सुर्खेत- हेम्पल फाउण्डेशनको आर्थिक सहयोग, स्ट्रीट चाइल्ड अफ नेपालको प्राविधिक सहयोग र आसमान नेपालको साझेदारीमा कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा कार्यान्वयन भइरहेको बिल्ड द बेसिक परियोजना अन्तर्गत प्रदेश स्तरीय परियोजना अपडेट एवं सिकाइ आदान प्रदान बैठक मंगलबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
परियोजना अन्र्तगत भएका गतिविधि, उपलब्धी, सिकाइ र आगामी योजनाका बारेमा सरोकारवालालाई जानकारी प्रदान गर्ने उद्देश्यले सामाजिक विकास मन्त्रालयसंगको समन्वयमा गरिएको बैठकमा शिक्षासंग सम्बन्धित सरोकारवाला व्यक्तिहरुको सहभागिता रहेको थियो । बैठकमा परियोजना अन्र्तगत सम्पन्न गतिविधि, उपलब्धी र आगामी योजनाका बारेमा स्ट्रीट चाइल्ड अफ नेपालका कर्णाली फोकल पर्सन जया कोइरालाले प्रस्तुतीकरण गरेकी थिइन् । जसमा परियोजना अन्तर्गत विद्यालयहरुमा सिकाइ स्तरमा आधारित शिक्षण विधिबाट कक्षा सञ्चालन, सल्यानको छत्रेश्वरी गाउँपालिकामा समावेशी शिक्षाका लागि अपांगता भएका बालबालिकाको प्रारम्भिक पहिचान, सम्भावित कार्यगत सीमितता र कठिनाइ पत्ता लगाउन स्वास्थ्य शिविर सञ्चालन र थप उपचारका लागि समन्वय सहकार्य, तथा पालिका स्तरीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठनमा पनि सहजीकरण लगायतको कार्य भएको प्रस्तुत गरिएको थियो ।
छलफलका क्रममा सरोकारवालाहरुले विद्यार्थीको सिकाइ स्तर सुधारका लागि सिकाइ स्तरमा आधारित शिक्षण विधि प्रभावकारी देखिएको बताए । उनीहरुले शिक्षासंग भएका कार्यहरुलाई सफ्टवेयरमा प्रविष्टीका लागि पनि समन्वयात्मक भूमिका निभाउन सके उपलब्धी प्रभावकारी हुनेमा जोड दिए । बैठकमा सामाजिक विकास मन्त्रालयका सचिव दिर्घराज पोखरेल, मानव संशाधन विकास केन्द्रका निर्देशक धर्मजित शाही, शिक्षा विकास निर्देशनालयका निर्देशक दिपा हमाल, शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतका प्रमुख महेशदत्त देवकोटा, स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रबिन खड्का लगायतको उपस्थिति थियो ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यालय शिक्षा क्षेत्र योजना अन्तर्गत विकास साझेदार संस्थाहरूको सहकार्यमा विकास गरिएको सिकाइ आपुरण तथा दु्रत सिकाइ योजनामा सहयोग गर्ने गरी सञ्चालनमा गरिएको यस परियोजना दोस्रो वर्ष अन्तर्गत सल्यानको छत्रेश्वरी र दार्मा तथा जाजरकोटको शिवालय गाउँपालिकामा सञ्चालित छ । परियोजना अन्तरगत तीन वटा पालिकाको १०५ वटा बिद्यालयमा विद्यालयमा सिकाइ स्तरमा आधारित शिक्षण पद्धति (ट्राल) कक्षाहरु सञ्चालित छ । कक्षा ३ देखि ५ कक्षा सम्म नेपाली र गणित विषय शिक्षण गर्ने दुई सय ६८ जना शिक्षकहरुलाई सुरुवातमा ८ दिने तालिम प्रदान गरी कक्षाहरु चलिरहेका छन् । परियोजना अन्तरगत सुरुमा विद्यार्थीको अवस्था पहिचान गरी समूह विभाजन गरी विद्यार्थीको स्तर अनुसारका गतिविधिहरु गराउने गरिन्छ । यस विधि अन्तर्गत रहेका नेपाली र गणित विषयको शिक्षण गरिन्छ । कक्षा सञ्चालन भएकादेखि करिब ४५ दिनको अन्तरमा मध्य मुल्याकंन र ९० दिनपछि अन्तिम मुल्यांकन गरी बिद्यार्थीहरुको सिकाइ स्तर परिवर्तन भए नभएको मापन गर्ने गरिन्छ ।
यो परियोजनाले मधेस र कर्णाली प्रदेशमा विद्यार्थीहरूको सिकाइ क्षतिलाई आपूरण गर्दै विद्यार्थीको सिकाइ स्तरलाई तीव्रता दिन तथा निरन्तर सिकाइ कायम राख्न शिक्षकहरूको क्षमता अभिवृद्धिसँगै तथ्यमा आधारित पैरवी र योजना निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै कर्णाली र मधेश प्रदेश अन्र्तगत ३६ हजार बालबालिकाहरूको सिकाइमा भएको क्षतिलाई आपूरण गर्न नेपालका ६ सय सामुदायिक विद्यालयहरूमा १८ सय शिक्षकहरू मार्फत विद्यार्थीहरूको आधारभूत भाषिक तथा गणितीय सिप सुधारका लागि परियोजनाले मद्दत गर्नेछ ।


कर्णाली समय । २३ पुष २०८१, मंगलवार २०:४९