
सुर्खेत– २४ भदौमा जेनजी आन्दोलनकारीले सरकारी कार्यालय, नेताका निवासहरु आगजनी र तोडफोड गर्ने क्रममा वीरेन्द्रनगर ७ इत्रामस्थित पूर्णबहादुर खड्काको निवासलाई पनि निशाना बनाए । यद्यपि त्यो घर पूर्णबहादुरकै भने थिएन । उनका कान्छा भाई विष्णु खड्काको नाममा रहेको घरमा पूर्णबहादुर सुर्खेत आउँदा बस्ने गर्थे । सोही घरसंगै जोडिएको छ, माइला भाई डा. डम्बर खड्काको घर । उक्त घरपनि आन्दोलनकारीले आगजनी गरेर ध्वस्त बनाए । आन्दोलनकारीले घर जलाइरहँदा कैलाश मानसरोवर दर्शनको यात्रामा थिए डा. डम्बर । उनी मंगलबार साँझ फर्किए । खण्डहर बनेको आँगनमा उभिएर डम्बरले बुधबार बिहान पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा व्यक्त उनको भनाई जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ–
प्रदेश स्थापनाको बेलामा पनि घरमा आक्रमण भयो । म हस्पिटलमा बिरामीको उपचार गर्दै थिएँ, घरमा गाडी तोडफोड भएको थियो । ९५ वर्षको आमामाथि आक्रमण भएको थियो । मलाई यहीँ बस्नुपर्ने बाध्यता थिएन । काठमाडौं बस्न नसक्ने अवस्था थिएन । अमेरिकामा भिजा नै छ । मैंले जन्मथलोलाई सेवा गर्नुपर्छ भनेर जीवन यहाँ बिताएँ । १० कक्षा पास गरेपछि जागिर खाँदै पढ्दै यहाँसम्म आइपुगेको हो । घरमा दाईले राजनीति गरेपछि हामीले जागिर गर्नुपर्छ, अरु भाई जागिर र व्यवसायमा लाग्यौं ।
मेरो दाई पूर्णबहादुरले ५० वर्षको राजनीतिक इतिहासमा घुस खानुभएको छ, यदि गल्ती गर्नुभएको छ भनेर छानबिन गरियोस् । पक्राउ गरियोस् । सबै नेतालाई एउटै डालोमा नहालियोस् । अति गर्न पाइँदैन् । हामीले कहिले पनि फाइदा लिएनौं ।
बुबा मुखिया हुनुहुन्थ्यो । आमाबुबाले आर्जन गरेको ५०–६० बिगा जमिन थियो । हामी स्थानीयबासी हौं, पचासौं वर्ष लगाएर कमाएको सम्पति हो । के हामीले एकै रात जोडेको हो ? सुर्खेतमा बसेर सेवा गर्नु नै हाम्रो लागि अभिशाप हो ? यहाँको विकासमा योगदान गर्नु, युनिर्भसिटी, प्रदेश अस्पताललाई नम्बर वान बनाएको अभिसाप हो ? जिन्दगी भएर श्रीमान श्रीमतिले कमाएर बनाएको घर हो यो । अहिले पूर्णबहादुरको भाई भनेर, भ्रष्टाचार गरेको होला भनेर आगजनी गरिएको होला ? हाम्रो बाँच्ने पाउने हक छैन् ? किन पटकपटक प्रहार गर्ने काम भइरहेको छ ? यो गफ होइन तत्काल छानबिन गरियोस् । हाम्रो गल्ती छ भने कारबाही गरियोस् । नत्र पटकपटक घर जलाउने, सम्पत्ति लुट्ने काम नहोस् । ४१ वर्षको जागिरे जीवनको सारा कमाई जलाइएको छ, लाखौंका किताब जलाइएको छ, सुन गरगहना, छोराले स्कूलमा पाएको मेडल लुटिएको छ । केही सामान बाँकी राखिएको छैन् ।
