‘गल्ती छ भने छानबिन होस्, जेल जान तयार छौं तर पटक–पटक प्रहार गर्ने काम नहोस्’

 

 

 

 

 

सुर्खेत– २४ भदौमा जेनजी आन्दोलनकारीले सरकारी कार्यालय, नेताका निवासहरु आगजनी र तोडफोड गर्ने क्रममा वीरेन्द्रनगर ७ इत्रामस्थित पूर्णबहादुर खड्काको निवासलाई पनि निशाना बनाए । यद्यपि त्यो घर पूर्णबहादुरकै भने थिएन । उनका कान्छा भाई विष्णु खड्काको नाममा रहेको घरमा पूर्णबहादुर सुर्खेत आउँदा बस्ने गर्थे । सोही घरसंगै जोडिएको छ, माइला भाई डा. डम्बर खड्काको घर । उक्त घरपनि आन्दोलनकारीले आगजनी गरेर ध्वस्त बनाए । आन्दोलनकारीले घर जलाइरहँदा कैलाश मानसरोवर दर्शनको यात्रामा थिए डा. डम्बर । उनी मंगलबार साँझ फर्किए । खण्डहर बनेको आँगनमा उभिएर डम्बरले बुधबार बिहान पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा व्यक्त उनको भनाई जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ–
प्रदेश स्थापनाको बेलामा पनि घरमा आक्रमण भयो । म हस्पिटलमा बिरामीको उपचार गर्दै थिएँ, घरमा गाडी तोडफोड भएको थियो । ९५ वर्षको आमामाथि आक्रमण भएको थियो । मलाई यहीँ बस्नुपर्ने बाध्यता थिएन । काठमाडौं बस्न नसक्ने अवस्था थिएन । अमेरिकामा भिजा नै छ । मैंले जन्मथलोलाई सेवा गर्नुपर्छ भनेर जीवन यहाँ बिताएँ । १० कक्षा पास गरेपछि जागिर खाँदै पढ्दै यहाँसम्म आइपुगेको हो । घरमा दाईले राजनीति गरेपछि हामीले जागिर गर्नुपर्छ, अरु भाई जागिर र व्यवसायमा लाग्यौं ।
मेरो दाई पूर्णबहादुरले ५० वर्षको राजनीतिक इतिहासमा घुस खानुभएको छ, यदि गल्ती गर्नुभएको छ भनेर छानबिन गरियोस् । पक्राउ गरियोस् । सबै नेतालाई एउटै डालोमा नहालियोस् । अति गर्न पाइँदैन् । हामीले कहिले पनि फाइदा लिएनौं ।

बुबा मुखिया हुनुहुन्थ्यो । आमाबुबाले आर्जन गरेको ५०–६० बिगा जमिन थियो । हामी स्थानीयबासी हौं, पचासौं वर्ष लगाएर कमाएको सम्पति हो । के हामीले एकै रात जोडेको हो ? सुर्खेतमा बसेर सेवा गर्नु नै हाम्रो लागि अभिशाप हो ? यहाँको विकासमा योगदान गर्नु, युनिर्भसिटी, प्रदेश अस्पताललाई नम्बर वान बनाएको अभिसाप हो ? जिन्दगी भएर श्रीमान श्रीमतिले कमाएर बनाएको घर हो यो । अहिले पूर्णबहादुरको भाई भनेर, भ्रष्टाचार गरेको होला भनेर आगजनी गरिएको होला ? हाम्रो बाँच्ने पाउने हक छैन् ? किन पटकपटक प्रहार गर्ने काम भइरहेको छ ? यो गफ होइन तत्काल छानबिन गरियोस् । हाम्रो गल्ती छ भने कारबाही गरियोस् । नत्र पटकपटक घर जलाउने, सम्पत्ति लुट्ने काम नहोस् । ४१ वर्षको जागिरे जीवनको सारा कमाई जलाइएको छ, लाखौंका किताब जलाइएको छ, सुन गरगहना, छोराले स्कूलमा पाएको मेडल लुटिएको छ । केही सामान बाँकी राखिएको छैन् ।

