
सुर्खेत- कर्णाली प्रदेशको हिमाली क्षेत्रको परम्परागत चिकित्सा पद्धति ‘सोवा रिग्पा’ उपचार विधि मात्र नभई बुद्धको वचन र उपचारको विज्ञान भएको आम्ची पेमा लामा यांकरले बताएकी छन् ।
कर्णाली उत्सवको सातौं संस्करणको ‘सोवा रिग्पा’ सत्रमा बोल्दै यांकरले बुद्धको जन्मस्थल भए पनि उनले प्रतिपादन गरेको हिमालयन चिकित्सा पद्धतिबारे आम नागरिक अझै अनभिज्ञ हुनु दुःखद रहेको बताइन । ‘सोवा’ को अर्थ उपचार र ‘रिग्पा’ को अर्थ विज्ञान हुन्छ । यस पद्धतिको अध्ययन गर्ने चिकित्सकलाई हिमाली भेगमा ‘आम्ची’ अर्थात वैद्य भनिन्छ । यो पद्धति बुद्ध र ऋषिहरूबीचको प्रश्नोत्तरका रूपमा विकास भएको मानिन्छ ।
सोवा रिग्पामा हिमाल, पहाड र तराई सबै क्षेत्रका जडीबुटीहरू प्रयोग गरिने आम्ची यांकर बताउँछिन । ‘हिमालको जडीबुटीमा शीतल गुण तराईको जडीबुटीमा तातो गुण हुन्छ,’ उनी भन्छिन्, ‘शरीरका लागि सबै किसिमको पोटेन्सी आवश्यक हुने भएकाले यी सबैको मिश्रणबाट औषधि बनाइन्छ ।’ उनका अनुसार जडीबुटी बाहेक शिलाजीत, विभिन्न ढुङ्गाहरू (जस्तै चोङसी, जसलाई डिटक्सिफाई गरेर मात्र प्रयोग गरिन्छ) र कस्तुरी जस्ता जनावरका अवशेषहरू पनि प्रयोग गरिन्छ । पहिला भालुको पित्त, बाघको हड्डी जस्ता कुराहरू प्रयोग हुन्थे तर अहिले कानुनी रूपमा बन्देज भएकाले त्यसको सट्टामा हर्बल विकल्पहरू प्रयोग गरेर औषधि बनाइने गरेको उनले बताइन ।
सोवा रिग्पा उपचार पद्धतिको प्रभावकारी भएपनि नेपाल सरकारले यसलाई अझै राम्रोसँग पहिचान दिन नसकेको उनले बताइन । उनका अनुसार यसको उपचार हुम्ला डोल्पा, मुगु र मुस्ताङमा हुनेगर्छ । ‘यो बुद्धको शिक्षा भएकाले सबैले यसको महत्व थाहा पाउनुपर्छ । सरकारले मान्यता दिएर आवश्यक बजेट व्यवस्थापन गरेर यसको प्रचार गरेमा मानिसहरूको रुचि बढ्नेछ,’ उनले भनिन् ।



कर्णाली समय । १ बैशाख २०८३, मंगलवार १७:५१