
सुर्खेत- कर्णाली प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. भीमबहादुर खत्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आइतबार मुख्यमन्त्री मंगलबहादुर शाहीले उनलाई शपथ गराएका हुन् ।
जुम्लाको तातोपानी गाउँपालिका निवासी खत्रीलाई प्रदेश प्रमुख यज्ञराज जोशीले योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका थिए । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । प्रदेशको नीति, योजना तथा विकासका प्राथमिकता निर्धारणमा भूमिका खेल्ने योजना आयोग गत साउनदेखि नेतृत्वविहीन थियो । गत १२ साउनमा नेकपा एमाले नेतृत्वको सरकार परिवर्तन भएपछि उपाध्यक्ष पद रिक्त बनेको थियो ।
को हुन् डा. खत्री ?
डा. खत्री कृषि वैज्ञानिक, बागवानीविद् तथा प्राध्यापक हुन् । विशेषगरी आलुबालीको अनुसन्धान, उन्नत जात विकास, मूल बीउ उत्पादन प्रणालीको स्थापना र बागवानी क्षेत्रको विकासमा उनी चार दशकदेखि सक्रिय छन् । वि.सं. २०१४ फागुन ३ मा जन्मिएका खत्रीले अस्ट्रेलियाको तस्मानिया विश्वविद्यालयअन्तर्गत कृषि विज्ञान अध्ययन संस्थानबाट कृषिमा विद्यावारिधि गरेका छन् । उनले फिलिपिन्सको बेङ्गेट स्टेट विश्वविद्यालयबाट बागवानीमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुर क्याम्पसबाट कृषिमा स्नातक गरेका हुन् ।
नेपाल कृषि अनुसन्धान परिषद्मा नेतृत्वदायी भूमिकामा रहेर उनले अनुसन्धान योजना निर्माण, कार्यान्वयन, समन्वय तथा अनुगमनमा काम गरेका छन् । परिषद्अन्तर्गत देशभर रहेका ६१ अनुसन्धान केन्द्रका अनुसन्धान तथा प्रशासनिक कार्यक्रमको योजना निर्माण, समन्वय र अनुगमनको केन्द्रीय नेतृत्व गरेको अनुभव उनीसँग छ ।
सन् १९९५ देखि २०१६ सम्म राष्ट्रिय आलु अनुसन्धान कार्यक्रममा वरिष्ठ वैज्ञानिकका रूपमा कार्यरत खत्रीले आलुको जात सुधार, मूल बीउ उत्पादन, वास्तविक आलुको बीउ प्रविधि प्रवद्र्धन तथा किसान उपयोगी प्रविधिको विकासमा योगदान गरेका छन् । सन् २०१६ देखि २०१७ सम्म राष्ट्रिय आलु अनुसन्धान कार्यक्रमको संयोजक रहेका उनले आलु अनुसन्धान, उन्नत जात विकास र मूल बीउ उत्पादनसम्बन्धी कार्यक्रमको नेतृत्व गरेका थिए ।
त्यसअघि सन् २०१५ देखि २०१६ सम्म उनले बागवानी अनुसन्धान केन्द्र, दैलेखको प्रमुखका रूपमा काम गरेका थिए । कृषि विभागअन्तर्गत बालीका रोग पहिचान तथा नियन्त्रण र रौतहट जिल्ला कृषि विकास कार्यालयको प्रमुखको जिम्मेवारीसमेत सम्हालेका खत्रीसँग कृषि विकास कार्यक्रम सञ्चालन, नीतिगत परामर्श र परियोजना मूल्याङ्कनको अनुभव छ ।
उनी सन् २०२१ देखि त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा बागवानी विषयका प्राध्यापकका रूपमा कार्यरत छन् । स्नातकोत्तर तथा विद्यावारिधि तहका शोधार्थीलाई अध्यापन, अनुसन्धानमा मार्गदर्शन र शोध निर्देशन गर्दै आएका उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नलमा आलु, तरकारी, फलफूल र जलवायु अनुकूलनसम्बन्धी दुई दर्जनभन्दा बढी अनुसन्धानात्मक लेख प्रकाशित गरेका छन् ।
खत्रीले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) मा विज्ञ परामर्शदाताका रूपमा कोभिड–१९ महामारीपछिको सामाजिक–आर्थिक पुनरुत्थान तथा कृषि उत्पादन चक्र प्रवद्र्धनसम्बन्धी काम गरेका थिए । उनी कर्णाली प्रदेश मन्त्रिपरिषद्बाट गठित ‘बजेट खर्च तथा कार्यान्वयन कार्यविधि छानबिन समिति’का संयोजकसमेत रहिसकेका छन् ।
नेपाल सरकारको कर्णाली अञ्चल विशेष कृषि विकास कार्यक्रम तथा विश्व बैंकको सहयोगमा सञ्चालित कृषि तथा खाद्य सुरक्षा आयोजनामा संयोजकको भूमिका निर्वाह गरेका उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाका कृषि, गरिबी निवारण र खाद्य सुरक्षा परियोजनाको स्वतन्त्र मूल्याङ्कनमा पनि काम गरेका छन् ।
नेपाल कृषि वैज्ञानिक समाज, एग्रिकल्चर कन्सन्र्ड सोसाइटी नेपाल र नेपाल बागवानी समाजका आजीवन सदस्य खत्रीले कृषि अनुसन्धान तथा प्राविधिक अध्ययनका क्रममा नेपालका ६४ जिल्लाको स्थलगत भ्रमण गरेका छन् ।



कर्णाली समय । २५ आश्विन २०८३, आईतवार १६:०६