‘कर्णालीको शिक्षामा ‘डिजिटल’ सोच र ‘अर्गानिक’ अभ्यासको खाँचो’

सुर्खेत-  वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवको सातौँ संस्करण अन्तर्गत शिक्षाको उकाली ओरोली सत्रका वक्ताहरूले कर्णालीको शैक्षिक अवस्था, चुनौती र आगामी बाटोबारे मन्थन गरेका छन् । कार्यक्रममा नीति निर्मातादेखि कार्यान्वयन तहका प्रतिनिधिहरूले शिक्षालाई प्रविधि र स्थानीय उत्पादनसँग जोड्नुपर्नेमा जोड दिए ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेश सरकारले शिक्षा क्षेत्रको दीर्घकालीन सुधारका लागि १० वर्षे शिक्षा योजना (रोडम्याप) निर्माण गरिरहेको बताए । उक्त योजना अन्तिम चरणमा रहेको पनि उनले बताए । ‘आन्तरिक बसाइँसराइले दुर्गमका विद्यालय खाली हुने र सहरी क्षेत्रमा चाप बढ्ने समस्या बढ्दै गएको छ । संघीय शिक्षा ऐन र निजामती सेवा ऐन नआउँदा शिक्षक दरबन्दी मिलानमा जटिलता भएको अवस्था छ ।’

उनले कर्णालीलाई डिजिटल कर्णाली बनाउन इन्टरनेट र सूचना प्रविधिमा लगानी बढाइने दावी गरे । यस्तै, सुर्खेतको चौकुने गाउँपालिकाका अध्यक्ष खड्ग विकले स्थानीय तहमा गरिएका सुधारका प्रयासका बारेमा जानकारी गराएका थिए । उनले विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन खेल सामग्रीको व्यवस्था र खानपानमा सुधार गरिएको दावी गरे । ‘कक्षामा पढ्ने विद्यार्थीले पनि अक्षर नचिनेको भेटिएपछि क्षमता अनुसार समूह विभाजन गरी सिकाउने पद्धति सुरु गरिएको छ । विद्यालयमा जङ्क फुड पूर्णतः निषेध गरी स्थानीय उत्पादन (अर्गानिक खाजा) खुवाउने नीति कडाइका साथ लागू गरेका छौं । सबैभन्दा चुनौतीको विषय शिक्षकहरू राजनीतिक दलको कार्यकर्ता बन्ने र अभिभावक जिम्मेवार नहुने प्रवृत्ति बनेको छ ।’

यस्तै, मध्यपश्चिम विश्वविद्यालयका अनुसन्धान निर्देशनालयका कार्यकारी निर्देशक डा. पुष्पराज आचार्यले उच्च शिक्षा र रोजगारीको खाडलमाथि प्रश्न उठाए । विश्वविद्यालयबाट स्नातक गरेका ९० प्रतिशत विद्यार्थीको हातमा वैदेशिक रोजगारीका लागि पासपोर्ट हुनु चिन्ताको विषय रहेको उनले बताए । ‘शिक्षक अभाव टार्न अन्तिम सेमेस्टरका विद्यार्थीलाई विद्यालयहरूमा इन्टर्नसिप गराउने नयाँ अवधारणा ल्याउनु पर्दछ । बजारको माग अनुसार इन्जिनियरिङ, कृषि र प्रविधि जस्ता विषयमा जोड दिँदै जब प्लेसमेन्टको वातावरण बनाउनतर्फ नीति निर्माताले ध्यान दिन आवश्यक छ ।’

चन्द्रोदय मावि सुर्खेतकी प्रधानाध्यापक नमकली नेपालीले राज्यले तल्लो तहका कक्षालाई उपेक्षा गरिरहेको बताइन । अझै पनि छोरालाई निजी र छोरीलाई सरकारी विद्यालय पठाउने विभेद कायमै रहेको उनको भनाई छ । उनले विपन्न छात्राहरूलाई दिइने वार्षिक चार सय रुपैयाँ छात्रवृत्ति अत्यन्त न्यून भएकाले यसलाई बढाउन सरकारको ध्यानाकर्षण गराइन । सरकारी विद्यालयमा कम्प्युटर ल्याब, इन्टरनेट र दक्ष प्राविधिक जनशक्तिको चरम अभाव रहेको उनको गुनासो थियो । सत्रका वक्ताहरुले शिक्षालाई केवल साक्षरतामा मात्र सीमित नराखी यसलाई सीप, बजार र उत्पादनसँग जोड्नुपर्ने साझा निष्कर्ष निकालेका थिए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,