लगाव बढ्यो ।’
सानोबाबु सन् २००३ मा भएको सेती रिभर कायकिङ प्रतियोगितामा च्याम्पियन बने । त्यसपछि उनलाई विभिन्न नदीनालामा कायकिङ गर्ने रुची बढ्यो । अप्ठ्यारा गल्छी, खोँच, नदीहरुमा कायकिङ गरेर साहस देखाउन थाले । सन् २००४ मा गुमनाम सेती हेर्दै दुई घण्टामा रामघाट पुगेको उनी स्मरण गर्छन् । सानोबाबुका अनुसार त्यसपछि यो नदीमा कसैले कायाकिङ गरेको छैन् । १५ वर्षको उमेरमा नेशनल जुनियर च्याम्पियन, १६ वर्षको उमेरमा नेशनल च्याम्पियन र १७ वर्षको उमेरमा इन्टरनेशनल ह्वाइट वाटर कायकिङका लागि बेलायती संस्थासंग हिमालय नदीको अनुसन्धान गर्ने टिमसंग काम गर्ने अवसर पाएका थिए । उनकै नेतृत्वमा भुटानदेखि नेपाल, तिब्बत, भारत र पाकिस्तानका १५० नदीनालामा कायकिङको सम्भावना र विस्तृत अध्ययन, अनुसन्धान भएको थियो । ३८ वर्षीय सानोबाबु हालसम्म विश्वका विभिन्न ४० देशमा प्याराग्लाइडिङ र कायकिङ गर्दै जोखिमपूर्ण यात्रा गरेका छन् ।
अनि जोडिए प्याराग्लाइडिङ
सानो छँदा गिद्धको खुटा समाएर उड्न खोज्ने, छाताको डण्डी समाएर, बाँसको भाटा बनाएर भीरबाट हाम फाल्ने गर्दथे । उनको यस्तो क्रियाकलाप देखेर गाउँलेहरु मुर्ख भन्थे, पागल भन्थे । सुनकोशीमा विदेशीले ¥याफ्टिङ गरेको नजिकबाट देखेका थिए । पौडी खेल्न मन पराउँथे । पोखरामा कायकिङ क्षेत्रमा उनको नाम चलिसकेको थियो । सन् २००५ मा स्वीजरल्याण्डका पाइलट डेभिड आरफार्डसँग पोखरामा भेट भएपछि सानोबाबुको नाता प्याराग्लाइडिङसँग जोडियो । ती पाइलटले प्याराग्लाडिङमा उनलाई सराङकोटको आकाशमा उडाएनन् मात्र आफै उड्न पनि सिकाए । उड्न सिकेपछि सानोबाबुले २००६ मा ब्लुस्काई प्लाराग्लाइडिङ कम्पनी खोलेर ज्ञान र सपनालाई एकत्रित गरे । ३ वर्षको उडान अनुभवपछि सन् २००८ मा उनले अमेरिकाकी कम्पनीबाट पाइलटको लाइसेन्स पाए । बाल्यकालदेखि साहसिक गतिविधि रुचाउने सानोबाबु प्याराग्लाइडिङ पाइलट बनेपछि पोखरादेखि विभिन्न गन्तव्यसम्म उड्न थाले । २००८ देखि उनलाई लामो दुरीको उडानमा नसा जाग्यो । पोखराबाट लमजुङ हुँदै काठमाडौं, २००९ मा पोखराबाट–काठमाडौं उडे, पोखराबाट सिक्लेस–लमजुङ–काठमाडौं र २०१० मा मेची–महाकालीसम्मको लामो यात्रा गर्ने सपना पुरा गरे । मेचीकाली प्याराग्लाइडिङ यात्रामा उनले १८ ठाउँमा अवतरण गरेका थिए । दैनिक ७ घण्टा र दैनिक ८ जिल्ला उडान गर्थे । ३६ दिनमा ८३२ किमी हवाई दुरी पारे गरेका थिए । संविधानसभा निर्वाचनमा मत खसाल्न काठमाडौंबाट प्याराग्लाइडिङमै रामेछाप पुगेको सानोबाबु बताउँछन् । अहिलेसम्म उनले आकाशमा २२ हजार घण्टा उडान भरेका छन् । पश्चिम डडेल्धुरादेखि पूर्व पाँचथरका पहाडदेखि तराईको कञ्चनपुरदेखि झापा सम्मको मेचीकाली प्याराग्लाइडिङ यात्रा गरेका छन् ।
