
सुर्खेत– “दौडिन्छ कर्णाली” नारासहित तेस्रो एक्सट्रिम काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन प्रतियोगिता आगामी असार ८ गते वीरेन्द्रनगरमा आयोजना हुने भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग तथा मिड वेस्टर्न फिटनेस सेन्टर, सुर्खेतको आयोजनामा प्रत्येक वर्ष ओलम्पिक डेका अवसरमा सञ्चालन हुँदै आएको प्रतियोगिताको तेस्रो संस्करण यस वर्ष पनि आयोजना गर्न लागिएको हो ।
आयोजकले शनिबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारीबारे जानकारी दिँदै असार ४ गते बिहान काँक्रेविहार परिसरमा प्रतियोगिताको मस्कट सार्वजनिक गरिने जनाएको छ । प्रतियोगिताको मुख्य दौड वीरेन्द्रचोकबाट सुरु हुनेछ । प्रतियोगिताअन्तर्गत पुरुषतर्फ २१ किलोमिटर हाफ म्याराथन, महिलातर्फ १० किलोमिटर दौड तथा विद्यार्थीका लागि ५ किलोमिटर दौड समावेश गरिएको छ । विभिन्न विधामा इच्छुक खेलाडी तथा धावकहरूले सहभागिता जनाउन सक्नेछन् ।
मिड वेस्टर्न फिटनेस सेन्टरका प्रबन्ध निर्देशक प्रमोद हमालका अनुसार कर्णालीमा दौड संस्कृतिको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन हुँदै आएको हो । “दौडिन्छ कर्णाली” नारालाई मूर्त रूप दिन प्रतियोगिता निरन्तर आयोजना गरिएको बताए । प्रतियोगिताको पुरस्कार राशी हरेक वर्ष वृद्धि गर्दै लगिएको जनाउँदै हमालले यस वर्ष हालसम्म न्यूनतम एक लाख २५ हजार रुपैयाँ पुरस्कार सुनिश्चित भएको जानकारी दिए । सम्भावित दातासँग छलफल जारी रहेकाले पुरस्कार राशी अझै बढ्न सक्ने उनको भनाई छ ।
अघिल्लो वर्ष कर्णाली प्रदेश खेलकुद विकास परिषद्मा पदाधिकारी नहुँदा प्रतियोगिता आयोजना हुन नसकेको उल्लेख गर्दै आयोजकले यस वर्ष परिषद्को सहयोगमा प्रतियोगिता पुनः सञ्चालन हुन लागेको जनाएको छ । परिषद्ले जुम्लामा आयोजना हुने रारा म्याराथन र सुर्खेतको काँक्रेविहार हाफ म्याराथनलाई नियमित रूपमा बजेट उपलब्ध गराउँदै आएको छ ।
यस वर्षको प्रतियोगिताको टाइटल स्पोन्सर एक्सट्रिम इनर्जी ड्रिंक रहेको छ ।



कर्णाली समय । ३० जेष्ठ २०८३, शनिबार १३:५१