जलवायु अनुकूल कृषि र जीविकोपार्जनमा सहासको पहल

सुर्खेत — कृषि उद्यमको विकास, किसानको आयआर्जन वृद्धि र जलवायु परिवर्तनका असर सामना गर्न स्थानीय समुदायको क्षमता बढाउने उद्देश्यले सहास नेपालले कर्णालीमा सञ्चालन गरेका कार्यक्रमबाट १ हजार ५४५ घरधुरी लाभान्वित भएका छन् । सुर्खेतको भेरीगंगा र वीरेन्द्रनगर नगरपालिका तथा दैलेखको महाबु गाउँपालिकामा सञ्चालित परियोजनाले कृषि प्रविधि, सिँचाइ, खानेपानी र वैकल्पिक जीविकोपार्जनका क्षेत्रमा काम गरेको छ ।

महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले कृषि उद्यम र किसानको आयस्तर वृद्धि गर्न परियोजना प्रभावकारी देखिएको बताउँदै यसको निरन्तरताका लागि आग्रह गरेका छन् । परियोजनाबाट प्राप्त उपलब्धिलाई दिगो बनाउन स्थानीय सरकार र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ । सहास नेपालले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेशस्तरीय सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रममा कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव चन्द्र रिसालले विकास सबैको साझा सरोकार भएको बताए । प्रदेश सरकारको नीति तथा कार्यक्रमका आधारमा दातृ निकायका परियोजना सञ्चालन हुने उल्लेख गर्दै उनले सरकारी निकायको पहुँच नपुगेका क्षेत्रमा दातृ निकाय कार्यक्रम परिचालन गरिने जानकारी दिए ।

साथै सचिव रिसालले कृषि क्षेत्रको प्रभावकारी विकास र किसानलाई प्राविधिक सेवा उपलब्ध गराउन स्थानीय तहले कृषि तथा पशुपन्छी शाखाका रिक्त दरबन्दी पूर्ति गर्नुपर्नेमा जोड दिए । जिल्ला कृषि विकास कार्यालयका निर्देशक चित्रबहादुर रोकायले सहास नेपालले गठन गरेका कृषक सञ्जालको दिगोपनाका लागि सरकारी निकाय र स्थानीय तहले सहकार्य गर्नुपर्ने विचार व्यक्त गरे । परियोजनाबाट बनेका समूह तथा सञ्जाललाई निरन्तर सक्रिय राख्न सके समुदायमा भएका उपलब्धि संस्थागत गर्न सकिने उनको भनाइ थियो । अनुभव आदानप्रदानमा सामुदायिक बिउ बैंकबारे लिबर्डका वरिष्ठ कार्यक्रम अधिकृत प्रतिक अधिकारी तथा आगामी सहकार्यका क्षेत्रहरुका सम्बन्धमा कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत बिमलाकुमारी खनालले प्रस्तुतीकरण गरेका थिए ।

६२ कृषक समूहमा ९३ प्रतिशत महिला
सहास नेपालले प्रस्तुत गरेको विवरणअनुसार तीन स्थानीय तहमा सञ्चालित परियोजनाअन्तर्गत ६२ कृषक समूहमा १ हजार ५४५ घरधुरी आबद्ध छन् । ती समूहमा ९३ प्रतिशत महिला सदस्य रहेको संस्थाले जनाएको छ। दैलेखको महाबु गाउँपालिकामा ३५, वीरेन्द्रनगर नगरपालिकामा १४ र भेरीगंगा नगरपालिकामा १३ कृषक समूह गठन तथा परिचालन गरिएको छ ।