दाईको सहयोग लिएर होइन आफै मिहेनत गरेर सम्पत्ति जोडेको हो । हाम्रो पैतृक सम्पति पनि छन् । आफ्नै बलबुताले व्यवसाय गरेका छौं । राम्रो काम गर्र्दागर्दै स्वास्थ्य मन्त्रालयबाट बेष्ट अवार्ड पाएँ, प्रदेश अस्पताललाई देशकै उत्कृष्ट अस्पताल बनाएँ, मिहेनत गरेर आर्जन गरेको सम्पतिले ३ कोठे घर बनाएर बस्न नपाउने ? जब म अस्पतालको डाइरेक्टर भए आम्दानी घट्यो । आफ्नो धर्म निभाउनुहुँदैन भने बिहान बेलुका अस्पताललाई समय दिएँ । कोभिड लाग्दा पनि एकदिन छुट्टी नलिएर काम गरेँ । त्यो मेरो स्वार्थको लागि गरेको होइन, कर्णालीबासीको स्वास्थ्यको लागि गरेको हो । लाखौंको उपचार गरेर ज्यान बचाईदिएको हो । तर सबैलाई एउटै घानमा राखेर प्रहार गर्ने काम भइरहेको छ ? हामी जाने कहाँ ? हाम्रो भत्ताले पालिएको सुरक्षा फौजले हेरेर बसिरहने ? सुरक्षाकर्मीले नै देशलाई कंगाल बन्न दिने ? जनताको जीउधनको सुरक्षा नगर्ने ? हामी कहाँ जाने ? कि चुप लागेर बस्नेत त डराएर । त्यसो भए हाम्ले आफ्नो सुरक्षाकै लागि बन्दुक बोक्नुपर्ने भो ।
आत्मबल घटाउँदैनौं । यहीँ बस्ने हो । यहाँ बसेर आफू पनि राम्रो गरौं, अरुलाई राम्रो काम गर्न प्रेरणा दिउँ भनेर बसेको हो । नत्र यहाँ किन बस्थेँ । अमेरिकामा भिजा छ, यहाँ नबसेपनि हुन्थ्यो । काठमाडौं बस्न पनि सक्थेँ । यो अचाक्लीमा चुप लागेर बस्नुहुँदैन । भएका जग्गा जमिन बेचेर भएर पनि पुनर्निर्माण गर्छौं । यदि राज्यले संग्राहालय बनाउँछौं भन्छ भने निःशुल्क दिन पनि तयार छौं ।
दाई पूर्णबहादुरले एक पैसा घुस खाएको, परिवार, सन्तानलाई कतै जागिर लगाएको, धनदौलत जोडेको प्रमाणसहित देखाइदिनुप¥यो हामी जेल जान तयार छौं । हाम्रा पैतृक सम्पति पनि छ । सबैको छानबिन हुनुप¥यो । अहिले हामीलार्ए बघरबार बनाइएको छ । अहिले कोठा लिएर बस्न बनाइएको छ । छोरा घर आएको बेला उसलाई मैंले बेड कहाँ देखाउने, स्कूलबाट पाएको मेडल कहाँ देखाउने ? उसको आमाको चिनो पियानो थियो त्यो पनि बाँकी रहेन ।
बैंकबाट २ करोड लोन लिएर, रिटार्यड भएपछि श्रीमान श्रीमति बस्ने भनेर बनाएको हो । अढाई करोड जतिमा बन्यो होला । हामी त यहाँका रैथाने हौं, पुराना मान्छे हौं, जोड्दै जोड्दै गरेर दुई जनाले कमाएको सम्पति हो । यो पुरानो घर विष्णुको हो । मेरो ससुरालीले दिएको काठमाडौंको घरमा दाई बस्नुहुन्थ्यो । त्यो घर पनि जलाइयो ।


कर्णाली समय । ८ आश्विन २०८२, बुधबार १६:११