प्रदेश अर्थमन्त्रीहरुको संघलाई दबाब : अनुदान कटौती रोक, अधिकार हस्तान्तरण गर

सुर्खेत — वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन, प्रदेशको आर्थिक अधिकार सुनिश्चितता र बजेट सुशासनका लागि सातै प्रदेशका अर्थमन्त्रीहरूले २२ बुँदे साझा प्रतिवद्धतापत्र जारी गरेका छन् ।

कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा सोमबार वीरेन्द्रनगरमा सम्पन्न प्रदेश आर्थिक मामिला परिषद्को बैठकले साझा प्रतिवद्धतापत्र जारी गरेको हो । बैठकमा सुदूरपश्चिम प्रदेशबाहेक छ वटै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री तथा सातै प्रदेशका सचिव र प्रतिनिधिहरू सहभागी थिए ।

बैठकको अध्यक्षता कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री टेक राज पछाईले गरेका थिए । प्रतिवद्धतापत्रमा कोशीका मन्त्री विदुरकुमार लिङ्गेप, मधेशका अर्थमन्त्री युवराज भट्टराई, बागमतीका मन्त्री सरल सहयात्री पौडेल र लुम्बिनीका मन्त्री इन्द्रजीत थारुले समेत हस्ताक्षर गरेका छन् । परिषद्को आगामी बैठक कोशी प्रदेशमा आयोजना गर्ने र परिषद्को अध्यक्षता पनि कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई हस्तान्तरण गर्ने सहमति भएको छ ।

प्रतिवद्धतापत्रमा संघीय सरकारले बजेटमा विनियोजन गरिसकेको वित्तीय समानीकरण अनुदान आर्थिक वर्षको बीचमा वा अन्त्यमा राजस्व घटेको कारण देखाउँदै कटौती गर्ने परिपाटी अन्त्य गरी शतप्रतिशत हस्तान्तरणको संवैधानिक सुनिश्चितता गर्नुपर्ने माग गरिएको छ । त्यस्तै, सशर्त अनुदानको हिस्सा घटाएर वित्तीय समानीकरण अनुदानको हिस्सा बढाउनुपर्ने र संघीय सरकारले साना आयोजनामा गर्ने हस्तक्षेप अन्त्य गर्नुपर्ने उल्लेख छ ।

प्रदेशको राजस्व अधिकार विस्तारका लागि मूल्य अभिवृद्धि कर र अन्तःशुल्क बाँडफाँटमा प्रदेश तथा स्थानीय तहको हिस्सा बढाउन पनि माग गरिएको छ । नदीजन्य पदार्थ, वन तथा जलविद्युत्बाट प्राप्त हुने रोयल्टी बाँडफाँटमा प्रभावित प्रदेशको अधिकार न्यायोचित रूपमा सुनिश्चित गर्नुपर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ । सवारी तथा ट्राफिक व्यवस्थापनबाट प्राप्त हुने राजस्वको विषयलाई पनि प्रदेशहरूले प्राथमिकताका साथ उठाएका छन् । ट्राफिक जरिवानाबाट संकलित शतप्रतिशत राजस्व प्रदेश सरकारले पाउने कानुनी व्यवस्था गर्नुपर्ने, सवारी साधन दर्ता भएको प्रदेशमै कर दाखिला हुने व्यवस्था मिलाउनुपर्ने र सवारी चालक अनुमतिपत्र नवीकरणको राजस्व बाँडफाँट प्रणाली अद्यावधिक गर्नुपर्ने माग गरिएको छ । सातै प्रदेशमा सवारी साधन परीक्षण केन्द्र स्थापना गरी सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी प्रदेशलाई दिनुपर्ने पनि प्रतिवद्धतापत्रमा समेटिएको छ ।

