सुर्खेत–वीरेन्द्रनगरस्थित नगर अस्पतालमा ५५ वर्षभन्दा माथिको उमेर समूहका नागरिकहरुको स्वास्थ्य परीक्षण सेवा सुरु गरिएको छ । स्वास्थ्य सेवा निर्देशनालयको सहयोगमा मंगलबारदेखि वीरेन्द्रनगरबासी ज्येष्ठ नागरिककको निशुल्क परीक्षण गरिएको हो ।
कार्यक्रमको शुभारम्भ सामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेलले गरेका थिए । यसअघि सुर्खेतकै पश्चिमको दुर्गम चौकुने गाउँपालिका र रुकुम पश्चिममा कार्यक्रम सुरु भइसकेको छ ।
निर्देशनालयका जनस्वास्थ्य निरीक्षक किरण शर्माले अस्वस्थकर जीवनशैली, शारीरिक व्यायाममा कमी, आहार विहारमा ध्यान नदिँदा नसर्ने रोगको जोखिम बढ्दै गएको बताए । यो कार्यक्रमले ५५ वर्षभन्दा माथिको उमेर समूहका मानिसहरुको उच्च रक्तचाप, मधुमेह र मिर्गौलाका लागि पिसाब जाँच गरिने बताए । सुरुमा नसर्ने रोगका बिरामीको तथ्यांक संकलन गरिने र त्यसपछि रोकथाम र उपचारको काम गरिने उनको भनाइ छ ।
स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले वीरेन्द्रनगरको ६ नम्बर वडाबाट सुरु हुने यो कार्यक्रम नमूना भएकोले यसको उपलब्ष्धीका आधारमा पछि नगरपालिकाभर विस्तार गर्ने लक्ष्य रहेको बताए । मन्त्री पोखरेलले ५५ वर्ष माथिका उमेर समूहलाई लक्षित कार्यक्रम निकै प्रभावकारी भएकोले यसको पूर्ण लाभ लिन आव्हान गरेका छन् । लक्षित उमेर समूहका मानिसहरुका लागि यो कार्यक्रम निकै उपयोगी भएको उनको दाबी छ ।
कर्णाली समय । १७ माघ २०८०, बुधबार २०:१७