डा केसीको ‘स्वस्पर्श’ सार्वजनिक

सुर्खेत– बालरोग विशेषज्ञ डा नवराज केसीले दोस्रो पुस्तक स्वस्पर्श बजारमा ल्याएका छन् । ससाना बालबालिका र युवाहरुमा आत्महत्याको घटनाले द्रवित डा केसीले फेरि यस्तो देख्नु नपरोस् भनी अध्ययन, अनुसन्धान, बुद्ध र विज्ञानसहितका कथाहरु जोडेर यो कृति लेखेका हुन् ।

स्वस्पर्शमा आशा, प्रेरणा र खुसीका कथाहरु समेटिएका छन् । डा केसीको पहिलो पुस्तक ‘शून्यको मूल्य’ २०७९ सालमा प्रकाशित भएको थियो । स्वस्पर्श पुस्तकमा बुद्ध, विज्ञा र बुद्धु अध्यायमा जंगबहादुर र दुःखचाल्नोको कथा, गर्बे दाइको दोषी चस्मा, मन्दिरे ः बीउखसीको कथा, अध्याय दुईमा एक जोडी बाआमाको कथा, ध्यार गाउँले, सानी नानी र अध्याय तीनमा स्वशिष्य, स्वशिक्षक र स्वनिर्माणका पात्रका कथाहरु समावेश छन् ।

‘यो पुस्तक हरेक मानिसका लागि त्यही स्वयुद्धबाट स्वस्पर्शसम्मको एउटा यात्रा हो, जसका सहयात्री छन्, प्रेरणादायी केही भुइँमान्छे छन् । यी भुइँमान्छेका कथा र तिनमा समाहित बुद्ध विज्ञान पढ्दै गर्दा खुसी खोज्नेले बीउखुसी भेट्नेछन्,’ लेखक डा केसीले भने, ‘दुखपरिसम्म पुग्ने आशा, प्रेरणा र परिवर्तनको जीवनमार्ग र स्नेहका विषयस्तुमा कथालाई केन्द्रित गरेको छु ।’

पुस्तकको विमोचन शनिबार लेखक केसीका आमा, मामा र उनका छोराले गरेका थिए । सो अवसरमा लेखक सुविन भट्टराईले स्वस्पर्श किताबमा समावेशमा भएका पात्रहरुको छुट्टै किताब बन्ने बताए । उनले भने, ‘किताबको निष्कर्षमा भने आफूभित्रको माया अरुलाई बाँड्ने बाडौं भन्ने हो ।’ एसओएस हर्मन माइनरका प्रिन्सिपल हरिहर बस्नेतले स्वस्पर्श पुस्तक आफैँलाई बदल्ने एक महत्वपूर्ण औजार रहेको टिप्पणी गरे ।