सुर्खेत– संघीय सरकार मातहत रहेको वीरेन्द्रनगर ७ स्थित प्रादेशिक आपतकालीन गोदामघर प्रदेशलाई हस्तान्तरण गरेको छ । आइतबार गृहमन्त्री रमेश लेखकले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई स्वामित्व हस्तान्तरण गरेका हुन् ।
विपद्जन्य घटनाहरु भएमा तत्काल उद्दार तथा राहत सामग्री भण्डारन गर्ने उद्देश्यका साथ गोदामघर निर्माण गरिएको थियो । अब यो आपतकालिन गोदामघर प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सञ्चालन एवं व्यवस्थापन सञ्चालन गर्नेछ ।
गृहमन्त्री लेखकले पश्चिम नेपालमा भूकम्प, बाढीपहिरो, आगलागी, लेक लाग्ने, शित लहर जस्ता विभिन्न विपद्को जोखिममा रहेकाले आपतकालिन गोदामघर उपयोगी हुने बताए । ‘विपद् जतिबेला पनि आउन सक्छ, पूर्वतयारीका लागि यस्ता संरचनाहरु आवश्यक रहन्छन्,’ उनले भने । पश्चिम नेपालमा भूकम्पबाट भएको क्षति पुनर्निर्माण र पुनस्र्थापना गर्ने कार्य प्रारम्भ भएको उनको भनाई छ । अछाम र जाजरकोटमा पुनर्निर्माण इकाई कार्यालय स्थापना गरी द्रुत गतिबाट काम गर्न लागिएको लेखकले जनाए ।
मुख्यमन्त्री कँडेलले गोदामघर हस्तान्तरण गरेकामा संघीय सरकारलाई धन्यवाद दिँदै भने, ‘तर यो दिनका लागि सात वर्ष लाग्यो, भौतिक संरचनासँगै अन्य संरचना र कानुनी अधिकार पनि हस्तान्तरण गर्न ढिला भइसक्यो ।’ जग्गा व्यवस्थापनको अधिकार नपाउँदा प्रदेशले आवश्यक संरचना बनाउन नसकिरहेको मुख्यमन्त्रीको भनाई थियो ।


कर्णाली समय । २५ फाल्गुन २०८१, आईतवार १२:३८