प्रकाश अधिकारी/ सुर्खेत– सुर्खेत प्रहरीले प्रतिबन्धित नेटवर्किङ व्यवसायमार्फत ठगी गर्नेविरुद्ध ६४ लाख बिगो मागसहित जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । प्रहरीले वीरेन्द्रनगर ३ मुलपानी चोकस्थित स्काई ड्रिम इन्टरप्रेनर्सका सञ्चालक तथा कर्मचारीसहित ८ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।
प्रहरी ठगी कसुरमा मुद्दा दायर गरेकामा डोटीको सायल गाउँपालिका–२ का नरेश बोहोरा, दार्चुला महाकाली गाउँपालिका–४ का कृष्ण धामी, अछाम कमलबजार नगरपालिका–६ का कमल शाही र रवीन्द्र शाही, कञ्चनपुर महाकाली नगरपालिका–२ की मनिषा सिंह, बेल्डाडी गाउँपालिका–१ की निर्मला धामी, बैतडी सिगास गाउँपालिका–६ की या सुनिता साउद र डोटी बडिकेदार गाउँपालिका–४ की कमला चिमाला छन् । उनीहरु सबै ३० वर्ष मुनीका हुन् ।
युनिटी र हर्बो इन्टरनेशनलले पिरामिड शैलीमा ठगी गर्न थालेपछि सरकारले २०६८ चैतमा सबै प्रकारका नेटवर्किङ व्यवसायमा प्रतिबन्ध लगाएको थियो । २०७७ असारदेखि पुनः इजाजत दिन थालेपछि नेटवर्किङ व्यवसाय ब्युतिएका हुन् । सरकारले वस्तु तथा सेवा प्रत्यक्ष बिक्री ऐन २०७४ र नियमावली २०७६ बनाएर इजाजत बाँड्न थालेको थियो । सुर्खेतमा पिरामिड शैलीमा स्काई ड्रिम इन्टरप्रेनर्सले युवाहरुलाई रोजगारीको प्रलोभन देखाई प्रति व्यक्ति ५० हजारदेखि २ लाखसम्म ठगिएको प्रहरी अनुसन्धानले देखाएको छ ।
ठगी भएको उजुरीमा आधारमा प्रहरीले २०८२ साउन ५ गते वीरेन्द्रनगर मुलपानीस्थित स्काई ड्रिमको कार्यालयमा छापा हानेको थियो । सञ्चालकहरु पक्राउ परेपछि ठगिएका युवाहरु प्रहरीमा सम्पर्कमा आएका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले एक सय बढी युवाहरू ठगिएको अनुसन्धानबाट खुलेको बताए । ‘ठगीमा संलग्नहरूमाथि अनुसन्धान गरी बिगो मागसहित जिल्ला अदालतमा अनुसन्धान प्रतिवेदन पेश गरेका छौँ,’ उनले भने, ‘यस मुद्दामा थप सम्पर्कमा आएकाहरूको विवरण पनि संकलन भइरहेको छ, सीप सिकाउने तथा रोजगारी दिने नाममा ठगी धन्दा चलाएको पाइएको छ ।’ ठूलो संख्यामा युवाहरु ठगिएको घटना भएकाले प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वमा अनुसन्धान टोली परिचालन गरिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आइबोस ग्लोबल इन्टरनेसनल प्रालि, नेचर हब्र्स इन्टरनेसल प्रालि, न्यु विवेक इन्टरप्राइजेज प्रालि, हेल्दी लिभिङ प्रालि, केयर माट्र्स इन्टरप्राइजेज प्रालि, युटर्न इन्टरनेसनल प्रालि, ग्लोबल ओरियन्स प्रालि, अपि लाइफ इन्टरनेसनल, गोल्डेन नेपाल मार्केटिङ प्रालि लगायत कम्पनी दर्तामा छन् । यिनैमध्येको ग्लोबल ओरियन्स नेपाल प्रालिले सुर्खेतमा पिरामिड शैलीको सञ्जाल विस्तार गरी उच्च शिक्षा अध्ययन गरिरहेका बेरोजगार युवाहरूलाई ट्रयापमा पार्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ । यसको केन्द्रीय कार्यालय काठमाडौंमा छ ।
कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भई वीरेन्द्रनगरमा शैक्षिक गतिविधि सञ्चालन गर्ने नाममा खोलिएको स्काई ड्रिम इन्टरप्रेनर्सले ग्लोबल ओरियन्समा जागिर लगाउने भन्दै धमाधम युवाहरू ठगिन थालेको गुनासो बढेपछि यसका सञ्चालक तथा नेटवर्किङ व्यवसाय विस्तारको काम गर्नेहरू सुर्खेत प्रहरीको नजरमा परेपछि नेटवर्किङ ठगीको विषय पुनः सतहमा आएको हो । यी कम्पनीहरूले कार्यालय खडा गरेर सामाजिक सञ्जाल लगायतका माध्यमबाट नेटवर्क बनाएर व्यापक ठगी गरिहेका छन् । नेटवर्किङ व्यवसायमा आधारित यस्ता कम्पनीका कार्यालयहरू देशका सबैजसो प्रमुख सहरहरूमा खोलिएका छन् ।
वस्तु तथा सेवा प्रत्यक्ष बिक्री ऐनमा पिरामिडमा आधारित व्यवसाय गर्न नहुने उल्लेख छ । वस्तु खरिद गर्नुपूर्व अनिवार्य रूपमा कुनै किसिमको सदस्यता लिनुपर्ने अवस्था भएको सञ्जालयुक्त कार्य, एकमुस्ट प्याकेजमा खरिद गर्नुपर्ने सञ्जालयुक्त कार्यलाई कानुनले बन्देज गरेको छ । साथै वस्तुको कारोबार नगरी प्रत्यक्ष बिक्रेता वा वितरक बनाई शुल्क मात्र लिने गरी गरिने सञ्जालयुक्त कार्य, कम्पनीले वस्तु बिक्री गर्ने प्रयोजनका लागि व्यवसायिक दृष्टिले अनुचित र असम्भव देखिने आकर्षक उपहार दिई वा कमिसनको प्रलोभन देखाई सदस्य बनाउने वा महँगो वस्तु खरिद गर्न लगाउने सञ्जालयुक्त कार्य पनि गैरकानुनी हो ।

कर्णाली समय । २ भाद्र २०८२, सोमबार १२:५०