नेपालमा सन् १९९६ मा भित्रिएको प्याराग्लाइडिङ यो अवधिसम्म आउँदा आकाशमा दशौं लाख मानिस उडेका छन् । तर हालसम्म दुई जनाको मात्र मृत्यु भएको छ । साहसिक उडानले नेपालको नाम विश्वभर चिनाएका सानोबाबु भन्छन्, ‘प्याराग्लाइडिङ सुरक्षाका दृष्टिले धेरै सुरक्षित छ, नागरिक उड्डयन सुरक्षा, बिमा लगायतका सबै मापदण्ड यसमा लागू गरिन्छ ।’ अनेकौं जोखिमपूर्ण कायकिङ यात्रा, प्याराग्लाइडिङ उडान गरेपनि उनको अहिलेसम्म हात–खुट्टाको नङ भाच्चिएको छैन् । उनी भन्छन्, ‘अस्पताल जानु त परैको कुरा हो, औषधिसमेत खानुपरेको छैन् ।’
कीर्तिमानको ओइरो
सानोबाबुले सन् २०११ मा विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथादेखि सबैभन्दा होचो समुन्द्री सतह बंगालको खाडीसम्म उड्ने र नदीमा कायकिङ गर्ने उद्देश्यले ‘समिट टु सी’ अभियान शुरु गरे । सगरमाथाको चुचुरोबाट सन् २०११ मे २१ मा प्याराग्लाइडिङमा उडेर जुन २८ मा समुद्री सतह छुन सजिलो थिएन । ‘सबैले असम्भव छ, नगर्नुस पनि भनेका थिए, तर सफल भएँ, सानोबाबु सम्झन्छन् । त्यसपछि बल्ल उनको साहसको चर्चा बढ्न थाल्यो । ‘समिट टु सि’ मा उनका साथी थिए, लाक्पाछिरी शेर्पा । सर्वाेच्च शिखर सगरमाथाबाट प्याराग्लाइडिङमा उडेर समुद्री सतहसम्म पुग्न सफल भएकोमा सानोबाबु सुनुवार र लाक्पाछिरी शेर्पालाई नेशनल ज्योग्राफी च्यानलले सन् २०१२ को साहसिक (एडभेन्चरर) व्यक्ति घोषणा गरेको थियो । त्यसअघि उक्त च्यानलले हजारौं सहभागीमध्येबाट उनीहरुलाई उत्कृष्ट १० मा छनौट गरेको थियो । ‘वल्र्ड टुर’ मा राखिएको त्यो यात्राको भिडियोलाई ७२ हजार बढीले अनलाइनबाट मत दिएका थिए । भोटबाट ‘समिट टु सी’ यात्राको क्रममा सानोबाबु र लाक्पाछिरी १२ दिनसम्म प्याराग्लाइडिङमा उडेर र २८ दिन पानीमा कायकिङ गर्दै बंगालको खाडीसम्म पुगेका थिए । ‘समिट टु सी’ यात्राकै कारण फ्रान्सको एक संस्थाले ‘पब्लिक जज’, क्यानडाको पर्यटनसंग सम्बन्धित संस्थाले ‘रियल एड्भेन्चरर’ अवार्ड प्रदान गरेको थियो । सगरमाथाबाट बंगालको खाडीसम्म पुगेर पाएको सफलताबाट सानोबाबु झन् साहसिक कार्यमा हौसिएको बताउँछन् । ‘डर नलागेको होइन, साहस, निर्णय र आत्मविश्वासले डरलाई भगायो,’ उनी भन्छन्, ‘विभिन्न देशका अग्ला हिमालदेखि नदी नाला, खोँचसम्म छिरेर निकै जोखिमपूर्ण यात्राको अनुभव संगालेको छु ।’ ‘समिट टु सी’ यात्राले गिनिज बुकमा पनि सानोबाबु र लाक्पाले वल्र्ड रेकर्ड कायम गरेका छन् ।
