
सुर्खेत- नेपाली संगीत र मनोरञ्जनलाई देशका सातै प्रदेशका दर्शकमाझ पुर्याउने उद्देश्यसहित सञ्चालन भइरहेको ‘सुरताल म्युजिकल टुर–२०८३’भाेली कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुँदैछ ।
सुरताल इभेन्ट एन्ड इन्टरटेनमेन्ट प्रालि, रेड पाण्डा ग्रुप अफ कम्पनीज र बासुकी फिल्म्सको संयुक्त आयोजनामा वीरेन्द्रनगरस्थित सिटी हलको मैदानमा सांगीतिक कार्यक्रम हुन लागेको हो । शनिबार दिउँसो २ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने कार्यक्रममा चर्चित गायक प्रकाश सपुतसहित विभिन्न कलाकार तथा सांगीतिक ब्यान्डले आफ्नो प्रस्तुति दिनेछन् ।
‘गुञ्जिन्छ नेपाल, एउटै सुर एउटै ताल’ भन्ने नारासहित आयोजना हुन लागेको कार्यक्रममा प्रमोद एन्ड परम्परा, प्रकाश सपुत, भाका नेपाल ब्यान्ड र द फिर्न्टे ब्यान्डको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा गायक प्रकाश सपुतले पहिलोपटक ‘भाका नेपाल’ ब्यान्डसहित मञ्चमा प्रस्तुति दिने तयारी गरिएको छ । लाइभ म्युजिक र ब्यान्डको प्रस्तुतिमार्फत दर्शकलाई फरक तथा विशेष सांगीतिक अनुभव प्रदान गर्ने लक्ष्य आयोजकको छ । कार्यक्रममा सहभागी हुन एकल प्रवेश टिकटको मूल्य तीन सय रुपैयाँ र दुई जनाका लागि पाँच सय रुपैयाँ निर्धारण गरिएको छ ।
सुरताल म्युजिकल टुरको मुख्य उद्देश्य नेपाली संगीत, कला र संस्कृतिको प्रवर्द्धन गर्नुका साथै देशका सातै प्रदेशका विभिन्न सहरमा सांगीतिक गतिविधि विस्तार गर्दै स्थानीय दर्शकलाई राष्ट्रियस्तरका कलाकारसँग जोड्नु रहेको आयोजकको भनाइ छ ।
रेड पाण्डा ग्रुप अफ कम्पनीजका सञ्चालक सञ्जय योगीले कार्यक्रममार्फत नेपाली संगीत र मनोरञ्जनलाई देशव्यापी रूपमा विस्तार गर्ने अभियान अघि बढाइएको जानकारी दिनुभयो । उहाँले सुर्खेत तथा आसपासका क्षेत्रका संगीतप्रेमी, युवा, विद्यार्थी र सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई सांगीतिक उत्सवको आनन्द लिन आग्रह गर्नुभएको छ ।


कर्णाली समय । १२ मंसिर २०८३, शुक्रबार २०:१९