प्रर्दशनकारीको निशानामा कसरी प¥यो प्रदेश लेखा नियन्त्रक कार्यालय ?

प्रकाश अधिकारी/सुर्खेत– अघिल्लो दिन काठमाडौंमा जेनजी प्रर्दशनकारी विद्यार्थीमाथि प्रहरीले बर्बर दमन गरेपछि २४ भदौमा प्रदेश राजधानी सुर्खेतमा पनि परिस्थिति उग्र बन्यो । प्रर्दशन सुरु भएको केही समयमै सुरक्षाकर्मीको नियन्त्रणबाहिर गयो ।

जेनजी प्रर्दशनकारीको ठूलो भीडले हटियालाइनस्थित नगर विकास समितिको जग्गामा लस्करै बनाएका पार्टीका कार्यालयहरुलाई निशानामा पारे । सबैभन्दा पहिले एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी गरियो । एमाले पार्टी कार्यालयतर्फ प्रर्दशनकारीले ढुंगामुढा प्रहार गर्दै गर्दा न्यून संख्यामा रहेका प्रहरीहरु भागे । प्रहरी भागेपछि प्रर्दशनकारीको मनोबल बढ्यो । आगजनी र तोडफोड भइरहेकै बेला अचानक प्रहरी अश्रुग्यास प्रहार गरी भीडलाई तितरबितर पा¥यो । तर परिस्थिति झन् उग्र बन्यो । भीड कांग्रेस पार्टी कार्यालयतर्फ सोझियो । त्यहाँ पनि तोडफोड र आगजनीपछि माओवादी र जनमोर्चाको पार्टी कार्यालयतर्फ उक्लियो । प्रहरीको अश्रुग्यासको प्रवाह नगरी भीडले पार्टीका कार्यालयहरु धित मरुञ्जेल जलाए, ढुंगामुढा गरे ।

पार्टी कार्यालयहरु आगजनीपछि भीड वीरेन्द्रनगर नगरपालिका जलाउन पुग्यो । त्यहाँ तोडफोडपछि इत्रामस्थित कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निजी निवास तोडफोड र आगजनी गर्न थाले । त्यसक्रममा प्रहरीले गोली प्रहार ग¥यो । एक जना घाइते बने । गोली चलाउँदा समेत प्रहरीले खड्काको घरलाई सुरक्षा दिन सकेन । प्रर्दशनकारीले पूर्णबहादुर खड्का र उनका भाई डा डम्बर खड्काको घर तोडफोड र आगजनी गर्दै पूर्ण क्षति पु¥याए । मुख्यमन्त्री कार्यालय तोडफोडको प्रयास गरेपनि बाक्लो संख्यामा प्रहरी देखेपछि प्रर्दशनकारी नापी कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयलाई निशाना बनाए ।

त्यसदिन प्रर्दशनकारी समूह–समूहमा विभाजन भएर सार्वजनिक तथा व्यक्तिगत सम्पति तोडफोड र आगजनी गरिरहेका थिए । जनप्रतिनिधिका घरदेखि वडा कार्यालयहरु जलाउन एउटा समूह खटिएको थियो । त्यस्तै कर्णाली प्रदेशसभा, मुख्यमन्त्री÷मन्त्री निवास तोडफोड गर्न अर्को समूह थियो । अर्को एउटा समूहले पार्टी कार्यालय, वीरेन्द्रनगर नगरपालिका कार्यालय हुँदै कांग्रेस नेता खड्काको घर, मुख्यमन्त्री कार्यालय, नापी र प्रदेश लेखा नियन्त्रक कार्यालय ध्वस्त बनाए ।

