सुर्खेत– आजदेखि बडादसैं सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदा (नवरात्रको पहिलो दिन) घर–घरमा घटस्थापना गरिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
बडादसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडादसैंको पहिलो दिन आज घरका पूजा कोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेंलो जमरा लगाइन्छ ।
आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक ७ गते गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ । कात्तिक ७ गते देवी विसर्जनको साइत बिहान १० बजेर ३७ मिनेटमा रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने ११ बजेर २ मिनेटको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद लगाउने चलन छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ ।
कर्णाली समय । २८ आश्विन २०८०, आईतवार ०८:५५