सुर्खेत– दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आइतबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । महोत्सवमा नेपाली चलचित्रको विकास र प्रर्वद्धनका विविध आयामबारे प्यानल छलफल भएको छ ।
वक्ताहरुले कर्णालीमा पर्यटनको अथाह सम्भावना रहेको र चलचित्र छायांकनको दृष्टिले उपर्युक्त भूमि रहेको बताए । महोत्सवको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले चलचित्र क्षेत्रसमेत समेट्ने गरी प्रज्ञा प्रतिष्ठान निर्माणका लागि कानुन निर्माणको चरणमा रहेको बताए । पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले ‘चल’ संघमा रहेको र ‘चित्र’ कर्णालीमा रहेकाले कर्णालीमा चलचित्र र पर्यटनको विकासमा पछाडि परेको धारणा राखे ।
महोत्सवको पहिलो दिन उद्घाटनसंगै कर्णाली पर्यटन संवाद सत्रमा कर्णाली प्रदेशका पर्यटनमन्त्री सुरेश अधिकारी, गुराँस गाउँपालिका अध्यक्ष टोपबहादुर बिसी, उद्योगी भवानी राणा, साहित्यकार डा महेन्द्रकुमार मल्ल र कर्णाली उद्योग वाणिज्य महासंघका अध्यक्ष पदमबहादुर शाही वक्ताका रुपमा रहेका थिए भने सत्रको सहजीकरण गरेका थिए, पत्रकार पुरुषोत्तम सापकोटाले ।
पत्रकार कलेन्द्र सेजुवालले सहजीकरण गरेको राजनीति संवादमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, राप्रपा महामन्त्री कुन्तीकुमारी शाही, एकिकृत समाजवादीका नेतृ रामकुमारी झांक्री प्यानलिष्ट रहेका थिए । वीरेन्द्रनगरका मेयर मोहनमाया ढकाल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता प्रदीप खड्का र कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी प्यानलिष्ट रहेको कर्णाली चलचित्र संवाद सत्रको सहजीकरण गरेका थिए, विकास सुवेदीले ।
महोत्सवका निर्देशक चक्रबहादुर चन्दका अनुसार सोमबार दैलेखको गुराँसेमा गुराँस चलचित्र पर्यटन संवाद सञ्चालन गरिनेछ । रेड चेरीको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा महोत्सव आयोजना भएको हो ।


कर्णाली समय । २५ फाल्गुन २०८१, आईतवार १७:४४