नेकपा नेता शाहीले लिए मुख्यमन्त्रीको शपथ, मन्त्री नियुक्त भएनन्

सुर्खेत– कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेश प्रमुख कार्यालयमा आयोजित समारोहमा शाहीलाई शपथ गराएका हुन् ।

प्रदेश प्रमुख जोशीले मंगलबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेकपा संसदीय दलका नेता शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमालेको समर्थनमा कर्णाली प्रदेश सरकारको पाँचौँ मुख्यमन्त्री बनेका हुन् ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार गठनका लागि २१ सांसदको समर्थन आवश्यक पर्ने व्यवस्था छ । शाहीलाई आफ्नै दल नेकपाका १४ र सत्ता साझेदार दल एमालेका १० गरी २४ सांसदको समर्थन प्राप्त छ । यद्यपि, सत्ता साझेदार दलबीच मन्त्रालयको भागबण्डा टुंगो नलागेकाले शाहीले शपथसँगै मन्त्रिपरिषद् विस्तार गर्न सकेनन् । मन्त्रालय बाँडफाँटबारे छलफल जारी रहेकाले मन्त्री नियुक्तिमा ढिलाइ भएको बताइएको छ ।

यसअघि कांग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका यामलाल कँडेलले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि राजीनामा दिएका थिए । कँडेल नेतृत्वको सरकार सुरुमा तत्कालन माओवादी केन्द्र र त्यसपछि नेपाली कांग्रेससँगको गठबन्धनमा सञ्चालन भएको थियो ।

पदभारसँगै के गरे निर्णय ?
नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पदभार ग्रहण गर्दै विकास आयोजनाको प्रभावकारी अनुगमन, सेवा प्रवाहमा सुधार र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्ने निर्णय गरेका छन् । बुधबार पद तथा गोपनीयताको शपथ लिएलगत्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका शाहीले तीन महत्त्वपूर्ण निर्णय गरेका हुन् । मुख्यमन्त्री शाहीले प्रदेश सरकारबाट सञ्चालित विकास आयोजनाहरूको प्रगति विवरण वास्तविक समयमै देख्न सकिने गरी आयोजना ट्र्याकिङ सिस्टम स्थापना तथा सञ्चालन गर्ने निर्णय गरेका छन् ।

त्यसैगरी, शासकीय सुधारका लागि नयाँ तथा नवप्रवर्तनीय औजारको प्रयोग गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने नीति तर्जुमा गरी कार्यान्वयन गर्ने निर्णय पनि उनले गरेका छन् । त्यस्तै बाढी, पहिरो, आगलागीलगायत सबै प्रकारका विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन सङ्घीय सरकार र स्थानीय तहसँग समन्वय गर्दै क्विक रेस्पोन्स प्रणाली लगायतका संयन्त्रलाई सुदृढ बनाउने निर्णयसमेत गरेका छन् ।

चार वर्षमै मुख्यमन्त्री बने शाही
मुगु निर्वाचन क्षेत्र (ख) बाट २०७९ सालमा पहिलो पटक प्रदेशसभा सदस्य निर्वाचित भएका शाही संसदीय राजनीतिमा प्रवेश गरेको चार वर्षमै मुख्यमन्त्री बन्न सफल भएका छन् । यसअघि उनी तत्कालीन मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।
पार्टी एकतापछि नेकपाको कर्णाली प्रदेश संसदीय दलको नेतृत्व परिवर्तन हुँदा शाही माघ ३ गते दलको नेता चयन भएका थिए । दलको नेता बनेको करिब पाँच महिनामै उनी प्रदेश सरकारको नेतृत्वमा पुगेका हुन् ।

को हुन् मंगलबहादुर शाही ?
२०२५ साल भदौ १६ गते मुगुको सोरु गाउँपालिका–६, सोरुकोटमा जन्मिएका शाहीको राजनीतिक यात्रा तत्कालीन अनेरास्ववियुबाट सुरु भएको हो । प्रारम्भिक शिक्षा मुगु र माध्यमिक शिक्षा जुम्लाबाट पूरा गरेका उनले काठमाडौंस्थित नेपाल ल क्याम्पसमा अध्ययनका क्रममा विद्यार्थी राजनीतिमा सक्रियता बढाएका थिए ।

करिब १३ वर्ष शिक्षकका रूपमा सेवा गरेका शाही पछि माओवादी जनयुद्धमा पूर्णकालीन कार्यकर्ताका रूपमा सहभागी भएका थिए । जनयुद्धकालमा जिल्ला सदस्य, शिक्षक संगठनको जिम्मेवारी तथा विभिन्न राजनीतिक भूमिकामा सक्रिय रहेका उनी शान्ति प्रक्रियापछि पुनः खुला राजनीतिमा फर्किएका हुन् । उनी हाल पार्टीको केन्द्रीय सदस्य छन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,