घनश्यामको छलाङ

सुर्खेत– २०५६ सालमा विजया मावि दुल्लूबाट एसएलसी उत्र्तीण भएपछि घनश्याम भण्डारी उच्च शिक्षा पढ्न काठमाडौं हानिए । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा भूगोल, संगीत र पत्रकारिता विषय रोजे । आईए पास भए ।

स्नातक तहमा पढाइ शुरु गरिरहेका बेला उनले ठूलो ब्रजपात बेर्होनुप¥यो । बुवा पूर्णबहादुर भण्डारीलाई तत्कालिन सशस्त्र विद्रोही माओवादीले अपहरण गरी वडलम्जीको बालेश्वरमा लिएर हत्या गरे । २०५९ असोज १२ को घटना हो यो । पूर्णबहादुर नेपाली कांग्रेस दैलेख क्षेत्र नं २ का सभापतिका साथै दुल्लू गाविसका अध्यक्ष थिए । क्याम्पस पढ्न काठमाडौं हानिएका घनश्याम बुवाको हत्यापछि घर परिवार सम्हाल्नुपर्ने अवस्थामा पुगे । उनकै काँधमा तीन भाईबहिनी हुर्काउनुपर्ने, पढाउनुपर्ने परिस्थिति सिर्जना भयो ।

पूर्णबहादुर राजनीतिसंगै व्यवसाय गर्थे । दुल्लू भेग (माझखण्ड) मा इमान्दार छविका नेता, समाजसेवी र व्यवसायीको नाम लिनुपर्दा सबैको जिब्रोमा यही नाम झुण्डिन्थ्यो । बुवाको हत्यापछि घनश्यामको पढाइ रोकियो ।

दुल्लू बजारमा पसल थियो । पसलको नाम पूर्ण तथा कृष्ण वस्त्रालय । वस्त्रालय भनेपनि उनको पसलमा खाद्यान्न, लत्ताकपडादेखि भाँडाकुँडाका सबै सामान पाइन्थ्यो । केही समय पसल हेरे । माओवादी गतिविधि बढेपछि पसलमा भएका सामान पनि सस्तोमै बेचेर काठमाडौं लागे । काठमाडौंमा नागरिक आवाज अभियान चलेको थियो । जसले शान्तिको वकालत गथ्र्यो । घनश्याम पनि यस अभियानमा जोडिए । अभियानमा खटिएबापत उनलाई पकेट खर्चसम्म जुट्थ्यो । खर्च अभावले पढाइ रोकिएपछि पत्रकारितामा आर्कषित भए । ‘चुली मालिका’ साप्ताहिक प्रकाशन गरे । दुल्लू माझखण्डमा एकातिर माओवादी ज्यादतीले उग्र रुप लिँदै थियो अर्कोतिर माओवादी ज्यादतीविरुद्ध स्थानीयबासी संगठित हुँदै थिए । ठाउँ–ठाउँमा दैनिकजसो स्थानीयबासी र माओवादीबीच झडप हुन थाल्यो । स्थानीयले महिला र बालबालिकालाई प्रतिकारको पहिलो लहरमा उतारे । २०६१ कात्तिक–मंसिरमा भएको दुल्लू विद्रोहले राष्ट्रिय÷अन्र्तराष्ट्रिय चर्चा बटुल्यो । दुल्लूबाट सुरु भएको यो अभियान माझखण्डका १३ गाविसका बासिन्दा सहभागी बने । कात्तिक २८ देखि दिनदिनै जुलुस निकालियो । त्यतिबेला अधिकांश महिला, बालबालिकाका हातमा भाला र लौरी देखिन्थे । दुल्लू विद्रोहका कारण माओवादी अन्ततः जनतासंग झुक्यो । जनतामाथि दमन गर्ने नेतृत्वलाई पार्टीले कारबाही ग¥यो । माओवादीले जनताको मन जित्ने नीति अख्तियार ग¥यो । दुल्लू क्रमशः शान्त बन्दै गयो ।

