सुर्खेतबाट तारा एयरको उडान बन्द

सुर्खेत– तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान सेवा बन्द गरेको छ । हरेक उडानमा नोक्सान भएपछि उडान बन्द गर्नुपरेको तारा एयरले जनाएको छ ।


कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सन् २०२४ डिसेम्बर ४ मा हवाई सेवा उद्घाटन गरेका थिए । हिमाली टुर एण्ड ट्राभल्सले तारा एयरमार्फत तीन जिल्लाको उडान भर्दै आएको थियो । ट्राभल्सका मिनबहादुर रावलले कर्णाली प्रदेश सरकारबाट सहयोग नपाएको, हरेक उडानमा नोक्सान भएको भन्दै उडान बन्द गर्नुपर्ने बाध्यता सिर्जना भएको बताए । उनका अनुसार मुगु, हुम्ला र जुम्लामा सातामा दुई पटक नियमित उडान भर्ने सहमतिअनुसार काम भएपनि प्रदेश सरकारबाट आवश्यक सहुलियत प्राप्त नहुँदा उडान सेवा बन्द गर्नुपरेको हो ।

तारा एयरको उडान बन्द भएपछि ती जिल्लामा यात्रु तथा कार्गो सेवाका लागि सुर्खेतबाट नेपालगञ्ज जानुपर्ने भएको छ । हाल नेपालगञ्ज विमानस्थलबाट तारा, समिट र गोमा एयरले हवाई सेवा प्रदान गर्दै आएका छन् ।