सुर्खेत–कर्णाली प्रदेश सरकारले गत वर्ष कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट क्षतिग्रस्त भएका शिक्षा र स्वास्थ्यका संरचनाको पुनर्निर्माण कार्य शुरु गरेको छ ।
संघीय सरकारले पुनर्निर्माणमा बेवास्ता गरेपछि प्रदेश सरकारले दोहोरोपना नहुने गरी सार्वजनिक संरचनाको पुनर्निर्माण कार्य अघि बढाएको हो । मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद्बाट पुनर्निर्माणसम्बन्धी कार्यविधि पारित भइसकेको जानकारी दिए । ‘कार्यविधि पारित लगत्तै जिल्ला समन्वय समितिका संयोजकको नेतृत्वमा प्रशासन कार्यालय, स्थानीय तहका प्रमुखहरु रहेको संयन्त्रले योजना सिफारिसको काम अघि बढाएको छ, उनले भने, ‘चालू आवमै भूकम्प प्रभावित तिन जिल्लाका विद्यालय र स्वास्थ्यका संरचनाहरु पुनर्निर्माण गरिसक्ने लक्ष्य राखिएको छ ।’ प्रदेश सरकारले जाजरकोट, रुकुम पश्चिम र सल्यानका शिक्षा र स्वास्थ्यका संरचना निर्माण गर्न यस वर्ष ५० करोड रुपैयाँ विनियोजन गरेको छ । शुक्रबार मुख्यमन्त्री कार्यालयमा पत्रकारसंग कुरा गर्दै उनले भने, ‘संघीय सरकारको भरमात्र परेर भएन, नजिकको सरकार हुँदा केही न केही पुनर्निर्माणको क्षेत्रमा काम गरौं भन्ने मनसायका साथ नियमित बजेट नघट्ने गरी पुनर्निर्माणको काम अघि बढाइएको छ ।’
मुख्यमन्त्री कँडेलले साढे ५ महिनाको अवधिमा विगतमा लथालिंग भएका योजनाहरुको कार्यान्वयनलाई जोड दिएको प्रष्ट पारे । सडक, विद्युत, भवन पूर्वाधारका कामलाई तिव्रता दिन संघीय सरकारका निकायसंग समन्वय भइरहेको बताए । प्रदेश स्थापनाकालदेखि पारित हुन नसकेका प्रदेश निजामति सेवा र स्थानीय तहका कर्मचारीहरुको सेवासम्बन्धी लगायतका केही महत्वपूर्ण विधेयकहरु पारित भई लागू भइसकेको जानकारी दिए । यसले प्रदेश र स्थानीय सेवाका कर्मचारीहरुको सेवा सुविधा, सुरक्षा, प्रोत्साहन, वृत्ति विकास लगायतमा महत्वपूर्ण टेवा पु¥याएको मुख्यमन्त्री कँडेलको भनाई छ । उनका अनुसार प्रदेश सरकारले यातायातसम्बन्धी, दलित सशक्तिकरण लगायतका विधेयकहरु प्रदेशसभामा टेबुल गरिसकेको छ ।
मुख्यमन्त्री कँडेलले यही मंसिरमा हुने भनिएको दशौं राष्टिय खेलकुद प्रतियोगिता नहुनुमा प्रदेश सरकारभन्दा बढी जिम्मेवार संघीय सरकार हुने बताए । ‘प्रदेशले आफ्नो तर्फबाट पूर्वाधार निर्माणलाई तिव्रता दिएपनि संघीय सरकारले बेवास्ता गरेको कुरालाई प्रदेशको कमजोरीका रुपमा व्याख्या गर्नुहुँदैन्, उनले भने, ‘प्रदेशको समस्याका कारण प्रतियोगिता धकेलिने होइन, हामीमा कुनै समस्या छैन्, बरु केन्द्रमै समस्या देखियो ।’ उनले सुर्खेत विमानस्थल विस्तारको सन्दर्भमा संघीय सरकारले बजेटमा स्तरोन्नति भन्ने शिर्षक राखेपनि स्थानीय तह र संघीय पर्यटन मन्त्रालयलाई महसुस हुने गरी जनमत निर्माण गर्न आफूले प्रयत्न गरिरहेको र उक्त कार्यबाट आफू पन्छिन नखोजेको प्रष्ट पारे ।
त्यस्तै, प्रदेश अस्पतालको सेवा विस्तार तथा सुदृढिकरणका सम्बन्धमा डा भगवान कोइरालाको संयोजकत्वमा अध्ययन समिति गठन गरेको र उक्त समितिले दिएको सुझावका आधारमा आवश्यक निर्णयमा पुग्ने उनको भनाई थियो । ‘बाहिर धेरै हल्ला चलाउने गरिएको छ, प्रतिष्ठान बन्ने नबन्ने कुनै टुंगोमा पुगिएको छैन्, समितिले स्वतन्त्र रुपमा प्रतिवेदन बुझाउँछ, के गर्नुपर्छ प्रदेशले निर्णय लिन्छ,’ मुख्यमन्त्री कँडेलले भने । पत्रकार भेटघाटमा मुख्यमन्त्री कँडेलले प्रदेशको भइरहेको जनशक्तिलाई नै विश्वासमा लिएर बजेट कार्यान्वयन गर्ने र कतिपय सवालमा संघीय सरकारसंग समन्वन गर्नुपर्ने हुँदा आफ्नो तर्फबाट कुनै कन्जुस्याई नगर्ने धारणा व्यक्त गरे ।


कर्णाली समय । १८ आश्विन २०८१, शुक्रबार १८:२७