दाईको सहयोग लिएर होइन आफै मिहेनत गरेर सम्पत्ति जोडेको हो । हाम्रो पैतृक सम्पति पनि छन् । आफ्नै बलबुताले व्यवसाय गरेका छौं । राम्रो काम गर्र्दागर्दै स्वास्थ्य मन्त्रालयबाट बेष्ट अवार्ड पाएँ, प्रदेश अस्पताललाई देशकै उत्कृष्ट अस्पताल बनाएँ, मिहेनत गरेर आर्जन गरेको सम्पतिले ३ कोठे घर बनाएर बस्न नपाउने ? जब म अस्पतालको डाइरेक्टर भए आम्दानी घट्यो । आफ्नो धर्म निभाउनुहुँदैन भने बिहान बेलुका अस्पताललाई समय दिएँ । कोभिड लाग्दा पनि एकदिन छुट्टी नलिएर काम गरेँ । त्यो मेरो स्वार्थको लागि गरेको होइन, कर्णालीबासीको स्वास्थ्यको लागि गरेको हो । लाखौंको उपचार गरेर ज्यान बचाईदिएको हो । तर सबैलाई एउटै घानमा राखेर प्रहार गर्ने काम भइरहेको छ ? हामी जाने कहाँ ? हाम्रो भत्ताले पालिएको सुरक्षा फौजले हेरेर बसिरहने ? सुरक्षाकर्मीले नै देशलाई कंगाल बन्न दिने ? जनताको जीउधनको सुरक्षा नगर्ने ? हामी कहाँ जाने ? कि चुप लागेर बस्नेत त डराएर । त्यसो भए हाम्ले आफ्नो सुरक्षाकै लागि बन्दुक बोक्नुपर्ने भो ।

आत्मबल घटाउँदैनौं । यहीँ बस्ने हो । यहाँ बसेर आफू पनि राम्रो गरौं, अरुलाई राम्रो काम गर्न प्रेरणा दिउँ भनेर बसेको हो । नत्र यहाँ किन बस्थेँ । अमेरिकामा भिजा छ, यहाँ नबसेपनि हुन्थ्यो । काठमाडौं बस्न पनि सक्थेँ । यो अचाक्लीमा चुप लागेर बस्नुहुँदैन । भएका जग्गा जमिन बेचेर भएर पनि पुनर्निर्माण गर्छौं । यदि राज्यले संग्राहालय बनाउँछौं भन्छ भने निःशुल्क दिन पनि तयार छौं ।

दाई पूर्णबहादुरले एक पैसा घुस खाएको, परिवार, सन्तानलाई कतै जागिर लगाएको, धनदौलत जोडेको प्रमाणसहित देखाइदिनुप¥यो हामी जेल जान तयार छौं । हाम्रा पैतृक सम्पति पनि छ । सबैको छानबिन हुनुप¥यो । अहिले हामीलार्ए बघरबार बनाइएको छ । अहिले कोठा लिएर बस्न बनाइएको छ । छोरा घर आएको बेला उसलाई मैंले बेड कहाँ देखाउने, स्कूलबाट पाएको मेडल कहाँ देखाउने ? उसको आमाको चिनो पियानो थियो त्यो पनि बाँकी रहेन ।

बैंकबाट २ करोड लोन लिएर, रिटार्यड भएपछि श्रीमान श्रीमति बस्ने भनेर बनाएको हो । अढाई करोड जतिमा बन्यो होला । हामी त यहाँका रैथाने हौं, पुराना मान्छे हौं, जोड्दै जोड्दै गरेर दुई जनाले कमाएको सम्पति हो । यो पुरानो घर विष्णुको हो । मेरो ससुरालीले दिएको काठमाडौंको घरमा दाई बस्नुहुन्थ्यो । त्यो घर पनि जलाइयो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,