सुर्खेत– कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले प्राकृतिक हिसाबले आत्मनिर्भर अर्थतन्त्र भएपनि आधुनिक अर्थतन्त्र भने परनिर्भर रहेको बताएका छन् ।
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्द्वारा मंगलबार सुर्खेतमा आयोजित अभिमुखीकरण गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री केसीले कर्णालीको आधुनिक अर्थतन्त्रलाई समृद्ध बनाउन सबैको साझा संकल्प आवश्यक रहेको बताए । उनले कर्णालीमा उपलब्ध बजेट, साधन स्रोतलाई नै परिचालन गरेर आधुनिक अर्थतन्त्र निर्माणमा जुट्नुपर्ने धारणा राखे । ‘हामी धेरै हिसाबले आत्मनिर्भर थियौं, पशुपालन, कृषि हाम्रा मुख्य जीविकोपार्जनका माध्यम थिए,’ उनले भने, ‘तर पछिल्ला वर्ष परनिर्भरता बढेर विदेशी उत्पादनको खपत बढेको छ, हाम्रो परनिर्भर प्रवृत्ति बढेको छ, अब सुधार ल्याउन पुनः सबैको संकल्प जरुरी छ ।’
कर्णालीमा कृषि र पशुपालनको राम्रो सम्भावना भएकाले प्रदेश सरकारले आवश्यक नीति तथा कार्यक्रम ल्याएर समृद्ध अर्थतन्त्रको विकासमा जोड दिने मन्त्री केसीको भनाई थियो । साथै उनले पशु सेवा तथा पशु स्वास्थ्य क्षेत्रमा युवा जनशक्तिको प्रवेशले आफूलाई उत्साही बनाएको बताए ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा नरहरिप्रसाद घिमिरेले पशु स्वास्थ्यका क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने आवश्यकताबोध भएको बताए । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् काठमाडौंले कर्णाली प्रदेशमा दर्ता हुनेवाला पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुका लागि अभिमुखीकरण गोष्ठी सञ्चालन गरेको हो ।
गोष्ठीमा पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्का रजिष्ट्रार पूर्णबहादुर बुढाले परिषद् ऐन र यसका प्रावधानबारे कार्यपत्र प्रस्तुतीकरण गरेका थिए । परिषद्का अध्यक्ष देवेन्द्रप्रसाद यादवले पशु सेवा तथा पशु स्वास्थ्य व्यवसायीको संस्थागत विकासमा जोड दिने बताए । परिषद्का सदस्य कमलबहादुर विश्वकर्माले सञ्चालन गरेको अभिमुखीकरण गोष्ठीमा परिषद्का उपाध्यक्ष जनकबहादुर रावलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कर्णाली समय । १ जेष्ठ २०८१, मंगलवार १७:४३