प्रदेशको एकल अधिकार क्षेत्रभित्र संघीय सरकारले स्थापना गरेका डिभिजन तथा आयोजना कार्यालय खारेज गरी प्रदेशलाई हस्तान्तरण गर्नुपर्ने मागसमेत गरिएको छ । संघबाट प्रदेशमा हस्तान्तरण भएका तर बजेट अभावमा अधुरा रहेका आयोजनाका लागि सङ्घीय सरकारले पर्याप्त बजेट विनियोजन गर्नुपर्ने उल्लेख छ । त्यस्तै, प्रदेश प्रहरी समायोजन अविलम्ब गर्न, संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न तथा प्रादेशिक पूर्वाधार निर्माणका लागि जग्गा प्राप्ति र वन क्षेत्र प्रयोगको स्वीकृति सोझै प्रदेशलाई दिने व्यवस्था मिलाउन माग गरिएको छ । प्रदेशका प्राथमिकताप्राप्त आयोजनामा वैदेशिक सहायता तथा आन्तरिक ऋण लिने प्रक्रियालाई पनि सरल र पारदर्शी बनाउनुपर्नेमा जोड दिइएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले अनुदान वितरणको सूत्र परिमार्जन गर्नुपर्ने विषय पनि प्रतिवद्धतापत्रमा उठाइएको छ । प्रदेशको वास्तविक खर्च आवश्यकता, जनसङ्ख्या, मानव विकास अवस्था, राजस्व क्षमता तथा भौगोलिक र वातावरणीय विशिष्टतालाई आधार बनाएर अनुदान वितरणको व्यवस्था गर्नुपर्ने प्रदेशहरूको माग छ । वित्तीय संघीयतासम्बन्धी कानुनलाई समेत एक दशकको अभ्यासबाट देखिएका व्यावहारिक जटिलता सम्बोधन हुने गरी परिमार्जन गर्नुपर्ने उल्लेख छ ।
अन्तरप्रदेश सहकार्य र विपद् व्यवस्थापनमा जोड
प्रतिवद्धतापत्रमा अन्तरप्रदेश व्यापार, लगानी प्रवद्र्धन र साझा प्राकृतिक स्रोतको दिगो उपयोगलाई पनि प्राथमिकता दिइएको छ । प्रदेशबीच वस्तु तथा सेवाको आवागमनमा लाग्ने दोहोरो कर, शुल्क र प्रशासनिक झन्झट हटाउनुपर्ने उल्लेख छ । दुई वा दुईभन्दा बढी प्रदेश भएर बग्ने नदीबाट ढुङ्गा, गिट्टी र बालुवाको अनियन्त्रित दोहन रोक्न साझा नीति बनाउने तथा राजस्व बाँडफाँटको स्पष्ट मापदण्ड तय गर्ने प्रतिवद्धता जनाइएको छ । बाढी, पहिरो, शीतलहर र आगलागीजस्ता विपद्का समयमा अन्तरप्रदेश द्रुत प्रतिकार्य टोली परिचालन गर्ने विषय पनि समेटिएको छ ।

प्रदेशहरूले वार्षिक बजेट प्रस्तुत गर्नुभन्दा कम्तीमा तीन महिना अगावै पूर्वबजेट परामर्श गर्ने र बजेट तर्जुमा, परिणाममा आधारित बजेट प्रणाली, बेरुजु फछ्र्योट तथा सुत्र लगायतका डिजिटल प्रणालीमा भएका असल अभ्यास एकअर्कासँग आदानप्रदान गर्ने सहमति गरेका छन् ।
आन्तरिक राजस्व वृद्धि र प्रशासनिक खर्च कटौती गर्ने प्रतिवद्धता

प्रदेशहरूले संघीय अनुदानमा मात्रै निर्भर नभई आन्तरिक राजस्वका स्रोत पहिचान, राजस्वको दायरा विस्तार, चुहावट नियन्त्रण तथा बक्यौता असुलीमा जोड दिने प्रतिबद्धता जनाएका छन् । एकल पहिचानयुक्त करदाता परिचय नम्बरमार्फत प्रदेशलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्यसमेत राखिएको छ । त्यस्तै, दोहोरो भूमिका भएका वा न्यूनतम कार्यजिम्मेवारी भएका प्रादेशिक निकायलाई गाभ्ने वा खारेज गरी प्रशासनिक खर्च घटाउने र आयोजना वर्गीकरण मापदण्ड, २०८० अनुसार आफ्नो तहको अधिकार क्षेत्रभित्रका आयोजनामा मात्रै बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सातै प्रदेशले वित्तीय सुशासन कायम राख्न र संघीयताविरुद्ध उठ्ने भ्रम तथा चुनौतीको प्रतिवाद गर्न दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर एकताबद्ध साझा धारणा बनाउने प्रतिबद्धतासमेत जनाएका छन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,