प्रदेशस्तरीय प्रतिभा पहिचानमा हुम्लाका सन्तोष र आकाश प्रथम

सुर्खेत- प्रदेशस्तरीय विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रममा हुम्लाका विद्यार्थी सन्तोष शाही र आकाश शाही प्रथम भएका छन् । शिक्षा विकास निर्देशनालय सुर्खेतको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा मानसरोवर मावि हुम्लाका विद्यार्थीद्धयले पहिलो स्थान हासिल गरेका हुन् ।

उनीहरुलाई नगद ३५ हजार र प्रंशसापत्र प्रदान गरियो । कार्यक्रममा १० वटै जिल्लाबाट प्रतिनिधित्व हुने गरी प्रत्येक जिल्लाबाट एक विद्यालयका दुई विद्यार्थी र एक शिक्षक संरक्षक सहभागी भएका थिए । दोस्रो स्थान कर्णाली मावि अनामनगर जुम्लाले प्राप्त गर्दै ३० हजार रुपैयाँ जितेको छ भने तेस्रो स्थान सुर्खेतको सिद्धार्थ पाठशालाले हासिल गरेर २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । सान्तवना पुरस्कारको रुपमा सल्यानको त्रिभुवन जनता मावि लाई २० हजार रुपैयाँ प्रदान गरिएको छ ।

कार्यक्रममा निर्णायकको भूमिकामा शिक्षाविद् युवक ओली, लोकेन्द्र सुवेदी र नरेन्द्रप्रसाद भट्ट रहेका थिए । शिक्षा विकास निर्देशक दिपा हमालका अनुसार प्रदर्शनीले विद्यार्थीहरूमा विज्ञान र प्रविधिप्रतिको रुचि, सृजनशीलता र नवप्रवर्तन क्षमतालाई अभिव्यक्त गर्न सहयोग पु¥याएको छ । कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले विज्ञान र प्रविधिप्रतिको विद्यार्थीहरूको रुचि, सिर्जनशिलता र नवप्रवर्तन क्षमतालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

त्यस्तै कार्यक्रममा सहभागी विद्यार्थीहरू, शिक्षकहरुलाई प्रोत्साहनस्वरूप जनही ४ हजार रुपैयाँको नगद पुरस्कार पनि प्रदान गरिएको छ । शिक्षा विकास निर्देशनालयले यस किसिमको प्रदर्शनीले विद्यार्थीहरूबीच आपसी सञ्जाल विस्तार, अनुभव आदान–प्रदान र सिकाइको नयाँ आयाम सिर्जना गर्ने अपेक्षा व्यक्त गरेको छ ।