‘विगतमा केही भएन’ भन्ने भ्रम नपाल्न नवयुवाहरुलाई मुख्यमन्त्री शाहीको आग्रह

दैलेख- कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विगतमा केही भएन भन्ने एकथरीले जबरजस्ती भाष्य बनाइएको भन्दै नवयुवाहरुलाई त्यस्तो भ्रमबाट मुक्त हुन आग्रह गर्नुभएको छ । दैलेखको डुंगेश्वर गाउँपालिका वडा नं १ द्धारा बुधबार चुप्रामा आयोजित सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै उहाँले विगतले नेपाली जनतालाई अधिकारसम्पन्न बनाएको र विकासको लहर ल्याएको बताउनुभयो ।

मुख्यमन्त्री शाहीले कर्णालीजस्तो विकट भूगोल संघीयताकै कारण विकासको मूल प्रवाहमा जोडिएको बताउनुभयो । “यदि मुलुकमा गणतन्त्र र संघीयता आउँथेन भने डुंगेश्वर गाउँपालिका यो संरचनामा हुन्थेन, मधेसको छोरा र महिला यो देशको राष्टपति बन्ने अवस्था हुन्थेन,” उहाँले भन्नुभयो, “पछिल्लो दश वर्षको अवधिमा जे खालको विकास भएको छ, आज स्थानीय तह अधिकारसम्पन्न भएका छन्, त्यो संघीयताकै देन हो । ”

कर्णाली प्रदेशको भौतिक पूर्वाधारमन्त्री हुँदा नै प्रदेश राजधानीबाट पालिका केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने योजना अघि सारेको उहाँको भनाई थियो । “मैंले यहीँ आएर एकपटक अनुगमन पनि गरेको थिएँ, अहिले कालोपत्रे भैसकेको रहेछ, यदि संघीय व्यवस्था नभएको भए गाउँगाउँमा सडक कालोपत्रे हुने अवस्था मुस्किल थियो,” नवयुवाहरुलाई आग्रह गर्दै उहाँले भन्नुभयो, “यो विकास, अधिकार र उपलब्धी जादुमय तरिकाले भएको होइन, धेरै संघर्षबाट प्राप्त भएको हो, अहिले काम गर्नुपर्दैन्, जादुमय तरिकाले विकास र सुशासन आउँछ भन्ने भाष्य सिर्जना गर्न खोजिँदैछ, त्यसप्रति सचेत रहनुहोला ।” यद्यपि उत्पादन र रोजगारीमा अपेक्षा अनुसार ध्यान नपुग्दा युवाहरु ठूलो संख्यामा विदेसिनुपर्ने बाध्यता सिर्जना भएको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री शाहीले कर्णाली जस्तो जटिल भौगोलिक विशेषता भएको प्रदेशमा जनताका आवश्यकता पुरा गर्न हिँडेरमात्र सम्भव नहुने हुँदा दौडिन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । “अहिले केही युवाहरुमा दौडिनै पर्दैन्, हिँड्नै पर्दैन् भन्ने बुझाई, त्यो गलत छ,” उहाँले भन्नुभयो । साथै उहाँले डुंगेश्वर गाउँपालिकाको समग्र हितका सम्बन्धमा प्रदेश सरकारसंग अनुरोध भएमा आफूले सक्दो सहयोग गर्ने विश्वास दिलाउनुभयो । महोत्सवमा गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसी, वडा नं १ का वडाध्यक्ष श्याम राना लगायतका जनप्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,