कर्णाली : मन्त्रिमण्डलविहिन मुख्यमन्त्री, बिजनेसविहिन प्रदेशसभा

सुर्खेत — नेकपा नेता मंगलबहादुर शाही एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दासमेत कर्णाली प्रदेशमा मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा उनी एक्लै प्रदेश सरकार सञ्चालन गरिरहेका छन् ।

मन्त्रिपरिषद् गठन हुन नसक्दा त्यसको असर कर्णाली प्रदेशसभाका कामकारबाहीमा समेत देखिन थालेको छ । सत्ता साझेदार नेकपा र एमालेबीच मन्त्रालय बाँडफाँट लगायतका विषयमा टुंगोमा नपुग्दा सरकार विस्तार रोकिएको छ भने सरकारले आवश्यक ‘विजनेस’ दिन नसकेपछि मंगलबारका लागि तय गरिएको प्रदेशसभा बैठकसमेत आगामी भदौ २ गते दिउँसो तीन बजेसम्मका लागि स्थगित भएको छ ।

नेकपा एमालेको समर्थनमा साउन १२ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले भोलिपल्ट पद तथा गोपनीयताको शपथ लिएका थिए । ४० सदस्यीय प्रदेशसभामा नेकपाका १४ र एमालेका ९ सांसदको समर्थनमा शाही मुख्यमन्त्री बनेका हुन् । मन्त्रिपरिषद् विस्तारमा मुख्य विवाद मन्त्रालयको भागबण्डालाई लिएर छ । मुख्यमन्त्रीबाहेक छ मन्त्रालय रहेको कर्णालीमा एमालेले चार मन्त्रालयमा दाबी गरेको छ भने मुख्यमन्त्रीको दल नेकपाले तीन–तीन मन्त्रालय बाँडफाँट हुनुपर्ने अडान राखेको बताइएको छ । प्रदेशस्तरका नेताहरुले टुंगो लगाउन नसकेपछि एमाले र नेकपाले प्रदेशको सत्ता समिकरण सहजीकरणका सर्कुलर नै पठाएका छन् । सोही सर्कुलर अनुसार केही दिनभित्रै मन्त्रिपरिषद्लाई टुंगोमा पु¥याउने तयारी भइरहेको मुख्यमन्त्री निकट स्रोतले जनायो ।

मन्त्रिमण्डल विस्तारमा भएको ढिलाइप्रति सत्ता साझेदार एमाले असन्तुष्ट छ । नयाँ आर्थिक वर्ष सुरु भइसकेको अवस्थामा बजेट कार्यान्वयन, कार्यविधि निर्माण र विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने बेला मुख्यमन्त्रीले बेवास्ता गरिरहेकोमा एमालेको आरोप छ । सरकारले पूर्णता नपाउँदा प्रदेशसभा पनि विजनेसविहिन बनेको हो । प्रदेशसभा सचिवालयका अनुसार कार्यव्यवस्था समितिको बैठकले मंगलबारको बैठकमा छलफल तथा निर्णयका लागि पर्याप्त कार्यसूची नभएको निष्कर्ष निकालेपछि बैठक स्थगित गरिएको हो । प्रदेशसभामा विधेयक, प्रस्ताव, प्रतिवेदन वा अन्य संसदीय कार्यसूची सरकारले उपलब्ध गराउन नसकेपछि संसद् चलाउन कठिन भएको हो ।

प्रदेशसभा बैठक स्थगित हुनुको अर्को महत्वपूर्ण पक्ष मुख्यमन्त्रीले विश्वासको मत लिने विषयसँग जोडिएको छ । सोमबारको कार्यव्यवस्था समितिको बैठकमा मुख्यमन्त्री शाहीसमेत सहभागी भएका थिए । बैठकमा विश्वासको मत लिने विषयमा छलफल भएपनि उनले त्यसको मिति र प्रक्रियाबारे औपचारिक निर्णय गरिसकेका छैनन् ।
कर्णाली प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार सोमबार साँझ बसेको कार्यव्यवस्था समितिको बैठकले मंगलबारका लागि छलफल तथा निर्णय गर्नुपर्ने खासै विषय नभएको निष्कर्ष निकालेपछि बैठक सार्ने निर्णय गरेको हो । ‘प्रदेशसभामा विजनेस नै भएन, जसका कारण बैठक स¥यो,’ उनले भने, ‘संसद् चलाउन सरकारसँगै पर्याप्त तयारी छैन ।’

प्रदेशसभा बैठकमा विधेयक, प्रस्ताव, प्रतिवेदन वा अन्य संसदीय कार्यसूची प्रस्तुत गर्नुपर्ने हुन्छ । तर सरकारले आवश्यक ‘विजनेस’ उपलब्ध गराउन नसक्दा बैठक नै बस्न नसक्ने अवस्था आएको हो । सरकारको नेतृत्व मुख्यमन्त्री आफै सत्ता समीकरण र मन्त्रालय बाँडफाँटको व्यवस्थापनमा अल्झिँदा प्रदेशसभाको नियमित काम प्रभावित भएको र तत्काल मन्त्रिपरिषद् विस्तार गरी जनताका समस्यामा केन्द्रित हुन विपक्षी सांसदहरुले यसअघि नै ध्यानाकर्षण गराएका थिए । यसले कर्णाली प्रदेश सरकारको राजनीतिक प्राथमिकता र संसदीय तयारीमाथि प्रश्नसमेत उठाएको छ ।

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,