सुर्खेत–कर्णाली प्रदेश सरकारको बेरुजु रकम रु. ४ अर्ब नाघेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷०७९ को लेखापरीक्षण प्रतिवेदनले कर्णालीको बेरुजु बढेर ४ अर्ब ३३ करोड ९३ लाख पुगेको जनाएको छ । ७ प्रदेशमध्ये सबैभन्दा धेरै बेरुजु रकम कर्णालीको देखिएको छ ।
अघिल्लो वर्ष फछ्यौट हुन नसकेको र यो वर्ष थपिएको रकम हो । आव २०७७÷०७८ मा कर्णालीको बेरुजु रकम २ अर्ब ७९ करोड ८७ लाख पुगेको थियो । त्यसमध्ये १४ करोड ३६ लाख सम्परीक्षण गरी २ अर्ब ६५ करोड एक लाख बाँकी रहेको छ । यो वर्ष १ अर्ब ६८ करोड ९३ लाख थप हुँदा बेरुजु रकम बढेर चार अर्ब ३३ करोड ९४ लाख पुगेको छ । प्रदेश सरकार मातहतका सरकारी कार्यालय, अन्य संस्था र समितिहरू गरी १७३ कार्यालयको ३८ अर्ब १४ करोड ६२ लाख रकम लेखापरीक्षण गरिएको थियो ।
सबैभन्दा धेरै बेरुजु भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको देखिएको छ ।
आर्थिक वर्ष २०७८÷०७८ मा उक्त मन्त्रालयको बेरुजु ७१ करोड ९९ लाख ९५ हजार छ । भौतिक पूर्वाधार सबैभन्दा धेरै वार्षिक बजेट भएको मन्त्रालय पनि हो ।
कर्णाली समय । ८ बैशाख २०८०, शुक्रबार १९:२०