सुर्खेतमा किन भयो प्रशोधित पिउने पानीको अभाव ?

सुर्खेत — प्रशोधित पिउने पानीको मूल्य निर्धारणसम्बन्धी विवादका कारण सुर्खेतमा पानीको सहज आपूर्तिमा समस्या देखिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले जार तथा बोतलको पानीको बिक्री–वितरण र मूल्य निर्धारणसम्बन्धी निर्णय जारी गरेपछि पानी उद्योगीले त्यसप्रति असन्तुष्टि जनाउँदै निर्णय पुनरावलोकन गर्न माग गरेका छन् ।

सुर्खेत पानी उद्योग संघ र नेपाल पानी उद्योग महासंघले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै प्रशासनको निर्णयले पानी उद्योगको उत्पादन तथा सञ्चालनमा समस्या सिर्जना गर्ने बताएका छन् । उनीहरूले उत्पादन लागत र बजारको अवस्थालाई बेवास्ता गरी मूल्य निर्धारण गर्दा उद्योग सञ्चालन, रोजगारी र उपभोक्तालाई नियमित रूपमा पानी उपलब्ध गराउने व्यवस्थामा समेत असर पर्ने बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले यही असोज ३० गते प्रशोधित पिउने पानी (जार तथा बोतल) को बिक्री–वितरण तथा मूल्य निर्धारणसम्बन्धी निर्णय जारी गरेको थियो । उक्त निर्णयप्रति सुर्खेत पानी उद्योग संघ र नेपाल पानी उद्योग महासंघले असन्तुष्टि जनाएका हुन् । सुर्खेत पानी उद्योग संघका सचिव अविनाश थानीले प्रशासनको निर्णयले उद्योगीका व्यावसायिक समस्या समाधान गर्नुको सट्टा थप कठिनाइ सिर्जना गर्न सक्ने बताए।

त्यस्तै नेपाल पानी उद्योग महासंघका महासचिव ध्रुवप्रसाद अधिकारीले पनि २०६९ सालमा कायम गरिएको मूल्यलाई नै आधार मानेर लामो समयसम्म मूल्य समायोजन नगरिएको अवस्थामा उत्पादन तथा सञ्चालन लागतमा उल्लेखनीय वृद्धि भएको बताएका छन् । महासंघले लागत वृद्धि बेवास्ता गरी मूल्य निर्धारण गर्दा विशेषगरी साना तथा मझौला उद्योगको लगानी, व्यवसायको निरन्तरता र रोजगारीमा प्रत्यक्ष असर पर्ने जनाएको छ ।

महासंघले प्रशासनको निर्णय तत्काल पुनरावलोकन गरी उद्योगको वास्तविक लागतका आधारमा मूल्य समायोजन गर्न माग गरेको छ । उत्पादन लागत, सञ्चालन खर्च, बजारको अवस्था र उचित मुनाफालाई आधार मानेर मूल्य निर्धारण गर्न पाउने उद्योगीको व्यावसायिक अधिकारको सम्मान हुनुपर्ने महासंघको भनाई छ । उद्योगीहरूले उपभोक्ता संरक्षण ऐन, २०७५ ले वस्तुको मूल्य, मूल्यसूची तथा मूल्य निर्धारणसम्बन्धी व्यवस्था गरेको उल्लेख गर्दै प्रचलित कानुनले तोकेको सीमा र मापदण्डभित्र रहेर उद्योगको वास्तविक लागतका आधारमा मूल्य निर्धारण गर्न पाउनुपर्ने बताएका छन् ।

साथै, पानी उद्योगीहरूले मूल्य समायोजनको माग गर्दै गर्दा उपभोक्तालाई उचित मूल्यमा गुणस्तरीय पानी उपलब्ध गराउनु पनि उत्तिकै महत्वपूर्ण रहेको स्वीकार गरेका छन् । मूल्य निर्धारण गर्दा उपभोक्ताको हित संरक्षणसँगै उद्योगको सञ्चालन खर्च, उत्पादन लागत र व्यवसायको निरन्तरताबीच सन्तुलन कायम गर्न आवश्यक रहेको उद्यागीहरु बताउँछन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,