सुर्खेत- गायिका हरिमाया कार्कीको मौलिक तीज गीत ‘मधु’ सार्वजनिक भएको छ । शुक्रबार हरिमाया कार्की अफिसियल युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशकी अध्यक्ष कार्कीको एकल स्वरमा रहेको ‘मधु’मा संगीत र शब्द रचना पनि गायिका आफैले गरेकी हुन् । खेमराज गौतमले संगीत एरेन्ज गरेको उक्त गित मालाश्री डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको भिडियोमा समिक्षा सुनार, जानकी पुन, यामनारायण आचार्य, सिर्जना ठकुराठी, चित्रकला खत्री, हरिमाया कार्की, अनमिन जिसी, पावल बलामी मगरलगायतका कलाकारहरुले अभिनय रहेको छ ।
गीतको भिडियो सुर्खेतका विभिन्न पर्यटकीय स्थानमा छायाङ्कन गरिएको छ । निर्मल प्याकुरेलको निर्देशन र सम्पादन गरेको उक्त भिडियोमा चन्द मन्दिर र हेमन्त नेपालीले नृत्य निर्देशन गरेका छन् । गीतका सर्जक एवं गायिका कार्कीले तीज गीत ‘मधु’ नेपाली हिन्दु महिलाहरुको जीवन भोगाइ र अनुभुतीको प्रतिबिम्ब भएको बताइन् । तीजमा माइतीघर जान नपाएकी छोरीले माइतीघरबाट आमा बुवाले पठाएका कोशेली साथमा राखेको सम्झना देखाइएको छ ।
माइतीघर जान नपाएकी मधु आमाले पठाएको सिफन र रेशमी सारी लगाएर नाच्दाखेरीको अनुभुती समेटिएको छ । मधुले आमाको चिनो शिरफूल र बुवाको चिनो बालिया हराएपछि विरक्त भएको कथा समेटिएको छ । गीतले सुर्खेतको भेरी पारी माइतीघर भएकी मधु वर्षायामको बादलले माइतीगाउँ छेकेको अवस्थामा माइती सम्झेर कर्मलाई दोष दिँदै माइती घर जान नपाउँदाको पीर जीवनभर रहेको कल्पना गीतमा गरिएको छ । गीतमा बाबाको काखमा पुतली भेषमा उडेर आउने कल्पना मधुले गरेकी छिन् । कार्कीले गत बर्ष तीज गीत ‘पार्वता’ ल्याएकी थिइन् । हेर्नुस भिडियो

कर्णाली समय । २७ असार २०८२, शुक्रबार २०:४२