नक्कली बिहे गराई ठगी कार्यमा संलग्न दुई पक्राउ

सुर्खेत– सुर्खेत प्रहरीले नक्कली बिहे गराई ठगी कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । फेसबुक लगायतका सामाजिक सञ्जालको माध्यमबाट नक्कली आमाबाबु र छोरी बनेर नगद र गरगहना लिने मनसायले ठगी गरेको उजुरी परेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले एउटै महिलालाई फरक फरक मितिमा विभिन्न पुरुषसंग बिहे गराई ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेहरुमा दैलेख साँडु घर भई वीरेन्द्रनगर १० बस्ने ४० वर्षीय गोपालकुमार विक र अछामको तुर्माखाँद ३ घर भई वीरेन्द्रनगर १० बस्ने वर्ष ३८ को भविसरा रास्कोटी मगर रहेका छन् । प्रहरीले उनीहरुमाथि अपराधिक लाभ तथा ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।

विक र मगर आमाबाबु बनेर ठगी गरेको खुलेको छ भने दुलही बनेकी महिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता बुढथापाका अनुसार उनीहरुको साथबाट बिहेमा प्रयोग हुनेमा कपडा, सुनका गरगहना र बिहे गर्दाका फोटोहरु बरामद गरेको छ ।