काठमाडौं– अपाङ्गता भएका महिलाहरूको राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । ‘मलाई पनि तिमीसंगै गणना गरः मेरो आवाजले अर्थ राख्छ’ भन्ने नाराका साथ शुक्रबार सुरु कार्यक्रम काठमाडौं घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न हुनेछ ।
७ प्रदेशबाट ३६ जना अपाङ्गता भएका महिला र महिला एवं अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय स्तरका संस्थाका प्रतिनिधि गरि ९० जना बढी कार्यक्रममा सहभागी छन् ।
अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा महिला र अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका सस्थाहरु दलित महिला संघ (फेडो), राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल, नेत्रहीन महिला संघ नेपाल, एक्सेस प्लानेट नेपाल र पहिचान नेपालको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
उपसभामुख इन्दिरा रानामगर उद्घाटन गरेको कार्यक्रममा राष्ट्रिय सभा सदस्य पदम परियार, राष्ट्रिय महिला आयोगको अध्यक्ष कमला पराजुली, समावेशी आयोगका प्रतिनिधि लगायतको समेत उपस्थिति रहेको छ । कार्यक्रममा बोल्दै उपसभामुख रानामगरले अपाङ्गता भएका महिलाहरूको सवालहरुमा आफू चिन्तित रहेको र आफ्नो तर्फबाट नीतिगत तहबाट सक्दो सहयोग गर्ने बताइन् ।
अपाङ्गता भएका महिलाहरुको विविधता, अन्तरसम्बन्धताका सवाल, अर्थपूर्ण सहभागीता र न्यून प्रतिनिधित्व तथा सिमान्तकृत अपाङ्गता भएका महिलाहरुको सवाल एवं समस्याहरुको पहिचान गरि सोको सम्बोधनको लागि नीति निर्माणमा निर्णायक तहका व्यक्ति र सरोकारवाला निकायहरुलाई दवाब दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको दलित महिला संघ (फेडो) को अध्यक्ष कला स्वर्णकारले बताइन् ।


कर्णाली समय । १८ फाल्गुन २०८०, शुक्रबार १७:५४