प्रर्दशनकारीको निशानामा कसरी प¥यो प्रदेश लेखा नियन्त्रक कार्यालय ?

प्रकाश अधिकारी/सुर्खेत– अघिल्लो दिन काठमाडौंमा जेनजी प्रर्दशनकारी विद्यार्थीमाथि प्रहरीले बर्बर दमन गरेपछि २४ भदौमा प्रदेश राजधानी सुर्खेतमा पनि परिस्थिति उग्र बन्यो । प्रर्दशन सुरु भएको केही समयमै सुरक्षाकर्मीको नियन्त्रणबाहिर गयो ।

जेनजी प्रर्दशनकारीको ठूलो भीडले हटियालाइनस्थित नगर विकास समितिको जग्गामा लस्करै बनाएका पार्टीका कार्यालयहरुलाई निशानामा पारे । सबैभन्दा पहिले एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी गरियो । एमाले पार्टी कार्यालयतर्फ प्रर्दशनकारीले ढुंगामुढा प्रहार गर्दै गर्दा न्यून संख्यामा रहेका प्रहरीहरु भागे । प्रहरी भागेपछि प्रर्दशनकारीको मनोबल बढ्यो । आगजनी र तोडफोड भइरहेकै बेला अचानक प्रहरी अश्रुग्यास प्रहार गरी भीडलाई तितरबितर पा¥यो । तर परिस्थिति झन् उग्र बन्यो । भीड कांग्रेस पार्टी कार्यालयतर्फ सोझियो । त्यहाँ पनि तोडफोड र आगजनीपछि माओवादी र जनमोर्चाको पार्टी कार्यालयतर्फ उक्लियो । प्रहरीको अश्रुग्यासको प्रवाह नगरी भीडले पार्टीका कार्यालयहरु धित मरुञ्जेल जलाए, ढुंगामुढा गरे ।

पार्टी कार्यालयहरु आगजनीपछि भीड वीरेन्द्रनगर नगरपालिका जलाउन पुग्यो । त्यहाँ तोडफोडपछि इत्रामस्थित कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निजी निवास तोडफोड र आगजनी गर्न थाले । त्यसक्रममा प्रहरीले गोली प्रहार ग¥यो । एक जना घाइते बने । गोली चलाउँदा समेत प्रहरीले खड्काको घरलाई सुरक्षा दिन सकेन । प्रर्दशनकारीले पूर्णबहादुर खड्का र उनका भाई डा डम्बर खड्काको घर तोडफोड र आगजनी गर्दै पूर्ण क्षति पु¥याए । मुख्यमन्त्री कार्यालय तोडफोडको प्रयास गरेपनि बाक्लो संख्यामा प्रहरी देखेपछि प्रर्दशनकारी नापी कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयलाई निशाना बनाए ।

त्यसदिन प्रर्दशनकारी समूह–समूहमा विभाजन भएर सार्वजनिक तथा व्यक्तिगत सम्पति तोडफोड र आगजनी गरिरहेका थिए । जनप्रतिनिधिका घरदेखि वडा कार्यालयहरु जलाउन एउटा समूह खटिएको थियो । त्यस्तै कर्णाली प्रदेशसभा, मुख्यमन्त्री÷मन्त्री निवास तोडफोड गर्न अर्को समूह थियो । अर्को एउटा समूहले पार्टी कार्यालय, वीरेन्द्रनगर नगरपालिका कार्यालय हुँदै कांग्रेस नेता खड्काको घर, मुख्यमन्त्री कार्यालय, नापी र प्रदेश लेखा नियन्त्रक कार्यालय ध्वस्त बनाए ।

