सुर्खेत – नेपाली सिने क्षेत्रका महानायक राजेश हमालले आगामी दिनमा आफु राजनीतिमा आउन सक्ने सङ्केत गरेका छन् । सोमबार सुर्खेतमा आयोजित कर्णाली उत्सवमा बोल्दै हमालले समय आएपछि आफु राजनीतिमा आउन सक्ने बताए ।

दर्शकहरुले राजेश हमाललाई राजनीतिमा देख्न पाइन्छ कि पाइन्न भन्ने प्रश्न राखेपछि हमालले भने, ‘म राजनीतिमा चासो राख्ने, बुझ्ने व्यक्ति हो । त्यसैले राजनीतिमा देखिनै नपाइने हो त म भन्दिन । तर हरेक व्यक्तिको एउटा खाँचो महसुस हुने बिन्दु आउला नि ।’ यदि समय आएको खण्डमा भविष्य भन्न नसकिने उनले बताए ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको विषयमा बोल्दै हमालले परिवर्तनका लागि आन्दोलन हुनु सकरात्मक भए पनि त्यसबाट भएको विध्वंसको निन्दा गर्नुपर्ने बताए ।
‘हाम्रो देशका धरोहरहरु जले, त्यो राम्रो भएन,’ उनले थपे, ‘आज सिंहदरबार नजलेको भए, संसद भवन नजलेको भए नयाँ सांसदहरु त्यहीँ बस्न पाउनुहुन्थ्यो ।’
वास्तविक जीवन र पर्दाको भूमिकाबारे हमालले बोलेका थिए । ‘अभिनय र वास्तविक जीवनमा फरक यति हुन्छ कि कट भनिसकेपछि संयमित भएर फेरि आफ्नो ठाउँमा आउन सक्नुहुन्छ,’उनले भने। ‘वास्तविक जीवनमा तपाईँ भावना पोखिरहँदा तपाईँलाई कट भने पनि तपाईँ एकैचोटी रोक्न सक्नुहुन्न । त्यति मात्रै फरक हो ।’
हमालले अहिले चलचित्र हेर्ने संस्कृति बदलिएको पनि बताए ।
‘मैले चलचित्र क्षेत्रमा प्रवेश गर्दा फिल्म हल बाहेक अन्त हेर्ने विकल्प थिएन,’ उनले अगाडि भने, ‘मान्छेलाई के रहस्य छ, कसरी निर्माण हुन्छ भन्ने कौतुहल हुन्थ्यो । मोबाइल त त्यस्तै हो टेलिभिजन पनि थिएन । सबै चलचित्र हेर्न हलमा जानुहुन्थ्यो ।’ तर आज हरेक मान्छेले चलचित्र बनाइरहेको उनले बताए । भने, ‘आज हरेका हातमा आआफ्ना चलचित्र छन्, टिकटकबाट होस् वा अर्को माध्यमबाट भिडियो बनाइरहनुहुन्छ ।’



कर्णाली समय । १ बैशाख २०८३, मंगलवार १७:५२