सगरमाथापछि उनको हिमालय क्षेत्रको उडान विश्वका अरु अग्ला हिमशिखरतर्फ सोझियो । ती चुचुराहरुबाट पनि प्याराग्लाइडिङ गर्ने लक्ष्य लिए । विश्वमै साहसिक मानिएको रेडबुल एक्स आल्पसमा प्रतिष्पर्धाबाटै छानिए । सन् २०१३ को प्याराग्लाइडिङ संस्करणमा विश्वका हजारौं साहसिक पाइलटबिच भएको छनोट चरणमा प्रतिष्पर्धा गरेका थिए । यो निकै चुनौतिपूर्ण यात्रा थियो । सानोबाबुले अफ्रिकी महादेशको सबैभन्दा अग्लो हिमाल किलीमान्जारोबाट प्याराग्लाइडिङमा उड्ने सपना पनि पुरा गरे । किलीमान्जारो हिमालबाट प्याराग्लाइडिङमार्फत समुद्री सतहसम्म उडान गर्न विश्वव्यापी रूपमा उनी छनोटमा परेका थिए । यस प्रतिष्पर्धाका लागि विश्वभरका हजारौं साहसिक पाइलटले आवेदन दिएका थिए । त्यसमा पनि सानोबाबु सफल भए ।
युरोपेली महादेशको सबैभन्दा अग्लो हिमालबाट पनि प्याराग्लाइडिङको सफल उडान गरेका छन्, उनले । युरोपको अग्लो चुचुरोबाट टेण्डम (दुईजना उड्ने) उडान गरेर नयाँ रेकर्ड बनाउने सानोबाबु पहिलो पाइलटका रुपमा नाम लेखाउन सफल भएका हुन् । त्यस्तै रसियाको माउन्ट एलब्रसबाट पनि सफल उडान गरेका छन् । माउन्ट एल्ब्रसबाट टेण्डम उडान गर्ने पनि उनी विश्वकै पहिलो पाइलट हुन । एसियाकै पहिलो प्याराग्लाइडिङ स्कूल पोखराबाट दक्षिण पश्चिममा पर्दछ, स्याङ्जाको स्वरेक क्षेत्र । यो हाल भीरकोट नगरपालिका ५ मा पर्दछ । पोखरामा प्याराग्लाइडिङ स्कूल सञ्चालन गर्न उपर्युक्त नभएपछि सानोबाबुले ५८ किमी टाढाको स्वरेक क्षेत्र रोजेका हुन । नेपालको आकाशमा विदेशी पाइलट ल्याउन सम्भव थिएन । हजारौं डलर खर्च गर्नुपथ्र्यो । दक्ष जनशक्ति उत्पादन गर्ने वैधानिक संस्था थिएन । त्यसपछि उनी प्याराग्लाइडिङ स्कुल खोल्ने सोचमा पुगे । सन् २०१४ देखि नै उनले बाबु एड्भेन्चरर्सको नाउबाट पाइलटको तालिम दिँदै आएका थिए । नेपाल सरकारले २०७२ सालमा अनुमति दिएपछि स्वरेक मैदानमा बाबु एडभेन्चर्स प्याराग्लाइडिङ इन्टरनेशनल नामक स्कूल सञ्चालनमा छ । यो दक्षिण एसियाकै पहिलो प्याराग्लाइडिङ स्कूल हो । स्कूल सञ्चालनमा ल्याउनुको ५ वर्ष अघि स्वरेक क्षेत्रमा प्याराग्लाइडिङको व्यवसायिक उडान गर्दै आएका थिए ।
स्कूलमा सानोबाबु मुख्य प्रशिक्षक बनेर विद्यार्थीलाई पाइलट कोर्स सिकाउँदैछन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रत्यक्ष अनुगमनमा प्रशिक्षण दिन्छन् । ४० रोपनी जग्गा किनेर स्कूलसंगै होमस्टे सञ्चालन गरेका छन् । उनले उत्पादन गरेका ७०० जनामध्ये ४०० जना पाइलटले हाल व्यवसायिक उडान गरिरहेका छन् । मौसम अनुकूल, नदीनाला भएको, पोखरा नजिकै हुँदा स्याङ्जा रोजेको उनी बताउँछन् । स्कूलमा बेलायत, अमेरिका र अस्टे«लिया लगायतका मुलुकबाट प्याराग्लाइडिङ सिक्न आउँछन् । बाबु एडभेन्चर स्कुलमा आधारभूतदेखि एडभान्ससम्मको पढाइ हुन्छ । प्याराग्लाइडिङ भित्रिएपछि, स्कूल र होमस्टे सञ्चालनमा आएपछि भीरकोट क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ ।