जेनजी आन्दोलनका क्रममा सुर्खेतका दर्जनौं सरकारी कार्यालय र नेता जनप्रतिनिधिको घरमा आगजनी तोडफोड भयो । नेताको निवास र जनतासंग प्रत्यक्ष जोडिएका सार्वजनिक संरचनालाई निशाना बनाएका प्रर्दशनकारीले प्रदेश लेखा नियन्त्रक कार्यालयलाई किन तारो बनाए, प्रदेश राजधानीमा यो अहिले चर्चाको विषय बनेको छ । ‘प्रर्दशनकारीको आक्रोश बरु अन्य कार्यालयतर्फै देखिन्थ्यो तर अचानक लेखा नियन्त्रक कार्यालय निशाना बनाइयो, उक्त प्रर्दशनको फेसबुक लाइभ गरिरहेका पत्रकार सुशिल खड्काले भने, ‘प्रर्दशनकारी लेखा नियन्त्रक कार्यालय र नापी कार्यालय जलाउने भनेर आएको मैंले सुनिन, उनीहरु आफै कन्फ्युज देखिन्थे ।’ खड्काका अनुसार प्रर्दशनकारी प्रदेश लेखा नियन्त्रक कार्यालयको साइनबोर्डमा झुक्किए । उक्त साइनबोर्डको सबैभन्दा सिरानमा कर्णाली प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालय र त्यसपछि प्रदेश लेखा नियन्त्रक कार्यालय लेखिएको थियो । प्रर्दशनकारीले आर्थिक मामिला मन्त्रालयलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्झिए । जुन मुख्यमन्त्री यामलाल कँडेल आफैले सम्हालेका छन् । ‘आर्थिक मामिलाको साइनबोर्ड देख्न बित्तिकै यही हो मुख्यमन्त्रीले सम्हालेको मन्त्रालय भन्दै तोडफोड र आगजनीमा उत्रिए हाले, आन्तरिक मामिला सम्झिएर प्रदेश लेखा नियन्त्रक कार्यालय जलाए, उनले भने । जबकी आर्थिक मामिला मन्त्रालय भने कांग्रेसका राजीवविक्रम शाहले सम्हालेका छन् । प्रदेश लेखा नियन्त्रक कार्यालय सबैभन्दा बढी क्षति हुने कार्यालयमध्येमा पर्दछ ।

प्रदेश लेखा नियन्त्रक कार्यालय पूर्ण रुपले जल्दा कर्णाली प्रदेश सरकारको भुक्तानी प्रणाली अनिश्चितकालका लागि ठप्प भएको छ । प्रदेश सरकार र यहाँका स्थानीय तहको सार्वजनिक वित्त व्यवस्थापनलाई एकिकृत, चुस्त र पारदर्शी राख्ने संवैधानिक दायित्व बोकेको कार्यालयमा भएको तोडफोड र आगजनीले लेखासम्बन्धी सम्पूर्ण अभिलेख, सफ्टवेयर एवं उपकरणहरुमा व्यापक क्षति पुगेको छ । कार्यालयका साथै कर्मचारीका निजी सवारीसाधन सबै जलेर खरानी हुन पुगे ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख रत्नप्रसाद सुवेदीले पुराना आय–व्यय विवरण, कर्मचारीको तलब तथा भुक्तानी आदेशसम्बन्धी सबै फाइल जलेको बताए । डिजिटल प्रणालीमा सुरक्षित गर्न प्रयोग गरिने उपकरणसँगै भौतिक अभिलेख जलेपछि हिसाब मिलान र प्रमाणीकरणमा कठिनाइ हुने बताउँदै उनले भने, ‘अहिले तत्काल आपतकालीन अवस्था आएमा पनि निकासा दिन सकिने अवस्था छैन, सिंगै कार्यालय खरानीमा परिणत भएको छ ।’

प्रदेश लेखा नियन्त्रक कार्यालयमार्फत विभिन्न मन्त्रालय, मातहतका कार्यालय, आयोगहरुमा कार्यरत कर्मचारीलाई मासिक तलब–भत्ता तत्काल भुक्तानी गर्न सकिने अवस्था नरहेको कार्यालय प्रमुख सुवेदीको भनाई छ । मुख्यमन्त्री कँडेलले आगजनी र तोडफोडबाट प्रदेशसभा र प्रदेश कोलेनिकामा सबैभन्दा बढी क्षति पुगेकाले प्रमुख सचिवलाई कार्यालय व्यवस्थापनको योजना पेश गर्न निर्देशन दिइएको बताए ।