
सुर्खेत — मध्यपश्चिम विश्वविद्यालयका विभिन्न ग्र्याजुएट स्कुल तथा केन्द्रीय विभागमा नवनियुक्त पदाधिकारीलाई नियुक्तिपत्र वितरण गरिएको छ। विश्वविद्यालयको कार्यकारी बैठकको निर्णयअनुसार भदौ २४ गतेदेखि लागू हुने गरी नवनियुक्त पदाधिकारीलाई नियुक्तिपत्र वितरण गरिएको हो। नियुक्तिपत्र वितरण कार्यक्रम उपकुलपति इ.डा. राजन सुवालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा रजिष्ट्रार, डिन, कार्यकारी निर्देशक तथा केन्द्रीय कार्यालयका कर्मचारीको उपस्थिति थियो।
रजिष्ट्रार डा. सुदीप ठकुरीले कार्यक्रमको परिचय दिँदै नवनियुक्त पदाधिकारीलाई बधाई दिए। उपकुलपति डा। सुवालले नियुक्तिपत्र वितरण गर्दै बधाई तथा निर्देशनात्मक मन्तव्य राखे।
ग्र्याजुएट स्कुल अफ एजुकेसनअन्तर्गत अंग्रेजी शिक्षा केन्द्रीय विभागको विभागीय प्रमुखमा कल्पना पौडेल नियुक्त भएकी छन्। पाठ्यक्रम तथा मूल्याङ्कन, शैक्षिक योजना तथा व्यवस्थापन, गणित, शिक्षा विज्ञान र विशेष आवश्यकता शिक्षा केन्द्रीय विभागको विभागीय प्रमुखमा कमल बहादुर सिंह तथा स्वास्थ्य तथा जनसंख्या शिक्षा केन्द्रीय विभागको विभागीय प्रमुखमा विक्रमबहादुर खड्का नियुक्त भएका छन्।
ग्र्याजुएट स्कुल अफ ह्युमानिटिज एन्ड सोसल साइन्सेसअन्तर्गत सामाजिक कार्य, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको विभागीय प्रमुखमा त्रिभुवन विसी नियुक्त भएका छन्। ग्र्याजुएट स्कुल अफ म्यानेजमेन्टअन्तर्गत व्यवस्थापन केन्द्रीय विभागको विभागीय प्रमुखमा डा हरेन्द्र केसी नियुक्त भएका छन्।
त्यस्तै, ग्र्याजुएट स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीअन्तर्गत जीव विज्ञान तथा रसायनशास्त्र केन्द्रीय विभागको विभागीय प्रमुखमा डा दिक्पालकुमार शाही र भौतिकशास्त्र तथा गणित केन्द्रीय विभागको विभागीय प्रमुखमा डा तारणीप्रसाद यादव नियुक्त भएका छन्। ग्र्याजुएट स्कुल अफ लअन्तर्गत बीएएलएलबी कार्यक्रम निर्देशकमा खगेन्द्र रावल र अनुसन्धान निर्देशनालयको कार्यकारी निर्देशकमा ललितजंग शाही नियुक्त भएका छन्।



कर्णाली समय । २४ भाद्र २०८३, बुधबार २१:५८