अनि फर्किए दुल्लू
दुल्लू विद्रोहपछि घनश्याम पनि घर फर्किए । सामाजिक सेवा केन्द्र (सोसेक) मा तीन महिना जागिर गरे । असल शासन क्लबसंग जोडिए । क्लबको जिल्ला समन्वय समितिको सचिव भए । असल शासन परियोजनामा झण्डै चार वर्ष फिल्ड कार्यक्रम संयोजक रुपमा काम गरे । अशल शासन क्लबसंग जोडिएपछि उनी सदरमुकाम दैलेखबजारमा नियमित बस्न थाले । पत्रकारिता र सुशासनको क्षेत्रमा आफूलाई बढी क्रियाशिल गराए । नेपाल प्रेस युनियन दैलेखको संस्थापक सभापतिका साथै पत्रकार महासंघको जिल्ला सचिव भए । जिल्लाकै पहिलो पत्रिका ‘धमाका साप्ताहिक’को संस्थापक टिममा रहेर काम पनि गरे । त्यसको केही समयपछि उनले आफ्नै प्रकाशनमा ‘द्रोणाचल साप्ताहिक’ शुरुवात गरे । द्रोणाचल ४–५ वर्ष जति निरन्तर प्रकाशित भयो । पछिल्ला वर्ष यो पत्रिका बन्द छ । द्रोणाचल प्रकाशनसंगै मिरेष्ट नेपालको जिल्ला प्रतिनिधिका रुपमा काम गरे । त्यसपछि ‘मध्यपहाड’ मासिक म्यागजिन र दुल्लू एफएम पनि सञ्चालन गरे । द्रोणाचल शिक्षा क्याम्पसको सञ्चालक समिति सदस्य बने ।

घनश्यामले पत्रकारिता, सुशासनको अभियानमार्फत दैलेखी जनताको सेवामा लामो समय व्यतित गरे । जनताका समस्या, गुनासो समाधानको पहल गर्नेदेखि गाउँबाट सदरमुकाममा खान बास नपाउनेको सहारा बन्न पुगे, घनश्याम । सदरमुकाममा ‘शान्ति भान्सा’ चलाए । अहिलेजस्तो होटल थिएनन्, मानिससंग पैसा पनि हुन्थेन । पश्चिमको पीपलकोट पूर्वको जगनाथ– कट्टी, उत्तरको काशीकाँधदेखि दक्षिणको लालीकाँडासम्मका सर्वसाधारण उनकै भान्सामा निःशुल्क खान पाउँथे । ‘शान्ति भान्सा’मा भात, दाल, सिन्की मात्र पाक्थ्यो । मासु, तरकारी खान मन लागे पाहुनाले आफै ल्याउनुपथ्र्यो । त्यसको खर्च संकलन घनश्यामले नै म्यानेज गर्थे ।

खुला राजनीतिमा प्रवेश

२०६७ मा भएको कांग्रेसको १२ औं र २०७२ मा भएको १३ औं अधिवेशनमा घनश्याम प्रतिष्पर्धाबाट क्षेत्रीय सभापति चुनिए । १२ औं अधिवेशनमा जग्गेबहादुर शाही, भुपेन्द्रजंग महत, सुरतजंग शाहीसंग उनको प्रतिष्पर्धा भयो । उनीहरु तीनै जना कांगे्रसका जिल्लाका प्रभावशाली नेताको नजिकका उम्मेदवार थिए । तर घनश्याम निकट प्रतिष्पर्धीभन्दा तीन गुना बढी मत ल्याएर विजयी बने । १३ औं अधिवेशनमा पुनः उनी क्षेत्रीय सभापतिमा उम्मेदवार बन्न पुगे । मातृकाप्रसाद रिजाल र नवराज शाहीलाई उछिन्दै दोस्रोपटक सभापति चुनिए । दुई कार्यकाल क्षेत्रीय सभापतिका रुपमा पदेन जिल्ला कार्य समिति सदस्य र महाधिवेशन प्रतिनिधि भएपछि घनश्यामको झन् पार्टीमा पकड बढ्न थाल्यो । युवालाई कांग्रेसको राजनीतिमा प्रोत्साहित गर्दै उनले थुप्रै गाउँ कार्य समितिमा आफ्ना समकक्षीलाई उम्मेदवार बनाए र जिताएपनि । यसले गर्दा उनलाई कांग्रेस दैलेखको राजनीतिमा शक्तिशाली बन्न मद्दत पु¥यायो ।

