काठमाडौं- खेलकुद पोसाक तथा सामग्री उत्पादक ब्रान्ड केल्मी नेपालले रसुवा र नुवाकोटका बाढी प्रभावित नागरिकका लागि करिब डेढ करोड रुपैयाँ बराबरका नयाँ कपडा उपलब्ध गराउँदै ‘क्लोथ बैंक’ सञ्चालन गर्ने भएको छ ।
केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेका अनुसार आगामी १५ दिनभित्र रसुवा र नुवाकोटमा क्लोथ बैंक सञ्चालनमा ल्याइनेछ । बैंकमार्फत विपदबाट प्रभावित नागरिकलाई आवश्यकताअनुसार नयाँ कपडा निःशुल्क उपलब्ध गराइनेछ । राहत सामग्री जथाभावी वितरण गर्दा वास्तविक पीडितसम्म सहयोग नपुग्ने अवस्था आउन सक्ने भन्दै कम्पनीले नेपाल सरकारबाट तयार पारिएको प्रभावित व्यक्ति तथा परिवारको आधिकारिक विवरणका आधारमा क्लोथ बैंकमार्फत सामग्री वितरण गर्ने तयारी गरेको हो ।
“राहत सामग्री प्रत्यक्ष रूपमा वितरण गर्नुभन्दा नेपाल सरकारले तयार पारेको प्रभावित व्यक्ति तथा परिवारको आधिकारिक सूचीका आधारमा क्लोथ बैंकमार्फत वितरण गर्ने व्यवस्था मिलाउँदैछौं,” न्यौपानेले भने, “यसबाट वास्तविक पीडितसम्म मात्रै सहयोग पुग्ने र राहत वितरणमा पारदर्शिता कायम हुने हाम्रो उद्देश्य हो ।”
राहत कोषमा १५ लाख ५ हजार ५ सय ५५
केल्मी नेपालले बाढी, पहिरोलगायत प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ जम्मा गरिसकेको छ । कम्पनीले आर्थिक सहयोगसँगै प्रभावित नागरिकका लागि प्रत्यक्ष रूपमा आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले क्लोथ बैंक सञ्चालन गर्न लागेको जनाएको छ । करिब डेढ करोड रुपैयाँ बराबरका नयाँ कपडा क्लोथ बैंकमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
केल्मी नेपालका लागि यसपटकको विपत्ति राहत अभियान थप व्यक्तिगत क्षतिसँग पनि जोडिएको छ । बाढीका कारण नुवाकोटको त्रिशूलीस्थित कम्पनीको सोरुम पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।सोरुममा क्षति पुगेपछि कम्पनीले विदुर वा आसपासको क्षेत्रमा नयाँ सोरुम विस्तार गर्ने तयारीसमेत अघि बढाएको न्यौपानेले बताए ।
विपत्तिमा निरन्तर सहयोग
केल्मी नेपालले प्राकृतिक विपत्ति तथा अन्य अप्ठ्यारो परिस्थितिमा विगतदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको जनाएको छ । “विगतमा पनि विभिन्न प्राकृतिक विपत्ति तथा अप्ठ्यारो परिस्थितिमा हामीले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएका छौं,” न्यौपानेले भने, “यसपटक पनि विपद्बाट प्रभावित नागरिकलाई सहयोग पुर्याउन आफ्नो तर्फबाट सक्दो पहल गरेका हौं ।”
कम्पनीका अनुसार क्लोथ बैंकमार्फत नयाँ कपडा उपलब्ध गराउने व्यवस्था गरिँदा राहतको नाममा प्रयोग भइसकेका वा गुणस्तरहीन सामग्री वितरण गर्ने प्रवृत्तिलाई समेत निरुत्साहित गर्न सहयोग पुग्नेछ । विपद्को समयमा राहत वितरणलाई व्यवस्थित, पारदर्शी र वास्तविक पीडितमुखी बनाउन सरकारी निकायसँगको समन्वयमा क्लोथ बैंक सञ्चालन गरिने कम्पनीले जनाएको छ ।



कर्णाली समय । १६ भाद्र २०८३, मंगलवार २०:४१