
सुर्खेत-दशनामी समाजको इतिहास, खस सभ्यताको विकासक्रम तथा समुदायको सांस्कृतिक पहिचानलाई अनुसन्धानात्मक रूपमा प्रस्तुत गरिएको पुस्तक ‘दशनामी समाजका विशिष्ट भ्रम र खस सभ्यता’ सार्वजनिक गरिएको छ। लेखक खडानन्द चौलागाईद्वारा लिखित उक्त कृतिको मंगलबार सुर्खेतमा आयोजित कार्यक्रममा लोकार्पण गरिएको हो।
कोलमुनी परिवार, सुर्खेतको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका इतिहास अध्येता, शिक्षाविद्, समाजसेवी, बुद्धिजीवी तथा दशनामी समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। स्व. बलदेव गिरीको वार्षिक पुन्यतिथिका अवसरमा राखिएको उक्त कार्यक्रमको अध्यक्षता उमादेवी गिरीले गरेकी थिइन् भने सुर्खेत बहुमुखी क्याम्पसका पूर्वप्रमुख साहित्यकार महेन्द्रप्रसाद गिरी प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा बोल्ने वक्ताहरूले पुस्तकले दशनामी समाजको इतिहास र खस सभ्यताको अध्ययनमा नयाँ सामग्री थपेको उल्लेख गर्दै यस्ता अनुसन्धानमूलक प्रकाशनले ऐतिहासिक तथ्य संरक्षण र समुदायको पहिचान स्थापित गर्न योगदान पुग्ने धारणा राखे। उनीहरूले नयाँ पुस्तालाई आफ्नो इतिहास र सांस्कृतिक विरासतसँग परिचित गराउन यस्ता कृतिको आवश्यकता औंल्याए। पुस्तक बारे रासस कर्णाली प्रदेश प्रमुख सुरबहादुर सिंहले समालोचन गरे । नेपाल दशनामी समाज सुर्खेतका अध्यक्ष तीर्थराज पुरीले पुस्तकले दशनामी समाजको ऐतिहासिक तथ्य, शास्त्रीय प्रमाण र दार्शनिक यथार्थलाई चित्रण गरि दशनामी माथि समाजले राख्ने भ्रम चिर्ने प्रयास गरेको टिप्पणी गरे ।
लेखक चौलागाईले पुस्तक तयार गर्न ऐतिहासिक दस्तावेज, वंशावली, गुठी अभिलेख, शिलालेख तथा अन्य सन्दर्भ सामग्रीको अध्ययन गरिएको जानकारी दिए। उनका अनुसार समाजमा दशनामी तथा नाथ परम्पराप्रति फैलिएका भ्रमलाई तथ्यका आधारमा स्पष्ट पार्ने उद्देश्यले पुस्तक लेखिएको हो। लेखक चौलागाईंले स्वर्गीय ससुरा बलदेव गिरीको अन्त्यष्टि (थल समाधी) मा देखिएको विविधताले पुस्तक लेखनमा प्रेरणा मिलेको बताए । पुस्तकमा दशनामी तथा नाथ–योगी परम्पराबारे समाजमा विद्यमान भ्रम, खस सभ्यताको ऐतिहासिक पृष्ठभूमि र समुदायको योगदानलाई विभिन्न ऐतिहासिक स्रोत र प्रमाणका आधारमा प्रस्तुत गरिएको लेखकले बताएका छन्।
उनले पुस्तकमा नेपालको खस सभ्यताको विकास, सिञ्जा उपत्यकाको ऐतिहासिक महत्व, दशनामी समुदायको सामाजिक, धार्मिक तथा सांस्कृतिक योगदान, गृहस्थीकरणको प्रक्रिया र वर्तमान पहिचानका चुनौतीबारे विस्तृत चर्चा गरिएको बताए। अनुसन्धानकर्ता, विद्यार्थी तथा इतिहासमा रुचि राख्ने पाठकका लागि पुस्तक उपयोगी सन्दर्भ सामग्री बन्ने उनको विश्वास छ।
दश खण्डमा विभाजन गरिएको पुस्तकमा कोलमुनी वंशको वंशावली, दशनामी समुदायको इतिहास तथा सामाजिक विकासक्रम समेटिएको छ। साथै नेपाली खेलकुद क्षेत्रमा योगदान पुर्याएका स्वर्गीय बलदेव गिरीको जीवन, राष्ट्रसेवा, सामाजिक योगदान तथा उहाँप्रति समर्पित सिर्जनाहरूलाई पनि पुस्तकमा स्थान दिइएको छ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार महेन्द्रप्रसाद गिरीले समुदायको मौलिक इतिहासलाई प्रमाणसहित दस्तावेजीकरण गर्ने प्रयास प्रशंसनीय भएको बताए। उनले ऐतिहासिक अध्ययनमा आधारित यस्ता कृतिले समाजमा रहेका पूर्वाग्रह हटाउन र विभिन्न समुदायबीच समझदारी बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
पुस्तकको प्रकाशकीयमा दशनामी तथा नाथ–योगी परम्पराले नेपालको इतिहास निर्माणमा खेलेको भूमिकाको चर्चा गर्दै समुदायले अझै पहिचानसम्बन्धी चुनौती सामना गरिरहेको उल्लेख गरिएको छ। प्रकाशकीयकी लेखिका शान्ता चौलागाईले पुस्तकले दशनामी समुदायबारे फैलिएका भ्रमलाई तथ्यका आधारमा स्पष्ट पार्ने प्रयास गरेको जनाउँदै इतिहास र पहिचानको संरक्षणमा यो कृति महत्वपूर्ण हुने विश्वास व्यक्त गरेकी छन्।
पुस्तक विमोचन कार्यक्रममा ऋषिप्रसाद थानी, तिर्थराज पुरी, लक्ष्मणदेव गिरी, खगेन्द्र पोख्रेल र बेलमाया गिरी लगायतले कविता तथा गजल प्रस्तुत गरेका थिए । कार्यक्रममा खगेन्द्र भारती, ईन्द्रलाल गिरी, प्रेमदेव गिरी, अमर कार्की, एकदेव गिरी, कृष्ण अधिकारी, दिपेन्द्र योगी, चन्द्रा गिरी लगायत अग्रज व्यक्तित्वहरुको उपस्थिति थियो।



कर्णाली समय । १९ श्रावण २०८३, मंगलवार २२:१२