
काठमाडौं- दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा छलफल गरिएको छ । प्रतियोगिताको तयारी, व्यवस्थापन, खेलस्थल र सञ्चालनसँग सम्बन्धित विविध विषयमा राखेपका पदाधिकारी, युवा तथा खेलकुद मन्त्रालयका प्रतिनिधि, कर्णाली प्रदेश खेलकुद परिषद्का पदाधिकारी तथा विभिन्न खेलका राष्ट्रिय संघका प्रतिनिधिबीच छलफल भएको हो ।
बैठकमा राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य–सचिव रामचरित्र मेहता, युवा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्दी व्यञ्जनकार र कर्णाली प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालसहितको उपस्थिति थियो ।
दसौं राष्ट्रिय खेलकुदमा समावेश ३२ खेलका राष्ट्रिय संघका पदाधिकारी, विषयगत उपसमितिका संयोजक तथा सचिव र विषयगत उपसमितिका सचिवहरूसँग प्रतियोगिताको तयारीका विभिन्न पक्षमा छलफल गरिएको थियो । बसोबास व्यवस्थापन उपसमितिका संयोजक प्रमोद हमालले बैठकमा प्रतियोगितालाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक तयारी, खेल व्यवस्थापन तथा सम्बन्धित निकायबीचको समन्वयलगायत विषयमा छलफल भएको जानकारी दिए ।
आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुँदैछ । प्रतियोगिता निर्धारित समयमै सञ्चालन गर्न खेलस्थलको व्यवस्थापन, खेल सामग्री, खेलाडीको सहभागिता तथा प्रतियोगितासँग सम्बन्धित अन्य तयारीलाई तीव्र पारिएको हमालको भनाई छ । प्रतियोगिताका लागि खेलस्थल (भेन्यु) समेत अन्तिम रूप दिइएको छ ।



कर्णाली समय । २३ आश्विन २०८३, शुक्रबार ११:०९