
सुर्खेत– राप्रपा प्रवक्ता एवं निवर्तमान सांसद ज्ञानेन्द्र शाहीले पुनः उम्मेदवारी दिएसँगै जुम्लाको चुनावी मैदानले नयाँ मोड लिएको छ । ०७९ मा उनले असम्भवजस्तै देखिएको समीकरण उल्ट्याउँदै जित निकालेका थिए । कांग्रेस–माओवादीसहितको पाँचदलीय गठबन्धन मात्र होइन, सांगठनिक रूपमा बलियो एमाले समेतलाई पछि पार्दै उनले पहिलोपटक प्रतिनिधिसभामा स्थान सुरक्षित गरे । त्यतिबेला ज्ञानेन्द्रको निकट प्रतिष्पर्धी माओवादी केन्द्रकी गोमा कुँवर ११ हजार ९५९ मतमा सीमित भइन् भने एमालेका रतननाथ योगीले ६ हजार ५२८ मत पाए । उक्त निर्वाचनमा संगठन कमजोर भए पनि लोकप्रिय मत (पपुलर भोट) आफ्नो पक्षमा तान्ने शाहीको रणनीति सफल भएको थियो ।
जुम्लाको चुनावी इतिहास भने फरक छ । यहाँ मतदाता स्थिर छैनन्, उनीहरू हरेक निर्वाचनमा आफ्नो मत परिवर्तन गरिरहन्छन् । ०४८ यताका कुनै पनि निर्वाचनमा एउटै उम्मेदवार दोहोरिएर जितेको रेर्कड छैन् । ०४८ मा नेपाल मजदुर किसान पार्टीका डिल्लीबहादुर महत विजयी भए । ०५१ मा सोही पार्टीले उम्मेदवार फेरेर भक्तबहादुर रोकायालाई उठायो र उनले जित निकाले । ०५६ मा एमालेका देवीलाल थापा निर्वाचित भए । ०६४ मा माओवादीका नरेश भण्डारी, ०७० मा कांग्रेसका ललितजंग शाही निर्वाचित भए । ०७४ मा एमाले–माओवादी गठबन्धनका तर्फबाट माओवादीका गजेन्द्र महत र ०७९ मा कांग्रेस–माओवादी गठबन्धन हुँदाहुँदै पनि राप्रपाका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जित हात पारे । यसरी हेर्दा जुम्ली मतदाताले दोहो¥याएर अवसर नदिने आफ्नो स्वभावलाई निरन्तर कायम राखेको देखिन्छ । यही पृष्ठभूमिमा शाहीको उम्मेदवारी अहिले ‘रेकर्ड तोड्ने कि परम्परा कायम रहने ?’ भन्नेमा निर्णायक बनेको छ ।
ज्ञानेन्द्र शाहीले अघिल्लो निर्वाचनमा विकास र समृद्ध जुम्लाको नारा अघि सारेका थिए । तर उनीमाथि ‘राजा फर्काउने अभियान’मा सक्रिय रहेको आरोप पनि लाग्दै आएको छ । अबको चुनावमा उनले असन्तुष्ट मतदातालाई कति विश्वास दिलाउन सक्छन् भन्ने प्रश्न उनको भविष्यसँग गाँसिएको छ । उनी भने कर्णालीको आवाज संघीय सरकारसम्म पु¥याउन आफू पुनः निर्वाचित हुनुपर्ने दाबी गरिरहेका छन् ।
यसपटक जुम्लाको चुनावी मैदान झन् फराकिलो र पेचिलो बनेको छ । कांग्रेसबाट दीपबहादुर शाही, एमालेबाट शान्तिलाल महत र नेकपाबाट नरेश भण्डारी उम्मेदवार छन् । भण्डारी ०६४ मा संविधानसभा सदस्य र ०७४ मा प्रदेशसभासदस्य निर्वाचित भई कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री भइसकेका नेता हुन् । कांग्रेस उम्मेदवार शाही स्थानीय तहमा परिचित अनुहार हुन्, तर विशेष महाधिवेशनपछिको गुटबन्दी र आन्तरिक प्रतिस्पर्धाले कांग्रेसको मत कति सुरक्षित राख्न सक्छन् त्यसमा परिणाम निर्भर रहनेछ । एमाले उम्मेदवार महत पूर्व पार्टी जिल्ला अध्यक्ष हुन् । उनी विगतमा चन्दननाथ नगरपालिकाको मेयरमा पराजित भएका थिए । ‘जुम्लाले सांसद नदोहो¥याउने स्वभाव यसपटक मेरो पक्षमा आउँछ’ भन्ने विश्वासका साथ उनी मैदानमा छन् ।
०७९ को निर्वाचनपछि उदाएको रास्वपाले यसपटक प्रत्यक्षतर्फ निवर्तमान सांसद विनिता कठायतलाई उम्मेदवार बनाएको छ । उनी विघटित प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट प्रतिनिधित्व गरेकी थिइन् । यहाँ सांगठनिक रूपमा रास्वपा कमजोर देखिएपनि विनिताले लोकप्रिय मत तान्ने आँकलन छ । राप्रपाका ज्ञानेन्द्र र रास्वपाको विनिताको आक्रामक चुनावी अभियानले कांग्रेस, एमाले र नेकपा आफूहरुको मत काटिने त्रासमा छन् ।
त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट मनऋषि धिताल, नेमकिपाबाट बिर्खबहादुर रावत, विप्लब नेतृत्वको नेकपा माओवादीबाट बिर्खबहादुर शाही पनि चुनावी मैदानमा छन् । लामो समय माओवादी आन्दोलनमा सक्रिय प्रलोपा उम्मेदवार धिताल युद्धकालीन पत्रकारका रूपमा परिचित छन् । माओवादीभित्र टिकट वितरणमा असन्तुष्ट रहँदै बाहिरिएका धितालको उम्मेदवारीले विशेषगरी नेकपाको मत आधारमा असर पार्ने चर्चा छ । यसले पुराना सहकर्मीहरू आमनेसामने हुँदा लाभ तेस्रो शक्तिलाई पुग्ने सम्भावना रहेको बताइन्छ ।
०७९ को समानुपातिक मत परिणामअनुसार उहाँ एमालेले १० हजार ५४८ मत, कांग्रेसले १० हजार ४७६ मत र नेकपाले ८ हजार ९६० मत पाएका थिए । राप्रपाले ५ हजार ७९६, नेमकिपाले २ हजार ७३, रास्वपाले ८९९ मत प्राप्त गरेका थिए । जुम्लामा कुल ७१ हजार ७३९ मतदाता छन् । हिमाली भूगोल, सीमित पूर्वाधार र रोजगारीका चुनौतीका बीच मतदाताको अपेक्षा विकास, सडक, शिक्षा, स्वास्थ्य र रोजगारीमै केन्द्रित देखिन्छ । तर चुनावी अंकगणित भने सांगठनिक र लोकप्रिय छविमै घुम्ने देखिन्छ ।



कर्णाली समय । १६ फाल्गुन २०८२, शनिबार २०:५२