सुर्खेतमा वर्षेनि बढ्दै डेंगु संक्रमण, चार जनाको मृत्यु

सुर्खेत– सुर्खेतमा डेंगु संक्रमित हुनेको संख्या वर्षेनि बढ्दै गएको छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका अनुसार आव २०८१/८२ मा १४ हजार ३७ जनामा परीक्षण गर्दा एक हजार ८३७ जनामा डेंगु रोगको संक्रमण देखिएको जनाएको छ । संक्रमितमध्ये चार जनाको मृत्यु भएको थियो ।


आव २०७७/७८ मा ६३९, आव २०७८/८९ मा एक हजार ३२२, आव २०७९/८० मा एक हजार ४८४, आव २०८०/८१ मा ५७१ संक्रमित थिए । गत आवमा कूल संक्रमितमध्ये ३३ जनामात्र सुर्खेत बाहिरका रहेको जनाइएको छ ।

जनस्वास्थ्य सेवा कार्यालयका मलेरिया निरीक्षक उदय बिसीले सुर्खेतमा सबैभन्दा बढी जोखिम वीरेन्द्रनगरमा रहेको जनाए । गत आवमा वीरेन्द्रनगर नगरपालिकामा एक हजार ४१६, गर्भाकोट नगरपालिका १४३, पञ्चपुरी नगरपालिका १३५, लेकबेसी नगरपालिका ३८, भेरीगंगा नगरपालिका २९, चिङ्गाड गाउँपालिका नौ, सिम्ता गाउँपालिका छ जना र चौकुने गाउँपालिका एक जनामा डेंगु सक्रमण देखिएको थियो ।

डेंगु एडिज नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरल इन्फेक्सन हो । यो लामखुट्टे कृत्रिम भण्डारण गरेर राखेका सफा पानीमा बस्छ । यसले प्रायः दिउँसो टोक्ने गर्छ । संक्रमित भएको व्यक्तिलाई यदि कुनै लामखुट्टेले टोक्यो र त्यही लामखुट्टेले सामान्य व्यक्तिलाई टोक्यो भने डेंगु सर्छ । पानी जम्ने ठाउँमा गर्मीमा र पानी बग्ने व्यवस्था राम्रोसँग नहुने ठाँउमा एडिज लामखुट्टे बढी सक्रिय हुने स्वास्थ्यकर्मीहरु बताउँछन् । ५ देखि ७ दिनसम्म उच्च ज्वरो आउने, जीउ दुख्ने, पेट दुख्ने, टाउको दुख्ने, आँखामुनी दुख्ने, वाकवाकी लाग्ने जस्ता लक्षण देखापर्छन् ।

यसैबीच, जनस्वास्थ्य कार्यालयले साउन महिनाभर डेंगु सचेतना अभियान सञ्चालन गर्ने भएको छ । हरेक शुक्रबार सफा शुक्रबार’ अभियान मार्फत सबै सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा संगठित संस्थाहरूमा सरसफाइ तथा लामखुट्टे प्रजनन स्थलहरूको खोजी र नष्ट गर्ने कार्य गर्ने/गराउने, स्थानीय तहले टोल विकास संस्थाहरु, नागरिक समाज तथा अन्य सरोकारवाला निकायहरुसँग सहकार्य गरी ‘हप्ताको एक दिन, एक घण्टा हुँदैन कुनै कष्ट, समुदायको सहभागितामा लामखुट्टेको लार्भा नष्ट’ भन्ने नाराका साथ खोज तथा नष्ट अभियान सञ्चालन गर्दैछ ।

त्यस्तै डेंगु नियन्त्रणका रणनीति र समुदायस्तरमा गर्नुपर्ने गतिविधिबारे संघ, प्रदेश, तथा स्थानीय तहहरूमा छलफल तथा पैरवी र हरेक वडामा घरदैलो, समूह छलफल, पोस्टर/ब्यानर वितरण लगायत माध्यमद्वारा डेंगुको जोखिम, लक्षण र रोकथामबारे जनचेतना फैलाउने कार्यक्रम तय गरेको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,