परियोजनाले जलवायु उत्थानशील जीविकोपार्जन, खाद्य तथा पोषण सुरक्षा, कृषि उद्यमशीलता र विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखेको थियो । किसानलाई जलवायु परिवर्तनका असर सामना गर्दै उत्पादन तथा आम्दानीका अवसर विस्तार गर्न सघाउने उद्देश्यले विभिन्न प्रविधि र सीप विकासका कार्यक्रम सञ्चालन गरिएको थियो ।
किसानलाई जलवायु अनुकूल कृषि प्रविधि, एकीकृत शत्रुजीव व्यवस्थापन, झोलमोल मल निर्माण तथा पशुपन्छी व्यवस्थापनसम्बन्धी तालिम दिइएको बताइएको छ । विवरणअनुसार १ हजार १८० सदस्यले जलवायु उत्थानशील कृषिसम्बन्धी तालिम र १ हजार ४८३ सदस्यले जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी तालिम लिएका थिए । त्यस्तै, १४८ सदस्यलाई खोज तथा उद्धार र प्राथमिक उपचारसम्बन्धी तालिम प्रदान गरिएको छ ।

२२ हेक्टर जमिनमा सिँचाइ, १ हजार ५० जनालाई खानेपानी
कृषि उत्पादनका लागि आवश्यक सिँचाइ सुविधा विस्तार गर्न परियोजनाले सौर्य लिफ्ट सिँचाइ, सिँचाइ पोखरी, कुलो तथा माटो–सिमेन्ट पोखरी निर्माण र सुधारमा सहयोग गरेको छ । यसबाट करिब २२ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको संस्थाको विवरणमा उल्लेख छ । त्यसैगरी, प्लास्टिक घर निर्माण, वर्षाको पानी सङ्कलन पोखरी, गँड्यौला मल उत्पादन, गोठ तथा भकारो सुधार, सुधारिएको चुलो र घरबगैँचाजस्ता प्रविधि प्रवद्र्धन गरिएको छ । परियोजनाअन्तर्गत १५० वटा पानी सङ्कलन पोखरी निर्माण गरिएको संस्थाले जनाएको छ ।

खानेपानीको पहुँच विस्तारतर्फ खानेपानी प्रणाली निर्माण तथा पुनःस्थापनाबाट २३३ घरधुरीका १ हजार ५० जनाले स्वच्छ खानेपानी सुविधा पाएका छन् । यसले पानीको व्यवस्थापनमा लाग्ने समय घटाउनुका साथै घरपरिवारको स्वास्थ्यमा सुधार ल्याउन सहयोग गरेको संस्थाको दाबी छ । कृषिका अतिरिक्त आयआर्जनका विकल्प विस्तार गर्न १७५ घरधुरीलाई गैरकृषि जीविकोपार्जनका गतिविधिमा सहयोग गरिएको छ भने ५० युवालाई सीपमूलक तालिम प्रदान गरिएको छ । समुदायको आवश्यकता र स्थानीय स्रोतसाधनअनुसार जीविकोपार्जनका विकल्प विस्तार गर्ने कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।

उपलब्धिलाई दिगो बनाउने चुनौती
कार्यक्रममा भेरीगंगा नगरपालिकाका कृषि शाखा प्रमुख सुरज बिसी, महाबु गाउँपालिकाका कृषि शाखा प्रमुख सागर भुषाल र वीरेन्द्रनगर नगरपालिकाका कृषि शाखा प्रमुख हेमराज केसीले आआफ्नो पालिकामा सहास नेपालसँगको सहकार्यबाट भएका काम र उपलब्धिबारे अनुभव प्रस्तुत गरेका थिए । किसानहरूले पनि परियोजनाबाट प्राप्त सहयोग र सिकाइबारे अनुभव सुनाएका थिए ।

सहास नेपालले सन् २००९ मा तत्कालीन कालिकोटबाट काम सुरु गरेको हो । संस्थाले कर्णालीका विभिन्न जिल्लामा कृषि तथा ग्रामीण उद्यमशीलता, जलवायु उत्थानशील जीविकोपार्जन, खाद्य सुरक्षा र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको छ । परियोजनाबाट निर्माण भएका पूर्वाधार, विकसित कृषि सीप र गठन गरिएका कृषक सञ्जाललाई दीर्घकालसम्म सञ्चालनमा राख्नु अबको महत्त्वपूर्ण पक्ष हो। त्यसका लागि स्थानीय सरकार, कृषि विकास कार्यालय, प्रदेश सरकार र समुदायबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,