जुम्लाको चुनावी राजनीति : सांगठनिक भर्सेस पपुलर भोट


सुर्खेत– राप्रपा प्रवक्ता एवं निवर्तमान सांसद ज्ञानेन्द्र शाहीले पुनः उम्मेदवारी दिएसँगै जुम्लाको चुनावी मैदानले नयाँ मोड लिएको छ । ०७९ मा उनले असम्भवजस्तै देखिएको समीकरण उल्ट्याउँदै जित निकालेका थिए । कांग्रेस–माओवादीसहितको पाँचदलीय गठबन्धन मात्र होइन, सांगठनिक रूपमा बलियो एमाले समेतलाई पछि पार्दै उनले पहिलोपटक प्रतिनिधिसभामा स्थान सुरक्षित गरे । त्यतिबेला ज्ञानेन्द्रको निकट प्रतिष्पर्धी माओवादी केन्द्रकी गोमा कुँवर ११ हजार ९५९ मतमा सीमित भइन् भने एमालेका रतननाथ योगीले ६ हजार ५२८ मत पाए । उक्त निर्वाचनमा संगठन कमजोर भए पनि लोकप्रिय मत (पपुलर भोट) आफ्नो पक्षमा तान्ने शाहीको रणनीति सफल भएको थियो ।

जुम्लाको चुनावी इतिहास भने फरक छ । यहाँ मतदाता स्थिर छैनन्, उनीहरू हरेक निर्वाचनमा आफ्नो मत परिवर्तन गरिरहन्छन् । ०४८ यताका कुनै पनि निर्वाचनमा एउटै उम्मेदवार दोहोरिएर जितेको रेर्कड छैन् । ०४८ मा नेपाल मजदुर किसान पार्टीका डिल्लीबहादुर महत विजयी भए । ०५१ मा सोही पार्टीले उम्मेदवार फेरेर भक्तबहादुर रोकायालाई उठायो र उनले जित निकाले । ०५६ मा एमालेका देवीलाल थापा निर्वाचित भए । ०६४ मा माओवादीका नरेश भण्डारी, ०७० मा कांग्रेसका ललितजंग शाही निर्वाचित भए । ०७४ मा एमाले–माओवादी गठबन्धनका तर्फबाट माओवादीका गजेन्द्र महत र ०७९ मा कांग्रेस–माओवादी गठबन्धन हुँदाहुँदै पनि राप्रपाका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जित हात पारे । यसरी हेर्दा जुम्ली मतदाताले दोहो¥याएर अवसर नदिने आफ्नो स्वभावलाई निरन्तर कायम राखेको देखिन्छ । यही पृष्ठभूमिमा शाहीको उम्मेदवारी अहिले ‘रेकर्ड तोड्ने कि परम्परा कायम रहने ?’ भन्नेमा निर्णायक बनेको छ ।

ज्ञानेन्द्र शाहीले अघिल्लो निर्वाचनमा विकास र समृद्ध जुम्लाको नारा अघि सारेका थिए । तर उनीमाथि ‘राजा फर्काउने अभियान’मा सक्रिय रहेको आरोप पनि लाग्दै आएको छ । अबको चुनावमा उनले असन्तुष्ट मतदातालाई कति विश्वास दिलाउन सक्छन् भन्ने प्रश्न उनको भविष्यसँग गाँसिएको छ । उनी भने कर्णालीको आवाज संघीय सरकारसम्म पु¥याउन आफू पुनः निर्वाचित हुनुपर्ने दाबी गरिरहेका छन् ।

यसपटक जुम्लाको चुनावी मैदान झन् फराकिलो र पेचिलो बनेको छ । कांग्रेसबाट दीपबहादुर शाही, एमालेबाट शान्तिलाल महत र नेकपाबाट नरेश भण्डारी उम्मेदवार छन् । भण्डारी ०६४ मा संविधानसभा सदस्य र ०७४ मा प्रदेशसभासदस्य निर्वाचित भई कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री भइसकेका नेता हुन् । कांग्रेस उम्मेदवार शाही स्थानीय तहमा परिचित अनुहार हुन्, तर विशेष महाधिवेशनपछिको गुटबन्दी र आन्तरिक प्रतिस्पर्धाले कांग्रेसको मत कति सुरक्षित राख्न सक्छन् त्यसमा परिणाम निर्भर रहनेछ । एमाले उम्मेदवार महत पूर्व पार्टी जिल्ला अध्यक्ष हुन् । उनी विगतमा चन्दननाथ नगरपालिकाको मेयरमा पराजित भएका थिए । ‘जुम्लाले सांसद नदोहो¥याउने स्वभाव यसपटक मेरो पक्षमा आउँछ’ भन्ने विश्वासका साथ उनी मैदानमा छन् ।

०७९ को निर्वाचनपछि उदाएको रास्वपाले यसपटक प्रत्यक्षतर्फ निवर्तमान सांसद विनिता कठायतलाई उम्मेदवार बनाएको छ । उनी विघटित प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट प्रतिनिधित्व गरेकी थिइन् । यहाँ सांगठनिक रूपमा रास्वपा कमजोर देखिएपनि विनिताले लोकप्रिय मत तान्ने आँकलन छ । राप्रपाका ज्ञानेन्द्र र रास्वपाको विनिताको आक्रामक चुनावी अभियानले कांग्रेस, एमाले र नेकपा आफूहरुको मत काटिने त्रासमा छन् ।

त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट मनऋषि धिताल, नेमकिपाबाट बिर्खबहादुर रावत, विप्लब नेतृत्वको नेकपा माओवादीबाट बिर्खबहादुर शाही पनि चुनावी मैदानमा छन् । लामो समय माओवादी आन्दोलनमा सक्रिय प्रलोपा उम्मेदवार धिताल युद्धकालीन पत्रकारका रूपमा परिचित छन् । माओवादीभित्र टिकट वितरणमा असन्तुष्ट रहँदै बाहिरिएका धितालको उम्मेदवारीले विशेषगरी नेकपाको मत आधारमा असर पार्ने चर्चा छ । यसले पुराना सहकर्मीहरू आमनेसामने हुँदा लाभ तेस्रो शक्तिलाई पुग्ने सम्भावना रहेको बताइन्छ ।

०७९ को समानुपातिक मत परिणामअनुसार उहाँ एमालेले १० हजार ५४८ मत, कांग्रेसले १० हजार ४७६ मत र नेकपाले ८ हजार ९६० मत पाएका थिए । राप्रपाले ५ हजार ७९६, नेमकिपाले २ हजार ७३, रास्वपाले ८९९ मत प्राप्त गरेका थिए । जुम्लामा कुल ७१ हजार ७३९ मतदाता छन् । हिमाली भूगोल, सीमित पूर्वाधार र रोजगारीका चुनौतीका बीच मतदाताको अपेक्षा विकास, सडक, शिक्षा, स्वास्थ्य र रोजगारीमै केन्द्रित देखिन्छ । तर चुनावी अंकगणित भने सांगठनिक र लोकप्रिय छविमै घुम्ने देखिन्छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,