सन् २०१८ मा स्याङ्जाको स्वरेकमा प्याराग्लाइडिङ वल्र्डकप आयोजना गरेका थिए । त्यसैले नेपालको खेलकुदमा प्याराग्लाइडिङ विधाको नाम दर्ज गराउने मुख्य श्रेय उनैलाई जान्छ । सन् २०१८ मा इन्डोनेसियाको जाकार्तामा भएको एसियन खेलकुदमा पनि प्याराग्लाइडिङ विधामा पनि उनको टिम दोस्रो भएको थियो । उनी प्रशिक्षक बनेर भाग लिएका थिए । सानोबाबुकै प्रेरणाबाट छोरा हिमालयशम्शेर सुनुवार ९ वर्षकै उमेरमा प्याराग्लाइडिङ पाइलट बनेका थिए । श्रीमति सुस्मिता पनि कायकिङमा ३ पटक नेशनल स्पर्धामा च्याम्पियन बनेकी थिइन् । उनी पनि प्याराग्लाइडिङ पाइलट हुन । अहिले बाबु एड्भेन्चरर्स गु्रपको सबै विजनेश सुस्मिताले सम्हाल्दै आएकी छिन् ।
सानोबाबुको कर्णाली गन्तव्य
कर्णाली प्रदेश सरकारले २०७५ बैशाख १ गते रारातालमा ‘कर्णाली रारा पर्यटन वर्ष’ शुभारम्भ गरेको थियो । सानोबाबु पहिलोपटक प्याराग्लाइडिङ लिएर रारा पुगेका थिए । सोही वर्ष सुर्खेतको बुलबुले तालमा पर्यटन वर्ष–२०२० मा उनको टिम प्याराग्लाइडिङ उडानका लागि आएको थियो । प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष पदमबहादुर शाहीको वेलकम प्याराग्लाइडिङ कम्पनी गत वर्षदेखि सानोबाबुले नै चलाएका छन् । शाहीले यो कम्पनीलाई बाबु एड्भेन्चरर्सलाई हस्तान्तरण गरेका हुन् । सबै कानूनी प्रक्रिया पुरा गरेपछि २०७८ माघदेखि उनकै नेतृत्वमा सर्खेत उपत्यकाको आकाशमा प्याराग्लाइडिङ भइरहेको छ । सुर्खेतको गोठीकाँडामा मुख्य स्टेशन बनाइएको छ । कर्णालीका नागरिकको प्रतिव्यक्ति आयलाई मध्यनजर गरी अन्य स्थानको भन्दा सस्तो शुल्क निर्धारण गरिएको छ । मेला महोत्सवहरुमा विशेष प्याकेजमा प्याराग्लाइडिङ गर्ने गरिन्छ । अन्य समयमा कम्पनीले प्रतिव्यक्ति ४ हजार ५०० शुल्क लिने गरेको छ । सानोबाबुका अनुसार प्याराग्लाइडिङका लागि सुर्खेत उपत्यकाको मौसम, हावापानी, भू–बनावट निकै उपयुक्त छ ।
कर्णालीमा आगामी ३ वर्षपछि हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ विधालाई पनि समावेश गर्नुपर्ने उनी बताउँछन् । ‘यसले साहसिक पर्यटन, साहसिक खेल र मनोरञ्जनका माध्यमबाट कर्णालीमा योगदान पु¥याइरहेको छ,’ सानोबाबु भन्छन्, ‘कर्णालीको पर्यटनको प्रचुर सम्भावना छ भन्ने कुरा प्याराग्लाइडिङको सफल र व्यवसायिक उडानले पनि पुष्टि गरेको छ ।’

कर्णाली समय । २९ चैत्र २०७९, बुधबार २१:३७