१४ औं महाधिवेशनमा संस्थापन खेमाको तर्फबार्ट उनी जिल्ला कार्य समितिको सभापति पदमा उम्मेदवार बने । १९ मतान्तरले मणिराम रेग्मीसंग पराजित हुन पुगे । सभापतिमा पराजित भएपनि दैलेखमा संस्थापन (शेरबहादुर देउवा) खेमाको भरपर्दो नेताका रुपमा घनश्याम स्थापित भएका छन् । चतुर, मिलनसार र प्रष्ट स्वभावका उनी सरल जीवनशैलीमै रहन रुचाउँछन् । विपक्षीहरुसंग पनि सहज प्रस्तुत हुने क्षमता राख्छन् ।
मेयरबाट माननीय

२०७४ को पहिलो स्थानीय तह निर्वाचनमा दुल्लू नगरपालिकाको प्रमुख पदका लागि घनश्याम पार्टी कमिटीबाट सर्वसम्मत सिफारिस भएका थिए । एमालेको गढ मानिएको दुल्लू नगरपालिकामा उनी विजयी बने । जबकी २३ सदस्यीय कार्यपालिकामा एमालेका १८ र कांग्रेसका पाँच जनामात्रै सदस्य थिए । घनश्यामले एमालेका प्रतिनिधिलाई विश्वासमै लिएर कार्यकाल सफलतापूर्वक बिताए । नगर प्रमुख हुँदा कोभिडका कारण सोचेजस्तो काम गर्न नसकेपनि केही महत्वपूर्ण कामको शुरुवात भएको उनी दाबी गर्छन् ।

२०७९ को आम निर्वाचनमा उनको नाम प्रदेशसभा सदस्यमा सिफारिस भयो । गठबन्धनमा कुन पार्टीले लैजान्छ टुंगो थिएन । तैपनि टिकट पाए जितिने आत्मविश्वास थियो । गठबन्धनका साझा उम्मेदवार बन्नु उनको जीतको प्रमुख आधार बनेको थियो । प्रमुख प्रतिष्पर्धी एमालेका तिलक रिजाललाई एक हजार ३०५ मतान्तरले पराजित गर्दै ३९ वर्षको उमेरमा प्रदेश सांसदको यात्रा तय गरे । त्यो पनि बुवा पूर्णबहादुर भण्डारीका सदावहार प्रतिष्पर्धीलाई हराएर । पूर्णबहादुर र तिलकबीचको हारजित बराबर भएपनि छोरा घनश्यामले पहिलो प्रयासमै जीत निकाल्न सफल भए ।

घनश्याम अहिले कर्णाली प्रदेशसभाका चार विषयगत समितिमध्ये सामाजिक विकास समितिको सभापति छन् । गत आइतबार भएको निर्वाचनमा सर्वसम्मत सभापति चयन भएसंगै अब उनी अहिले समितिको कार्ययोजना बनाउन व्यस्त छन् । “कर्णालीमा शिक्षा, स्वास्थ्य र रोजगारी समस्या हो भने कृषि, पशुपालन र सहकारी अवसर हो,” घनश्याम भन्छन्, “यी ६ वटै क्षेत्रको कार्यक्षेत्र हाम्रै समितिमा पर्दछ । यिनै चुनौतिलाई अवसरमा बदलेर समस्या समाधान गर्नुपर्छ जस्तो लाग्दछ ।”