मुख्यमन्त्री शाहीको सय दिने रिर्पोट कार्डमा के छ ?

सुर्खेत— कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले पदभार ग्रहण गरेको सय दिनमा कानुन निर्माण, शासकीय सुधार, पूर्वाधार विकास, विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा भएका कामलाई आफ्नो कार्यकालका प्रारम्भिक उपलब्धिका रूपमा सार्वजनिक गरेका छन् ।

शनिबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी मुख्यमन्त्री शाहीले सय दिनको अवधिमा सरकारले गरेका कामको विवरण सार्वजनिक गरेका हुन् । उनले आफ्नो कार्यकालको सुरुवात सन्तोषजनक रहेको उल्लेख गर्दै आगामी दिनमा सरकारका काम थप प्रभावकारी हुने र कार्यकाल पूर्ण सफल बनाउने दाबी गरे ।

मुख्यमन्त्री शाहीका अनुसार यस अवधिमा प्रदेश सभामा पेस गर्न मन्त्रिपरिषदबाट पाँचवटा विधेयक स्वीकृत भएका छन् । योगदानमा आधारित निवृत्तिभरण कोष, सामयिक राजस्व संकलन, खानेपानी तथा सरसफाइ र स्याउ विकास बोर्ड स्थापना तथा सञ्चालनसम्बन्धी चारवटा नयाँ विधेयक तथा दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवद्र्धनसम्बन्धी संशोधन विधेयक स्वीकृत भएका हुन् । यसैगरी यातायात सेवा व्यवस्थित गर्न राइड सेयरिङ तथा सेल्फ ड्राइभसम्बन्धी नियमावली र शिक्षा क्षेत्रको सुधारका लागि २०८३ देखि २०९२ सम्मको शिक्षा क्षेत्र योजना स्वीकृत गरिएको छ ।

शासकीय सुधारतर्फ विभिन्न तालिम केन्द्रलाई कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानमा एकिकृत गरिएको छ । सरकारी कामकाजलाई प्रविधिमैत्री बनाउन एकीकृत सरकारी कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) लागू गरिएको छ । यातायात व्यवस्था कार्यालय सुर्खेतबाट एकल बिन्दु सेवा प्रवाह सुरु गर्नुका साथै सवारी दर्ता, नवीकरण र राजस्व भुक्तानीलाई प्रविधिमा आधारित बनाइएको मुख्यमन्त्रीको विवरणमा उल्लेख छ । लामो समयदेखि रोकिएको स्थानीय सेवाका कर्मचारीको पदपूर्ति तथा बढुवासम्बन्धी प्रक्रिया पनि अगाडि बढाइएको छ ।

पूर्वाधार विकासतर्फ दुईवटा पक्की सडक पुल र १७ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । रुकुम पश्चिमको शीतलपोखरी–झुल्खेत–चुनबाङ सडकको १८.४१७ किलोमिटर खण्ड निर्माण सुरु भएको छ । सुर्खेत, जुम्ला, हुम्ला र जाजरकोटका चारवटा सडक स्तरोन्नतिका लागि विश्व बैंकबाट कार्यसहमति प्राप्त भएको छ । कर्णाली प्रदेशको एकिकृत प्रशासनिक भवन निर्माण पनि सुरु भएको छ । जाजरकोट भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत तीनवटा विद्यालय भवन निर्माण सम्पन्न भएका छन् ।
मुख्यमन्त्रीले सार्वजनिक गरेको विवरणमा आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म प्रदेश सरकारले कुल बजेटको ७.२० प्रतिशत अर्थात् दुई अर्ब ५४ करोड ८७ लाख रुपैयाँ खर्च गरेको छ । यसमध्ये चालुतर्फ १२.२४ प्रतिशत र पुँजीगततर्फ ३.९३ प्रतिशत मात्रै खर्च भएको छ । त्यस्तै असोज २० गतेसम्म २४ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरिएको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि समन्वय र तयारी अघि बढाइएको छ । प्रतियोगिता मङ्सिर १६ गते उद्घाटन हुँदैछ भने सुर्खेत रङ्गशालाको निर्माण सम्पन्न भई प्रदेश सरकारलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका १४६ जना खेलाडीलाई पुरस्कार तथा प्रोत्साहन प्रदान गरिएको छ । दैलेख स्वास्थ्य सेवा कार्यालयलाई पाँच शय्याको डायलाइसिस सेवा सञ्चालन गर्न अनुमति दिइएको छ ।

विपद् व्यवस्थापनतर्फ रसुवाको भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा दुई करोड रुपैयाँ उपलब्ध गराइएको छ । कर्णालीका १० वटै जिल्लाका विपद् व्यवस्थापन कोषमा शव ढुवानी तथा किरिया खर्चका लागि प्रतिजिल्ला १५ लाख र राहत तथा उद्धार सामग्री खरिदका लागि प्रतिजिल्ला २० लाख रुपैयाँका दरले रकम निकासा गरिएको छ ।

त्यस्तै प्रदेश सरकारले वन्यजन्तुबाट क्षति बेहोरेका ५८ जनालाई १३ लाख ५८ हजार रुपैयाँ राहत वितरण गरेको छ । मुख्यमन्त्री शाहीले प्रदेशको आन्तरिक राजस्व वृद्धि, विकास आयोजनाको कार्यान्वयन, संघीयता सबलीकरण र सेवा प्रवाहलाई आगामी कार्यकालका प्राथमिकताका रूपमा अघि बढाउने बताएका छन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,