
सुर्खेत– सुर्खेत–१ संसदीय निर्वाचन क्षेत्र नेपाली कांग्रेसका लागि मात्र होइन, समग्र कर्णालीको राजनीति (साबिक मध्यपश्चिम) मा पनि विशेष महत्व राख्ने क्षेत्र हो । यस क्षेत्रको चर्चा हुँदा झट्टै सम्झनामा आउने नाम हो—पूर्णबहादुर खड्का । झण्डै तीन दशकभन्दा बढी समयदेखि यो क्षेत्र कांग्रेसका लागि सुरक्षित किल्लाजस्तै रहँदै आएको छ, जसको प्रमुख श्रेय खड्काकै निरन्तर राजनीतिक उपस्थितिलाई जान्छ ।
२०४८ देखि सुरु भएको खड्काको संसदीय यात्रा २०६४ को पहिलो संविधानसभा निर्वाचन बाहेक निरन्तर प्रत्यक्ष निर्वाचनमार्फत अघि बढ्यो । सात वटा निर्वाचनमध्ये २०७४ मा मात्रै उनले पराजयको स्वाद चाख्नुप¥यो । वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमाले नेता ध्रुवकुमार शाहीसँग उनी पराजित भए । तर २०७९ मा पुनरागमन गर्दै खड्काले त्यो हार उल्ट्याए र आफ्नो राजनीतिक पकड अझ मजबुत बनाए ।
यसपटक पनि तल्ला तहका कमिटीहरूले केन्द्रमा पूर्णबहादुर खड्काको नाम एकल रूपमा सिफारिस गरेका थिए । आठौं पटक उम्मेदवार बन्ने उनको बाटो लगभग निश्चित देखिन्थ्यो । महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मा समूहले नेतृत्व गरेको पुस २७–२९ मा काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि खड्का धर्म संकटमा परे । जेन्जी आन्दोलनपछिको असहज परिस्थितिमा देउवाले खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । विशेष महाधिवेशन नभएको भए खड्का केवल उम्मेदवारमात्र होइन सम्भावित प्रधानमन्त्रीको दाबेदारको सम्मुखमा थिए । पार्टीभित्र केन्द्रीय सदस्यदेखि महामन्त्री, उपसभापति हुँदै कार्यवाहक सभापतिसम्मको यात्रा तय गरिसकेका खड्काले उपप्रधानमन्त्रीसहित गृह, रक्षा तथा सूचना तथा सञ्चारजस्ता महत्वपूर्ण मन्त्रालयको नेतृत्व गरेको अनुभव थियो ।
तर निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्य समितिलाई मान्यता दिएपछि टिकट वितरणको अधिकार पनि देउवाबाट थापाकै हातमा पुग्यो । उक्त निर्णयविरुद्ध कार्यवाहक सभापतिका हैसियले खड्काले सर्वोच्च अदालतमा रिट दायर गरे । मुद्दाको विचाराधिन अवस्थामा रहेकाले नैतिकताको आधारमा चुनाव नलड्ने घोषणा गरे । यही मोडमा कांग्रेसले सुर्खेत–१ का लागि नयाँ अनुहार अघि सा¥यो—पूर्णबहादुरका सहोदर साँहिला भाई ५८ वर्षीय विष्णुबहादुर खड्का ।
क्षेत्रीय कार्य समितिको निर्णयअनुसार टिकट पाएका विष्णु खड्का हाल जिल्ला पार्टी उपसभापति हुन् । राजनीतिसँगै उनी सुर्खेतमा मेडिकल र यातायात क्षेत्रका परिचित व्यवसायीका रूपमा पनि चिनिन्छन् । यतिबेला चुनावी राजनीतिबारे चासो राख्नेहरुको मनमा प्रश्न छ,—३४ वर्षसम्म पूर्णबहादुर खड्काको प्रभाव रहेको क्षेत्रमा विष्णुले त्यो राजनीतिक विरासत जोगाउन सक्लान् ? यो प्रश्नको जवाफ फागुन २१ गते सम्पन्न हुने निर्वाचन परिणामले दिनेछ । तर अहिले भने विष्णुको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ । यदि उनले सफलता हासिल गरे भने पूर्णबहादुरको मार्गदर्शनमा विष्णुको राजनीतिक यात्रा अझ उचाइँतर्फ अघि बढ्ने आँकलन गर्नेहरु पनि छन् ।
यो निर्वाचनमा कांग्रेसका विष्णुसँगै एमालेका ध्रुवकुमार शाही, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जीतबहादुर राना, राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंह, राप्रपाका रविकिरण हमाल, उज्यालो नेपाल पार्टीका ठम्मर विष्टलगायत १३ जना उम्मेदवार मैदानमा छन् । शाही यसअघि २०७४ र २०७९ मा पूर्णबहादुर खड्कासँग प्रतिष्पर्धा गरिसकेका अनुभवी प्रतिद्वन्द्वी हुन्, जसले विष्णुका लागि चुनौती थपेको छ ।
विगतका सबै तहका निर्वाचन परिणाम नियाल्दासुर्खेत–१ मा कांग्रेस र एमालेबीचको मुख्य प्रतिस्पर्धा दोहोरिने देखिन्छ । तर यसपटक रास्वपा आक्रामक ढंगले मतदाता तान्ने प्रयासमा छ । रास्वपा उम्मेदवार टेकबहादुर सिंह पूर्व कांग्रेस नेता भएकाले पनि चुनावी प्रतिष्पर्धा थप रोचक बनेको छ । उता, राप्रपा उम्मेदवार एवं जेन्जी आन्दोलनका चर्चित अभियन्ता रविकिरण हमाल र उज्यालो नेपालका उम्मेदवार ठम्मर विष्टको उपस्थितिले चुनावी मैदान अझै बहुरंगी बनेको छ । विष्ट एमालेका पूर्व केन्द्रीय सदस्य र कर्णाली प्रदेशसभाका सांसद समेत हुन् ।
यस क्षेत्रमा वीरेन्द्रनगरका वडा नं १५ र १६ सहित लेकवेशी नगरपालिका, चिंगाड गाउँपालिका, सिम्ता गाउँपालिका, भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिकाका गरी एक लाख बढी मतदाता छन् ।


कर्णाली समय । १४ माघ २०८२, मंगलवार २०:१५