स्ववियू निर्वाचन : नारायणमा अनेरास्ववियूको प्यानलै निर्वाचित

सुर्खेत- दैलेख सदरमुकामस्थित नारायण बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको प्यानल नै निर्वाचित भएको छ ।

शनिबार सम्पन्न मतगणना अनुसार स्ववियु सभापतिमा हिमबहादुर बस्नेत, सचिवमा फिलिप सिंह र कोषाध्यक्षमा सुष्मा शाही निर्वाचित भएका हुन् । त्यस्तै सदस्यहरुमा पुष्पकमल अधिकारी र पूर्णिमा रानामगर निर्वाचित भएका छन् । मध्यपश्चिम विश्वविद्यालय अन्र्तगतको उक्त क्याम्पसमा शनिबार मतदान भएको थियो ।

अनेरास्ववियुविरुद्ध नेविसंघ, अखिल क्रान्तिकारी, नेकपा समाजवादी निकट अनेरास्ववियू लगायतका संगठनहरुको मोर्चा बनेको थियो । सभापतिमा निर्वाचित बस्नेतले नेविसंघका विष्णुप्रसाद कोइरालालाई नौ मत अन्तरले पछाडि पारेका थिए । सचिवमा भने ६५ मतान्तरका साथ अनेरास्ववियुका फिलिप सिंहले समाजवादी निकट अखिलका टेकराज बुढालाई पराजित गरे । कोषाध्यक्षमा अनेरास्ववियुकै सुष्मा शाहीले ३१ मतान्तरका साथ अखिल क्रान्तिकारीका भुवनप्रसाद पाण्डेलाई पराजित गरिन् ।

कुल ३७३ मतदाता रहेकामा ३२५ मत खसेको थियो ।