सुर्खेत– कर्णाली प्रदेशमा राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाधार निर्माणको कामले तिव्रता पाइरहेका बेला राष्ट्रिय खेलकुद परिषद् (राखेप) का गतिविधि ठप्प पारिएको छ । प्रतियोगिताको मुख्य आयोजक राखेपमा दैन्दिन बैठकहरु बस्नुको साटो आवश्यक तयारी नै शुरु नगरिँदा अन्यौलता देखिएको छ ।
तीन वर्ष अघि पोखरामा सम्पन्न नवौं खेलकुद प्रतियोगिताले ०८१ मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा दशौं खेलकुद आयोजना गर्ने मिति प्रस्ताव गरेको थियो । यद्यपि यही मितिलाई आधार मान्ने या अर्को मिति तय गर्ने भन्ने निर्णय संघीय मन्त्रिपरिषद्ले गर्नुपर्नेहुन्छ । यदि यही मितिलाई आधार मानेर प्रतियोगिताको तयारी थाल्ने हो भने अब ७६ दिनमात्र बाँकी छ ।
यही भदौ ४ गते संघीय यूवा तथा खेलकूदमन्त्री तेजुलाल चौधरी, परिषद्का सदस्य सचिव टंकलाल घिसिङसहितले सुर्खेत आएर पूर्वाधार निर्माण, सुरक्षाका साथै अन्य व्यवस्थापकीय तयारीबारे अवलोकन गर्नुका साथै सरोकारवाला पक्षसंग छलफल गरेका थिए । त्यस क्रममा मन्त्री चौधरीले पूर्वाधार निर्माण कार्य सम्पन्न गरेरमात्र बाँकी तयारी थाल्नुपर्ने धारणा सुनाए । संघीय मन्त्री चौधरीसंगको भेटमा मुख्यमन्त्री यामलाल कँडेलले बजेट व्यवस्थापन, प्रतियोगिताको कार्यविधि र मिति तोक्न आग्रह गरेका थिए । उनले भनेका थिए, “संघीय सरकारले आयोजना गर्ने राष्ट्रियस्तरको प्रतियोगिता भएकाले यसमा देखिएका बाधा अड्चनहरु संघले नै फुकाउनुपर्छ, व्यवस्थापकीय तयारीमा प्रदेशको भूमिका भएपनि त्यसका लागि संघले बाटो खुला गरिदिनुपर्छ ।”
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सञ्ज्यालले पूर्वाधार निर्माणको कामले तीव्रता पाएपनि अन्य तयारीहरु शुरु नभएको बताए । यसले निर्धारित मितिमा प्रतियोगिता आयोजना हुनेमा आशंका बढाएको उनको भनाई छ । “जनशक्ति बढाएर रंगशाला लगायतका अन्य पूर्वाधारको कामलाई तीव्रता दिएका छौं,” सदस्य सचिव सञ्ज्यालले भने, “मंसिर अगावै संरचना निर्माणको कार्य पुरा भइसक्नेछ, तर प्रतियोगिताका बाँकी तयारीहरु शुरु गरिएन ।”
प्रतियोगिताका लागि संघीय सरकारले मिति तोकेर दिनगन्ती शुरु गर्ने, विभिन्न सामान खरिदका लागि कानूनी प्रक्रिया पुरा गर्ने, प्रतियोगिता सञ्चालनका लागि मन्त्रिपरिषदबाट निर्देशिका एवं कार्यविधिहरु स्वीकृत गर्नुपर्नेहुन्छ । तर राखेप सचिवालय र युवा तथा खेलकुद मन्त्रालयले यी सबै कामहरु अझैं शुरु गरेका छैनन् । प्रदेश खेलकूद विकास परिषद्का सदस्य सचिव सञ्ज्याल तोकिएको जिम्मेवारी पुरा गर्न आफूहरु सक्षम रहेको बाँकी र काम संघ-प्रदेश सरकारले गर्नुपर्ने बताउँछन् ।
राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बैठकको एजेण्डासहित र कार्यविधिको मस्यौदा युवा तथा खेलकूद मन्त्रालयमा पठाएको तर कुनै जवाफ नआएको जानकारी दिए । “एक वर्षदेखि राखेप बोर्डको बैठक बस्न सकेको छैन्, उनले भने, “मन्त्रालयले चासो दिनुपर्ने हो, हाम्रो तर्फबाट मन्त्रालयमा पठाएको धेरै समय भैसक्यो ।”
परिषद्का अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एक वर्षदेखि परिषद्को बोर्ड बैठक बस्न नसक्नुमा आफू जिम्मेवार नरहेको बताए । “मैंले जिम्मेवारी सम्हालेको डेढ महिनामात्र बितेको छ, एक वर्षको जिम्मेवारी लिन सक्दिनँ, उनले भने, “परिषदले किन बैठक बसाल्न सकेन, एक वर्षसम्म किन तयारीबारे सोचिएन, त्यो उहाँहरु परिषद् (सचिवालय) को कमजोरी हो ।” उनी अघि रास्वपाका विराजभक्त श्रेष्ठ खेलकुदमन्त्री थिए । मन्त्री र सदस्य सचिवको टकरावका कारण बोर्डका गतिविधि ठप्प भएको बताइएको छ । राखेप सचिवालयले बैठकको एजेण्डामात्र मन्त्रालयमा पठाएर दोष अरुलाई दिन नमिल्ने मन्त्री चौधरीको भनाई छ ।
उनका अनुसार प्रतियोगिताका लागि पूर्वाधार तयार, आवास व्यवस्थापन र खेलाडीलाई हुम्ला- जुम्ला लगायतका जिल्लामा यातायात व्यवस्थापन गर्न सकिन्छ कि सकिँदैन् भन्ने पाटोलाई समेत विश्लेषण गर्नुपर्ने हुन्छ । मिति तोक्ने र प्रतियोगिता उद्घाटन गरेरमात्र नहुने भन्दै मन्त्री चौधरीले यदि व्यवस्थापन राम्रो हुन नसके मन्त्रीको रुपमा आफूलाई दोष आउने बताए ।


कर्णाली समय । १९ भाद्र २०८१, बुधबार १२:३५