निर्मल पौडेल, सुर्खेत– आकस्मिक अवस्थाका बिरामी तथा घाइतेलाई केन्द्रीत गरी कर्णाली प्रदेशमा विशिष्टिकृत एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । एम्बुलेन्स बोलाउन भने निःशुल्क टोलफ्रि नम्बर १०२ मा फोन गर्नुपर्नेछ ।
सामाजिक विकास मन्त्रालयले सुर्खेतको वीरेन्द्रनगरमा प्रादेशिक एम्बुलेन्स प्रेषण केन्द्र स्थापना गरेको छ । मन्त्रालयले शुक्रबार राष्ट्रिय एम्बुलेन्स निर्देशिका प्रादेशिक प्रेषण केन्द्र तथा, एम्बुलेन्स सेवा, निःशुल्क टोलफ्रि नम्बरबारे सरोकारवालासँग अन्तक्र्रिया गरेको हो । प्रेषण केन्द्रले यदि एम्बुलेन्स बोलाउने व्यक्तिले आत्तिएर घटना वा परिस्थिति पुरा बताउन नसकेको अवस्थामा जीपीएसका आधारमा लोकसन पत्ता लगाई एम्बुलेन्स पठाउन सक्नेछ ।
हाल कर्णाली प्रदेशमा ८७ वटा एम्बुलेन्स रहेको जनाइएको छ । तीमध्ये ४१ वटा एम्बुलेन्स जीपीएस माध्यममा जोडिएका छन् । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख बृषबहादुर शाहीले चौबिसै घण्टा सेवा दिने गरी सबै एम्बुलेन्सलाई जीपीएसमा जोडिने बताए ।
कर्णाली समय । १७ कार्तिक २०८०, शुक्रबार २०:२१