जेनजी आन्दोलनका क्रममा सुर्खेतका दर्जनौं सरकारी कार्यालय र नेता जनप्रतिनिधिको घरमा आगजनी तोडफोड भयो । नेताको निवास र जनतासंग प्रत्यक्ष जोडिएका सार्वजनिक संरचनालाई निशाना बनाएका प्रर्दशनकारीले प्रदेश लेखा नियन्त्रक कार्यालयलाई किन तारो बनाए, प्रदेश राजधानीमा यो अहिले चर्चाको विषय बनेको छ । ‘प्रर्दशनकारीको आक्रोश बरु अन्य कार्यालयतर्फै देखिन्थ्यो तर अचानक लेखा नियन्त्रक कार्यालय निशाना बनाइयो, उक्त प्रर्दशनको फेसबुक लाइभ गरिरहेका पत्रकार सुशिल खड्काले भने, ‘प्रर्दशनकारी लेखा नियन्त्रक कार्यालय र नापी कार्यालय जलाउने भनेर आएको मैंले सुनिन, उनीहरु आफै कन्फ्युज देखिन्थे ।’ खड्काका अनुसार प्रर्दशनकारी प्रदेश लेखा नियन्त्रक कार्यालयको साइनबोर्डमा झुक्किए । उक्त साइनबोर्डको सबैभन्दा सिरानमा कर्णाली प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालय र त्यसपछि प्रदेश लेखा नियन्त्रक कार्यालय लेखिएको थियो । प्रर्दशनकारीले आर्थिक मामिला मन्त्रालयलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्झिए । जुन मुख्यमन्त्री यामलाल कँडेल आफैले सम्हालेका छन् । ‘आर्थिक मामिलाको साइनबोर्ड देख्न बित्तिकै यही हो मुख्यमन्त्रीले सम्हालेको मन्त्रालय भन्दै तोडफोड र आगजनीमा उत्रिए हाले, आन्तरिक मामिला सम्झिएर प्रदेश लेखा नियन्त्रक कार्यालय जलाए, उनले भने । जबकी आर्थिक मामिला मन्त्रालय भने कांग्रेसका राजीवविक्रम शाहले सम्हालेका छन् । प्रदेश लेखा नियन्त्रक कार्यालय सबैभन्दा बढी क्षति हुने कार्यालयमध्येमा पर्दछ ।

प्रदेश लेखा नियन्त्रक कार्यालय पूर्ण रुपले जल्दा कर्णाली प्रदेश सरकारको भुक्तानी प्रणाली अनिश्चितकालका लागि ठप्प भएको छ । प्रदेश सरकार र यहाँका स्थानीय तहको सार्वजनिक वित्त व्यवस्थापनलाई एकिकृत, चुस्त र पारदर्शी राख्ने संवैधानिक दायित्व बोकेको कार्यालयमा भएको तोडफोड र आगजनीले लेखासम्बन्धी सम्पूर्ण अभिलेख, सफ्टवेयर एवं उपकरणहरुमा व्यापक क्षति पुगेको छ । कार्यालयका साथै कर्मचारीका निजी सवारीसाधन सबै जलेर खरानी हुन पुगे ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख रत्नप्रसाद सुवेदीले पुराना आय–व्यय विवरण, कर्मचारीको तलब तथा भुक्तानी आदेशसम्बन्धी सबै फाइल जलेको बताए । डिजिटल प्रणालीमा सुरक्षित गर्न प्रयोग गरिने उपकरणसँगै भौतिक अभिलेख जलेपछि हिसाब मिलान र प्रमाणीकरणमा कठिनाइ हुने बताउँदै उनले भने, ‘अहिले तत्काल आपतकालीन अवस्था आएमा पनि निकासा दिन सकिने अवस्था छैन, सिंगै कार्यालय खरानीमा परिणत भएको छ ।’

प्रदेश लेखा नियन्त्रक कार्यालयमार्फत विभिन्न मन्त्रालय, मातहतका कार्यालय, आयोगहरुमा कार्यरत कर्मचारीलाई मासिक तलब–भत्ता तत्काल भुक्तानी गर्न सकिने अवस्था नरहेको कार्यालय प्रमुख सुवेदीको भनाई छ । मुख्यमन्त्री कँडेलले आगजनी र तोडफोडबाट प्रदेशसभा र प्रदेश कोलेनिकामा सबैभन्दा बढी क्षति पुगेकाले प्रमुख सचिवलाई कार्यालय व्यवस्थापनको योजना पेश गर्न निर्देशन दिइएको बताए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,