
सुर्खेत- वीरेन्द्रनगर नगरपालिकाले गुणस्तरीय, व्यवहारिक र जीवनोपयोगी शिक्षालाई प्राथमिकतामा राखेर शैक्षिक गतिविधि सञ्चालन गरिरहेको जनाएको छ । शिक्षा दिवस २०८३ का अवसरमा नगर शिक्षा, युवा तथा खेलकुद शाखाद्धारा शुक्रबार आयोजित विशेष समारोहका वक्ताहरुले गुणस्तरीय र सीपमुलक शिक्षाले रोजगारी सिर्जनामा मद्दत पुग्ने बताए ।
समारोहलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले शिक्षालाई रोजगारी, सीप, उद्यमशीलता र उत्पादनसँग जोड्नुपर्ने बताए । बदलिँदो समयअनुसार शिक्षण सिकाइको पद्धतिमा पनि परिवर्तन ल्याउनुपर्ने आवश्यकता औंल्याए । “शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम बन्नु हुँदैन,” उनले भने, “विद्यार्थीले विद्यालयबाट प्राप्त गरेको ज्ञान र सीपलाई आफ्नो जीवन, समाज र उत्पादनसँग जोड्न सक्ने वातावरण निर्माण गर्नुपर्छ ।” मन्त्री मल्लले प्रदेश सरकारले शिक्षाको गुणस्तर सुधार, विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार विकास र दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेको जनाए । शिक्षा क्षेत्रमा रहेका समस्या समाधानका लागि प्रदेश, स्थानीय तह, विद्यालय र अन्य सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले शिक्षाको गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापनसँगै शिक्षक, अभिभावक र विद्यार्थीको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने बताइन् । नगरपालिकाले शिक्षा क्षेत्रमा लगानी बढाउँदै विद्यालयको आवश्यकता र विद्यार्थीको सिकाइ उपलब्धिका आधारमा कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिइन् । विद्यार्थीको रुचि र क्षमताअनुसार शिक्षण सिकाइको वातावरण बनाउन नसकिएसम्म अपेक्षित शैक्षिक उपलब्धि हासिल गर्न कठिन हुने नगर प्रमुख ढकालको भनाइ थियो । “विद्यालयमा विद्यार्थीको नियमित उपस्थिति, सिकाइको वातावरण र शिक्षकको जिम्मेवारीलाई सँगसँगै प्रभावकारी बनाउनुपर्छ,” उनले भनिन् ।
वीरेन्द्रनगर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख धिरेन्द्रप्रसाद शर्माले शिक्षा दिवसलाई औपचारिक कार्यक्रमका रूपमा मात्र नलिएर विद्यालयको सिकाइ उपलब्धि र शैक्षिक सुधारको समीक्षा गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गरे । उनले भने, “विद्यार्थीको सिकाइ उपलब्धि सुधारका लागि शिक्षकको क्षमता विकास, नियमित अनुगमन तथा विद्यालय र अभिभावकबीच प्रभावकारी समन्वय आवश्यक छ ।”
नगर शिक्षा समितिका सदस्य गंगाराम तिमिल्सेनाले विद्यालय सञ्चालनका क्रममा देखिएका व्यावहारिक समस्या समाधान गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण निर्माणमा नगरपालिकाले महत्वपूर्ण काम गरिरहेको बताए । निजी तथा संस्थागत विद्यालयका प्रतिनिधिहरूले शिक्षा क्षेत्रका समस्या समाधानका लागि सरकार र निजी विद्यालयबीच सहकार्य आवश्यक रहेको बताए । निजी विद्यालयले शैक्षिक क्षेत्रमा पु¥याउँदै आएको योगदानलाई राज्यले पनि संस्थागत रूपमा सम्बोधन गर्नुपर्ने उनीहरूले जोड दिए ।

समारोहमा एसईई तथा कक्षा १२ मा उत्कृष्ट उपलब्धि हासिल गर्ने विद्यार्थी, शिक्षक र विद्यालयलाई पुरस्कारसहित सम्मान गरिएको थियो । शिक्षा क्षेत्रमा निरन्तर कलम चलाउँदै आएका सात जना क्रियाशील पत्रकारलाई पनि सम्मान गरिएको छ । सम्मानित हुने पत्रकारमा केशव ढकाल, ललित बुढा, विष्णुप्रसाद न्यौपाने, दीपकजंग शाही, जगतदल जनाला वि.क., तृप्ती शाही र चाँदनी कठायत छन् । शिक्षा क्षेत्रका गतिविधि, समस्या, उपलब्धि तथा सुधारका विषयलाई सञ्चारमाध्यममार्फत सार्वजनिक बहसमा ल्याउन योगदान पु¥याएको भन्दै उनीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो । त्यस्तै वीरेन्द्रनगरको शिक्षा क्षेत्रमा भएको उत्कृष्ट अभ्यासलाई समेटेर १५ मिनेटको भिडियो डकुमेन्ट्री प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पु¥याउने शिक्षक, विद्यार्थी, विद्यालय तथा पत्रकारलाई सम्मान गर्दै आगामी दिनमा गुणस्तरीय, व्यावहारिक र जीवनोपयोगी शिक्षाका लागि निरन्तर सहकार्य गर्नुपर्नेमा जोड दिइएको थियो । राष्ट्रिय शिक्षा दिवस हरेक वर्ष शिक्षा क्षेत्रमा हासिल भएका उपलब्धि, विद्यमान चुनौती र आगामी कार्यदिशाबारे समीक्षा गर्ने अवसरका रूपमा मनाइँदै आएको छ । यस वर्ष ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ शिक्षा दिवस मनाइएको थियो ।




कर्णाली समय । ३ आश्विन २०८३, शनिबार १४:१२