जाजरकोटको चुनावी हिसाबकिताब : शक्ति बस्नेतलाई टक्कर दिँदै कांग्रेस-एमाले

सुर्खेत– तत्कालिन माओवादी र हाल विभिन्न घटकहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेतामै गनिन्छन्, शक्तिबहादुर बस्नेत । उनी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा जाजरकोटबाट चुनावी मैदानमा होमिएका छन् ।

२०७० देखि यताका सबै निर्वाचनमा सहज जित निकालेका उनलाई यसपटक आफ्नो विरासत जोगाउन चुनौती छ । एकातिर पार्टी पंक्तिबाटै उनलाई धेरै अवसर लिएर पनि जिल्लाको हितमा पर्याप्त काम गर्न नसकेको आरोप लाग्ने गरेको छ भने अर्कातिर विगतका पछिल्ला निर्वाचन परिणाम हेर्दा कांग्रेस र एमाले सांगठनिक रुपले बलिया बन्दै जाँदा जितको ह्याट्रिकमा चुनौती देखिएको हो ।

नेकपा बन्नु अघि बस्नेत माओवादी केन्द्रको उपमहासचिव थिए । माओवादी सरकारमा जाँदा गृह, स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री बन्ने अवसर पाएका थिए । सशस्त्र युद्धको सुरुवातीदेखि माओवादी भूमिगत राजनीति सुरु गरेको उनले पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरे । माओवादी शान्ति प्रक्रियामा आएपछि अध्यक्ष प्रचण्डको सचिवालयमा रहेर काम गरेका बस्नेतको संसदीय यात्रा भने २०७० को दोस्रो संविधानसभा निर्वाचनबाट सुरु भएको हो । २०७० मा एक्लै प्रतिष्पर्धा गरी जित निकालेका उनले २०७४ मा वाम गठबन्धन र २०७९ मा कांग्रेस, एकिकृत समाजवादीसहितका दलको सहारा लिनुपरेको थियो । यसपटकको निर्वाचनमा सबै दल अलग–अलग लडेकाले बस्नेतलाई चौथो जितको ह्याट्रिक निकाल्न त्यति सहज छैन् ।

तर उनी आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन् । ‘जाजरकोट हिजो धेरै पिछडिएको थियो, आज सडक कनेक्टिभिटीमा सबैभन्दा धेरै जाजरकोटले लाभ लिएको छ, विद्युतीकरण, सञ्चार नेटवर्कले पनि फड्को मारेको छ, उनी भन्छन्, जाजरकोट विकासको मूल प्रवाहमा जोडिएको छ, यी पूर्वाधार विकासमा मेरो योगदान धेरै छ, बाँकी विकास निर्माण र जाजरकोटी जनताको समृद्धिमा मेरो जित अनिवार्य छ ।’ जिल्लाको विकासका लागि कांग्रेस, एमालेका कार्यकर्ताले नै आफूलाई भोट दिने उनको दाबी छ । बस्नेत भेरी नगरपालिकाका बासिन्दा हुन् । नेकपाले भेरी नगरपालिका, नलगाड र छेडागाडबाट राम्रो मत पाउने अपेक्षा गरेको छ । यी बढी मतदाता भएका स्थानीय तह हुन् । कांग्रेस र एमालेका उम्मेदवार कम मतदाता भएका भेगबाट प्रतिनिधित्व गर्ने हुँदा बस्नेतलाई हराउन सहज नभएको नेकपाका कार्यकर्ताहरु बताउँछन् ।

२०७४ माओवादी–एमाले गठबन्धन हुँदा बस्नेतले कांग्रेसका राजीवविक्रम शाहलाई पराजित गरेका थिए । सो निर्वाचनमा कांग्रेसले समानुपातिकतर्फ २० हजार ४८६ मत प्राप्त गरेको थियो । दोस्रोमा एमालेले १७ हजार ६७१ मत प्राप्त गर्दा तत्कालीन माओवादीले १३ हजार ५७१ मत प्राप्त गरेको थियो । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारका रुपमा बस्नेतले एमाले उम्मेदवार निरज आचार्यलाई पराजित गरे । सो निर्वाचनमा पनि समानुपातिकतर्फ कांग्रेसले मत बढाउँदै २२ हजार ९३४ मतका ल्यायो । एमालेले १९ हजार ७४९ र माओवादी केन्द्रले १४ हजार ४१२ मत ल्याएको थियो । अहिले तत्कालिन माओवादीसंग नेकपा एकिकृत समाजवादी मिसिएको छ । २०७९ को निर्वाचनमा समाजवादीले ७८६ समानुपातिक प्राप्त गरेको थियो ।

यसपटक नेकपाका बस्नेतसंग एमालेका केन्द्रीय सदस्य डम्बरबहादुर सिंह र कांग्रेसका जिल्ला उपसभापति खड्कबहादुर बुढा मुख्य प्रतिष्पर्धामा छन् । एक दशकबढी एमाले जाजरकोटको नेतृत्व गरेका बारेकोट गाउँपालिका निवासी सिंह पूर्व शिक्षक हुन् । उनी २०७९ को प्रदेशसभा निर्वाचनमा कांग्रेसका वेदराज सिंहसंग पराजित भएका थिए । २०७० को निर्वाचनमा पनि बस्नेतसंगै भिँडेका थिए, एमाले उम्मेदवार सिंह । उनी यसपटक उक्त हारको बदला लिने दाउमा छन् । ‘लामो समयदेखि कार्यकर्तामा आशा र भरोसा जगाउने काम गरेको छु, सत्तामा हुँदा पनि र नहुँदा पनि जनतासँगै छु, उनी भन्छन्, ‘एमालेमा असन्तुष्टि छ भनेर विपक्षीले हल्लामात्र फिँजाएका छन्, त्यस्तो अवस्था छैन्, विगतको भन्दा सांगठनिक अवस्था मजबुत छ, जित्ने आधारका साथ यसपटक मैदानमा उत्रिएको छु ।’

कांग्रेस उम्मेदवार बुढा संसदीय निर्वाचनका नयाँ अनुहार हुन् । नेविसंघबाट राजनीतिक यात्रा थालेका शिवालय गाउँपालिका निवासी उनी भेरी ज्ञानोदय क्याम्पसको पूर्व स्ववियू सभापति हुन् । ‘जेनजी युवा पुस्ताको मागअनुसार नै चुनावी मैदानमा छु, म सबैभन्दा सक्षम युवा हुँ, उनी भन्छन्, ‘जाजरकोटमा सिंगो पार्टीपंक्ति एकताबद्ध भएर चुनावी अभियानमा खटिएको अवस्था छ, कांग्रेसको जनमत अन्य दलभन्दा धेरै भएकाले चुनाव जित्नेमा कुनै शंका छैन् ।’

प्रमुख तीनका साथै जाजरकोटमा अन्य ११ दलका उम्मेदवार चुनावी मैदानमा छन् । रास्वपाको प्रभाव कमजोर रहेकाले यहाँ त्रिपक्षीय प्रतिष्पर्धा नै देखिन्छ । रास्वपाबाट राघव कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कृष्णविक्रम शाह, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट भेषबहादुर ओली, उज्यालो नेपाल पार्टीबाट कर्णबहादुर नेपाली, मंगोल नेशनल अर्गनाइजेशनबाट कमान बुढा मगर, नेकपा माओवादीबाट बमबहादुर मल्ल, राष्ट्रिय जनमोर्चाबाट रत्नबहादुर खड्का र नेपाल मजदुर किसान पार्टीबाट धनीराम जैशी चुनावी मैदानमा छन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,