चार अंकले सुधारियो कर्णालीको बजेट खर्च

सुर्खेत– कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्ष (आव) मा विनियोजित कुल बजेटको ६४ दशमलव ८६ प्रतिशत खर्च गरेको छ । यो गत आवको तुलनामा चार प्रतिशतले बढी हो ।


गत आव २०८०/८१ मा ६० दशमलव ६८ प्रतिशत बजेट खर्च भएको थियो । चालू आव २०८१/८२ को अन्तिम भुक्तानी हुने दिन २५ असारसम्म प्रदेश सरकारले २० अर्ब ३० करोड ११ लाख ७१ हजार ७५७ रुपैयाँ खर्च गरेको जनाएको छ । प्रदेश सरकारले चालू आवमा ३१ अर्ब ४१ करोड बराबरको बजेट ल्याएको थियो । सो बजेटमा चालूतर्फ ९ अर्ब ३४ करोड १५ लाख अर्थात् ७५ दशमलव ५९ प्रतिशत बजेट खर्च हुँदा पुँजीगततर्फ १० अर्ब ९६ करोड १० लाख अर्थात ५८ दशमलब ६३ प्रतिशत बजेट खर्च गरेको छ । विगतमा विकास बजेट खर्च नहुने परिपाटीको अन्त्य गर्दै चालू आवमा ७० प्रतिशत खर्च पु¥याउने सरकारको लक्ष्य पनि पुरा भएन ।

प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आवमा ११ अर्ब बराबरको बजेट खर्च नभई प्रदेश सरकारको सञ्चित खातामा थोपरिएको छ । कर्णाली सरकारको खर्च कटौती विपरीत विकास बजेटको तुलनामा चालू खर्चमा वृद्धि भएको छ । चालु खर्च ९ अर्ब ३४ करोड १५ लाख पुग्दा पुँजीगततर्फ १० अर्ब ९६ करोड खर्च भएको छ । जसले चालू खर्च पनि पुँजीगतकै हाराहारीमा पुगेको देखाउँछ ।

मुख्यमन्त्री यामलाल कँडेलले आर्थिक वर्ष सुरु भएको चार महिनाभित्र ठूला योजनाहरू ठेक्का प्रक्रियामा प्रवेश भइसकेकाले विगतको तुलनामा चालू आवमा खर्चको दायरा बढ्ने दाबी गर्दै आएका थिए । बहुवर्षीय आयोजनामा रकम सुनिश्चित भई कार्यान्वयनको चरणमा गएकाले विकास खर्च बढ्ने उनको दाबी थियो । तर बहुवर्षीय स्रोत सुनिश्चितता प्रदान गरिएका आयोजनाहरू चालू आवमा सञ्चालित १० करोडभन्दा माथिका आयोजनाहरूको कार्यान्वयन अवस्था, भौतिक तथा वित्तीय प्रगति, समस्या, चुनौती र आगामी कार्यदिशा सम्बन्धमा तीव्र कार्यान्वयन सुनिश्चितताको वातावरण निर्माण गरिएको भनिए पनि बजेट कार्यान्वयनको पाटोले विगतकै निरन्तरता पाएको छ ।

मुख्यमन्त्री कँडेल विगतको तुलनामा जनशक्ति लगायतका प्राविधिक पक्ष सुधार भएको अवस्थामा बजेट कार्यान्वयन नहुनुमा असन्तुष्ट देखिन्छन् । उनले बजेट कार्यान्वयनमा सुधार ल्याउन प्रदेश मातहतका १० वटै जिल्लाका कार्यालय प्रमुखहरूलाई भेला गराएर लक्ष्यअनुसार अघि बढ्न निर्देशन दिएका थिए । कर्णाली प्रदेशका विषयगत मन्त्रालयले पनि अपेक्षाअनुरुप विकास बजेट कार्यान्वयनमा प्रगति हासिल गर्न सकेका छैनन् । प्रदेश सरकारले खर्च कटौतीको नीति अवलम्बन गरेपनि मन्त्रालयले चालू खर्चलाई प्राथमिकता दिएको पाइएको छ ।

कुन मन्त्रालयको कति खर्च ?
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको १० अर्ब ४६ करोड बजेटमध्ये थियो । खर्च भने ५ अर्ब ९९ करोड छ । जुन प्रतिशतका हिसाबले ५७ दशमलव ५१ प्रतिशत हो । चालू आवमा यस मन्त्रालयबाट ४ अर्ब ४३ करोड रकम फ्रिज भएको छ । सामाजिक विकास मन्त्रालयको कुल ५ अर्ब ७१ करोड बजेट थियो । उक्त मन्त्रालयले ४ अर्ब ९६ करोड बजेट खर्च गरेको छ । जुन ७१ दशमलव ९३ प्रतिशत हो । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको २ अर्ब ८६ करोड बजेटमध्ये २ अर्ब २८ करोड बजेट खर्च गरेको छ । यो प्रतिशतका हिसाबले हेर्दा ७९ दशमलव ५४ प्रतिशत हो ।

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको १ अर्ब ४९ करोडमध्ये ७२ दशमलब ६४ प्रतिशत बजेट खर्च भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई १ अर्ब ८६ करोड बजेट व्यवस्थापन गरिएकोमा १ अर्ब २९ करोड ३० लाख खर्च गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि विनियोजन भएको कुल २९ करोड ६४ लाखमध्ये २६ करोड ६९ लाख खर्च भएको छ ।

त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विनियोजित बजेटको ५४ दशमलव ४३ प्रतिशत कार्यान्वयन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका लागि १७ करोड ५३ लाख बजेट रहेकोमा खर्च १३ करोड ९७ लाख भएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,