
सुर्खेत- सिर्जु शाहद्वारा लिखित ‘बैकिनी’ उपन्यासको गृह विमोचन सुर्खेतमा गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयको सभाहलमा आइतबार आयोजित कार्यक्रममा विभिन्न साहित्यकार, समालोचक तथा सरोकारवालाहरूको उपस्थितिमा उपन्यास सार्वजनिक गरिएको हो ।
कार्यक्रमको अध्यक्षता गौरव न्यौपानेले गरेका थिए भने स्वागत मन्तव्य दीपक उपाध्याय ‘अभिलाषी’ले राखेका थिए । कार्यक्रममा लेखक तथा साहित्यकारद्धय डा. नवराज केसी र प्रेमप्रकाश मल्लले उपन्यासमाथि समीक्षा प्रस्तुत गरेका थिए । त्यसैगरी स्रष्टा रवीन्द्र मिश्र, वीरेन्द्रनगरका नगर प्रमुख मोहनमाया ढकाल तथा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले लेखकप्रति शुभकामना व्यक्त गरेका थिए ।
अक्षर आँगन प्रकाशन गृहद्वारा प्रकाशित ‘बैकिनी’ महिलाकेन्द्रित उपन्यास हो । कार्यक्रममा बोल्ने वक्ताहरूले उपन्यासले महिलाका संघर्ष, पीडा र सामाजिक यथार्थलाई नयाँ दृष्टिकोणबाट प्रस्तुत गरेको धारणा राखे । समीक्षकहरूले विशेषगरी राज्यको नीति निर्माण तहमा रहेका व्यक्तिहरूले समेत यो उपन्यास अध्ययन गर्नुपर्ने सुझाव दिए ।
लेखक सिर्जु शाहले आफ्नो जीवनमा भेटिएका महिलाहरूको वास्तविक अवस्था र उनीहरूले भोगेका संघर्षबाट प्रेरित भएर उपन्यास लेख्ने सोच बनाएको बताइन् । उपन्यासमार्फत अहिले पनि महिलाले समाजमा विभिन्न प्रकारका चुनौती र संघर्ष सामना गर्नुपरेको यथार्थलाई उजागर गर्ने प्रयास गरेको उनको भनाई थियो ।
‘बैकिनी’ कर्णाली क्षेत्रको आञ्चलिक शब्द हो, जसको अर्थ ‘तरुनी’ भन्ने हुन्छ । उपन्यास विभिन्न सामाजिक तथा व्यक्तिगत संघर्षमा होमिएका महिला पात्रहरूको जीवनकथामा केन्द्रित रहेको जनाइएको छ ।



कर्णाली समय । २१ असार २०८३, आईतवार २०:२२