सुर्खेत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको वीरेन्द्रनगर औद्योगिक क्षेत्रस्थित शीत भण्डार (कोल्ड स्टोर) निर्माण कार्यमा भ्रष्टाचार भएको भन्दै तत्कालिन प्रदेश कृषिसचिव सहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।
वास्तविक कार्य भन्दा बढि रकम भुक्तानी दिएको भन्दै तत्कालिन भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीसहित १५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । कर्णाली कोल्डचेन लजिष्टिक प्रालि सुर्खेतलाई ९२ लाख ४३ हजार २९८ रुपैंया विगो बराबरको रकम हानी नोक्सानी भएको देखिएको भन्दै अख्तियारले सोही बमोजिमको विगो माग दावी गर्दै भारी विरुद्ध अख्तियारमा आरोपपत्र दायर गरेको छ ।
अख्तियारले तत्कालिन सबईन्जिनियर गणेश भण्डारीबाट १६ लाख २४ हजार ८८१, तत्कालिन वरिष्ठ कृषि अर्थ विज्ञ हरिप्रसाद पण्डित र लेखा अधिकृत हरिबहादुर थापाबाट ३ लाख २५ हजार ५६७ रुपैंया, भक्तिराम शर्मा, गुरुप्रसाद अधिकारी र उत्तमकुमार बस्नेतबाट ३ लाख २५ हजार ५६७ रुपैंया मागदाबी गरिएको छ ।
यस्तै, खिमलाल वलीबाट तीन लाख ५३ हजार दुई सय चार, सुरेशकुमार थापा र उषा ठाडाबाट ७ लाख २६ हजार १८१, सुवर्णराज भारतीबाट ३५ लाख ३६ हजार ६८ रुपैंया मागदावी सहित आरोपपत्र दायर भएको छ ।
कर्णाली कोल्ड चेन प्रालिका तत्कालिन अध्यक्ष प्रकाश अधिकारी, कलाधर उपाध्याय, लक्ष्मण कंडेल र प्रवल शाहीबाट ९२ लाख ४३ हजार २९८ र महेश शर्माबाट ३५ लाख ३६ हजार ०६८ रुपैंया मागदावी सहित आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ । अधिकारी, उपाध्याय, कँडेल र शाही सुर्खेतका प्रतिष्ठित व्यापारी हुन । अधिकारी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष र कँडेल वहालवाला अध्यक्ष हुन् ।
कर्णाली समय । २५ श्रावण २०८०, बिहीबार १६:१०